झण्डै चार क्वीण्टल अबैध जडिबुटीसहित दुइ जना पक्राउ

 बेसीशहर । लमजुङ प्रहरीले लुकाइ छिपाइ विक्रीका लागि लगिँदै गरेकाे झण्डै चार क्वीन्टल अबैध जडिबुटीसहित २ जनालाइ पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नं. ०४ का ३९ बर्षिय श्रीप्रसाद लामा र साे जडिबुटी ओसारपसारमा प्रयाेग भएकाे जिपका चालक जगर बहादुर गुरुङ छन् ।

शनिबार दिउसाे २ बजेतिर लमजुङकाे मर्स्यांङदी गाउँपालिका वडा नं. ०३ खुदीबजारमा रहेकाे खुदी प्रहरी चाैकीमा प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग १ ज ६६५७ नम्वरको जिपमा लुकाई छिपाई ल्याएको ३९० किलो अबैध जडिबुटी (सुनगाभा) बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

लमजुङकै मर्स्याङदी गाउँपालिका वडा नं. ०४ ताघ्रिङबाट सदरमुकाम बेसीशहर तर्फ जाँदै गरेको  ग १ ज ६६५७ नम्वरको बाेलेराे जीपमा राखेर उक्त जडिबुटी बेसीशहरतर्फ ल्याइँदै गरेकाे थियाे । प्रहरीले शंका लागि खानतलासी गर्दा उक्त परिमाणकाे जडिबुटी बरामद भएकाे जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाइँले बताए ।

प्रहरीले अबैध जडिबुटी बरामदसंगै उक्त जडिबुटी ओसारपसार गर्ने कार्यमा संलग्न रही सोही जिपमा सवार रहेका लमजुङकाे मर्स्याङदी गाउँपालिका वडा नं. ०४ का ३९ बर्षिय श्रीप्रसाद लामा र जिप चालक जगर बहादुर गुरुङलाई पक्राउ गरेकाे छ ।

पक्राउ परेका दुवैजनालाइ अन्नपुर्ण संरक्षण क्षेत्र आयाेजना इलाका कार्यालय भुजुङ लमजुङसँग आवश्यक समन्वय गरी थप अनुसन्धान तथा कारवाहीको लागि पोखरा स्थित ए-क्यापमा पठाईएको चपाइँले बताए । 

प्रतिक्रिया