बेसीशहर, असोज २० । गत असार ११ गते गाउँमाथिबाट झरेको पहिरोमा परी ज्यान र घरखेत गुमाएका लमजुङको क्व्होलासोथार गाउँपालिका ३, बगुमका पहिरो पीडितलाई साउदी अरबमा प्रवासमा रहेका नेपालीहरुले सहयोग पठाएका छन् ।
रोजगारीको क्रममा साउदी अरबमा रही तमू धीं नेपाल प्रवास शाखा साउदी अरब र रियाद फुटवल क्लवमा आवद्ध भएका नेपालीहरुले पहिरोपीडितलाई २ लाख ८ हजार ८ सय रुपैयाँ सहयोग पठाएका हुन् । पहिरो पीडितका लागि साउदीमा राहत संकलनका लागि सोमबहादुर गुरुङ, मनिप्रसाद घले, प्रवेश घले, टक गुरुङले संयोजन गरेका थिए ।
सहयोग रकम आइतबार बेंसीशहरमा आयोजित एक कार्यक्रमबीच आदर्श युवा क्लव बगुमका अध्यक्ष जुना घलेलाई हस्तान्तरण गरिएको छ । साउदीबाट घरविदामा आएका प्रवेश घले र राहत संंकलनमा योगदान गरेका सोमबहादुरकी भाउजू पिपलमाया गुरुङलगायतले उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
क्व्होलासोथार गाउँपालिका ३ का वडाअध्यक्ष आसबीर गुरुङ, उत्तरकन्या समाज बेंसीशहरका अध्यक्ष गंगाबहादुर घलेको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।
आदर्श क्लवले बगुमका पहिरो पीडितका लागि राहन संकलन गर्ने कामको संयोजन गरेको छ । हालसम्म पहिरो पीडितका लागि करिब १४ लाख रुपैयाँ संकलन भएको राहत संकलन अभियानका संयोजक घलेले जानकारी दिए । पहिरोपीडित ४ जनाको घर पुनः निर्माण गर्नुपर्नेमा घर पुनःनिर्माणकार्य सुरु भएपछि उक्त रकम पीडितलाई वितरण गरिने बताइएको छ।
गत असार ११ गते राती गएको पहिरोमा परी बगुमका ३७ वर्षिय पञ्चकुमारी गुरुङ, ५ वर्षिया निष्मा गुरुङ, ७० वर्षिय रुद्रमान गुरुङ र ९ वर्षिया इच्छा गुरुङको निधन भएको थियो ।
मिलन शर्मा दनाई