केन्द्रीय सत्ता समीकरणकाे असरः गण्डकीमा माओवादीका मन्त्री बर्खास्त

पोखरा, फागुन २२ गते  । केन्द्रीय सत्ता समीकरणमा भएकाे उतारचढाबसंगै यसकाे प्रभाब प्रदेश राजनीतिमा पनि देखा पर्न थालेकाे छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससंगकाे सहकार्य ताेडेर नेकपा एमाले, रास्वपा, जनता समाजवादीलगायतका दलसंग गठबन्धन गरे लगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाइ बर्खास्त गरेका छन् । माओवादीकै सहयाेगमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य समेत रहेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट गण्डकी प्रदेशमा सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

०७९ मंसिरमा भएकाे प्रदेश सभा निर्वाचनपछि गण्डकी प्रदेशमा माओवादीकै सहयाेगमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री भएका थिए । माओवादी एमालेकाे केन्द्रीय गठबन्धन भत्किएपछि खगराज गत बैशाख ९ गते पदमुक्त भएपछि पुनः माओवादीकै सहयाेगमा कांग्रेसका सुरेन्द्र पाण्डे मुख्यमन्त्री बने । पाण्डेले  सिम्खडा लाइ गत बैशाख १५ र जुग्जालीलाइ बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए । 

केन्द्रीय समीकरण फेरिएपछि अब गण्डकी प्रदेशमा कसकाे सरकार बन्छ भन्न सकिने अवस्था छैन । ६० सदस्य रहेकाे प्रदेशसभामा सबैभन्दा ठूलाे दल कांग्रेससंग २७ सदस्य छन् । दाेस्राे स्थानकाे एमालेसंग २२ र तेस्राे स्थानकाे माओवादीसंग सभामुख बाहेक ७, राप्रपासंग २ र एकीकृत समाजवादीकाे १ सदस्य छन् । सत्ता समीकरण पेचिलाे छ ।  एमाले माओवादी मिलेर मात्रै पनि सरकार गठन हुन सक्दैन । राप्रपा र एकीकृत समाजवादीकाे सहयाेग अपरिहार्य छ। यी दलले जसलाइ समर्थन गर्छन्, उसैकाे सरकार बन्ने स्पष्ट छ । 



प्रतिक्रिया