बेसीशहर, साउन २० । पालिकालाई कृषिको हब बनाई स्थानीय किसानको आय आर्जनमा टेवा पु¥याउने योजना अनुसार अकबरे खुर्सानीको ब्यवसायीक खेती थालिएको लमजुङको दोर्दी गाउँपालिका अध्ययन अवलोकनको थलोको रुपमा पनि विकास हुन थालेको छ ।
दोर्दी गाउँपालिकाले किसानहरुलाई ब्यवसायीक बनाउन कृषि अनुदानको ब्यवस्था गरेपछि दोर्दीको ७ सय रोपनी क्षेत्रफल जमीनमा अहिले अकबरे खुर्सानीको ब्यवसायीक खेती शुरु भएको छ । दोर्दी गाउँपालिकाका विभिन्न वडामा गाउँपालिकाको सहयोगमा शुरु भएको अकबरेको ब्यवसायीक खेती सफल भई किसानहरु हौसिएका बेला यो सफलताबारे अध्ययन गर्न छिमेकी जिल्लाका जनप्रतिनिधिहरु अध्ययनका लागि पुगेका हुन् ।
तनहूँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले दोर्दीको अकबरे खेतीको अध्ययन अवलोकन गरेका हुन् । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यसहित जनप्रतिनिधि र कर्मचारीले मंगलबार दोर्दीका विभिन्न वडामा लगाइएको अकबरे खुर्सानी बारीमा पुगेका थिए । उनीहरुले दोर्दीका जनप्रतिनिधि र किसानहरुसंग अकबरे खेतीका बारेमा छलफल र अन्तरक्रिया समेत गरेका थिए ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानी खेतीका लागि किसानलाई सहयोग गर्ने नीति लिएको र दोर्दीमा गरिएको अकबरे खुर्सानीको खेतीबारे बुझ्न कर्मचारीसहित जनप्रतिनिधिको टोली दोर्दीमा आइपुगेको जानकारी दिए ।
उक्त टोलीले दोर्दी गाउँपालिकाको वडा नंं ४, हटिया क्षेत्रको अकबरे खुर्सानी बारीमा पुगेर अवलोकन गरेका थिए । गाउँपालिका अध्यक्ष थापासहित, प्रमुख प्रशासकीय अधिकृत यादव आचार्य, वडा नं. १ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठ, वडा नं. २ का वडाअध्यक्ष तिलकबहादुर कुँवर, वडा नं. ३ का वडाअध्यक्ष परमेश्वर भट्टराई, पशु विकास अधिकृत मधुविलास न्यौपाने, कृषि प्राविधिक निदेश सुवर्णकारलगायत अध्ययन टोलीमा सहभागी थिए । सो क्रममा साना किसान सहकारी संस्था लिमिटेड दोर्दीका अध्यक्ष सुकबहादुर गुरुङलगायत किसानहरु समेत उपस्थित थिए ।
अध्ययन अवलोकनका लागि आएको टोलीलाई दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले र पालिकाको कृषि शाखा प्रमुख निराजन पौडेलले गाउँपालिकाका विभिन्न वडामा शुरु गरिएको अकबरे खुर्सानी खेतीबारे जानकारी गराएका थिए ।
दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा परीक्ष्णका रुपमा २० रोपनी क्षेत्रफलमा शुरु गरिएको अकबरे खुर्सानीको ब्यवसायीक खेती सफल भएपछि अहिले ७ सय रोपनीमा विस्तार गरिएको छ । यस बर्षको अकबरे खेती पनि निकै सफल भएपछि किसानका साथै जनप्रतिनिधि र कर्मचारीहरु पनि हौसिएका छन् ।
खबरकुञ्ज