बेसीशहरमा सडकमा पार्किङ गरी क्यू थाप्न निषेध, बसपार्कमा काउण्टर सार्न निर्देशन

बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरमा बस ट्रक तथा टेम्पोहरुलाई सडकमा पार्किङ गर्न निषेध गरिएको छ 

बेसीशहर बजारका विभिन्न स्थानमा घण्टौंसम्म सडकमा पार्किङ गरेर बस लगायतका सवारी साधन राख्ने गर्दा दुर्घटनाको जोखिम बढेकाले बेसीशहर नगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालयको समन्वयमा बेसीशहर बजारमा नो पार्किङको ब्यवस्था मिलाइएको हो ।


बिशेष गरी बेसीशहरको शेराबजार क्षेत्रमा रहेका टिकट काउण्टरहरु अगाडि लामो समयसम्म सडकमै बस तथा माइक्रोबसहरु पार्किङ गरी राख्ने गर्दा यी क्षेत्रमा लामो समयदेखि दुर्घटनाको जोखिम थियो । सडकमा लाइन लगाएर बसहरु पार्किङ गर्ने, घण्टौं लगाएर बसमा मान्छे भरेर मात्र बस छुटाउने गरिएको थियो ।

बेसीशहरको फिल्महल चोकमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी र सो चोक भन्दा करीब ५० मिटर पछाडि लमजुङ कालिका यातायात कम्पनी र मौला कालिका यातायात कम्पनीले टिकट काउण्टर खडा गरी सडकमै बसहरुलाई लामो समयसम्म पार्किङ गराई यात्रु चढाउने गर्दथे । त्यस्तै बेसीशहरको झिंगेखोलामा पृथ्वी र लमजुङ कालिका र नेपाल माइक्रोबस कम्पनीको संयुक्त काउण्टर छ । 

त्यस्तै बेसीशहरको मनाङे चौतारमा लमजुङ कालिका र मस्र्याङदी ट्रान्सपोर्ट कम्पनीका काउण्टर छन् । यी काउण्टर अगाडि बर्षौदेखि सवारी साधन पार्किङ गर्ने र यात्रु पर्खेर चढाउने गरिन्थ्यो ।

 साँघुरो सडकमा लाइन लागेर सडकमा बसहरु पार्किङ गर्दा सडक यात्रु र अन्य सवारी साधनलाई असुविधा परिरहेको जनगुनासो बढेकाले बेसीशहर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा सडकमा पार्किङ गराउन निषेध गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव निरीक्षक मित्रलाल ढकालले जानकारी दिए ।

ट्राफिक प्रमुख ढकालले भने- सडक नै अस्तब्यस्त हुने गरी सडकमा सवारी साधनहरु पार्किङ गर्दा सडक सुरक्षामा समेत प्रश्न उठेको थियो । यसरी पार्किङ गर्दा पैदल यात्रु र सडकमा अन्य सवारीसाधनलाई समेत असुविधा भएकाले सडकमा पार्किङ गर्न निषेध गरिएको हो ।

ढकालका अनुसार सार्वजनिक सवारी सञ्चालन गराउने कम्पनीहरुलाई यथाशीघ्र यातायात काउण्टर सार्न पनि पत्राचार गरिएको छ । बेसीशहरबाट उत्तरी लमजुङ तथा मनाङ तर्फ सञ्चालन हुने सवारी साधनका लागि सहजी बसपार्क र काठमाडौं, पोखरा, चितवन लगायत जिल्लाकै दक्षिण क्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारीहरुलाई दनाईफाँट बसपार्कमा पार्किङ गराउन निर्देशन गरिएको छ ।

यातायात कम्पनीहरुलाईसमेत बसपार्कमै काउण्टर राख्ने ब्यवस्था मिलाउन निर्देशन दिइएको छ । हाल काउण्टर नसर्दा सम्म काउण्टर अगाडि केवल यात्रु चढाउन र ओराल्न मात्र दिइएको ट्राफिक प्रमुख ढकालले जानकारी दिए ।

बेसीशहर बजारमा मोटर चल्न थालेदेखि नै सडकमै लामो समयसम्म सार्वजनिक यातायात पार्किङ गरी क्यू थाप्ने यात्रु चढाउने गरिएको छ । यातायात ब्यवस्था मिलाउन बेसीशहरमा दुईवटा बसपार्क बनाइए पनि बसपार्क उपयोगबिहीन जस्तै छन् । 

सडकमा पार्किङ गर्ने, सडकमै क्यू थाप्ने गरिएको विषयमा पटक पटक विरोध हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिँदा समस्या ज्यूँका त्यूँ थियो । ढिलै भए पनि यातायत ब्यवस्थामा सुधार गर्न खोजिएकोमा स्थानीय खुशी भएका छन ।

प्रतिक्रिया