काठमाडौं, जेठ २५ गते । काठमाडौंमा रहेको बालमन्दिरको जग्गा सस्तोमा भाडामा दिई ठगी गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ पूर्जी जारी गरेपछि आफै सिआईबीमा हाजिर भएका तत्कालीन बाल संगठनका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ हाजिर जमानीमा छुटेका छन् ।
श्रेष्ठमाथि बाल संगठनको उपाध्यक्ष हुँदा बालमन्दिरको जग्गा भाडामा दिँदा अनियमितता गरेको अभियोग लागेको छ । सिआईबीले उक्त प्रकरणमा २० जनाविरुद्ध अदालतबाट पक्राउ अनुमति लिएकोमा अरु भने सिआईबीको सम्पर्कमा गएका छैनन्, न त सिआईबीले उनीहरुलाई पक्राउ नै गरेको छ ।
बालमन्दिर जग्गा प्रकरणमा बालमन्दिरकी तत्कालीन अध्यक्ष रिता सिंह, पूर्वपदाधिकारीहरू गणेशभक्त श्रेष्ठ, तुलसीनारायण सिंह, सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, योगेन्द्रबहादुर शाही, प्रचण्डराज प्रधान, गोपाल श्रेष्ठ, रामकाजी कोने, दिपकदास श्रेष्ठ, चिरञ्जीवी तिवारी, प्रविणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । श्रेष्ठ भने आफै सिआईबीमा हाजिर भएका थिए । सिआईबीको अनुसन्धानलाई सघाउन भन्दै आफै सिआईबीमा पुगेका श्रेष्ठलाई बयान लिएपछि उनलाई हाजिर जमानीमा छोडिएको उनका सहयोगीहरुले जानकारी दिए ।
श्रेष्ठ नेपाली कांग्रेस लमजुङका पूर्व सभापति हुन् । उनी २०७२ मा भएकोे संविधान सभा निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट लमजुङ क्षेत्र नं. १ बाट उमेदवार बनेका थिए । उनी केही समय लुम्बिनी विकास कोषको समेत उपाध्यक्ष भएका थिए ।
उक्त प्रकरणमा बिहीबार सिआईबीमा जाहेरी परेको थियो । २०४९ सालदेखि २०७२ सालसम्म बालमन्दिरको जग्गा भाडामा लगाउँदा नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्याउने उद्देश्यले पटक-पटक न्यून रकममा भाडा सम्झौता गरिएको र आगामी २०८९ सालमा सम्झौता सकिनेमा बदनियत ढंगले म्याद समाप्त नभई सम्झौता नवीकरण गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।
काठमाडौंको नक्सालमा रहेको करिब २८ रोपनी पाँच आना एक पैसा जग्गा भाडामा दिँदा चलन चल्ती भन्दा निकै कम रकम लिएर बालसंगठनलाई हानी नोक्सानी पुर्याइएको भन्दै संगठनको अहिलेको नेतृत्वले सिआईबीमा जाहेरी दिएको हो ।
मिलन शर्मा दनाई