युवा गायक रञ्जित गुरुङ बने लमजुङ लोक तारा २०८२

खबरकुञ्ज

बेसीशहर, जेठ २४ । लमजुङका युवा गायक मन बहादुर गुरुङ (रञ्जित) लमजुङ लोक तारा २०८२ घोषित भएका छन् । 

लमजुङको विकट गाउँ मर्स्याङदी गाउँपालिकाको वडा नंं ५ सञ्जापुका गुरुङले बेसीशहरमा शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङले आयोजना गरेको प्रथम लमजुङ लोक तारा २०८२ मा ३४ जना प्रतिस्पर्धीलाई पछि पार्दै लमजुङ लोकतारा २०८२ को उपाधि जितेका हुन् ।

लोकगीतको संरक्षण र नवप्रतिभाको खोजी गर्न प्रतिष्ठान जिल्ला शाखा लमजुङले विश्व संगीत दिवसको पूर्व सन्ध्यामा शनिबार लमजुङ लोकतारा एकल गायन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा रञ्जितले १८४ अंकसहित प्रथम स्थान प्राप्त गरेका हुन् । 


प्रतियोगितामा १७८.५ अंक प्राप्त गर्दै दोर्दी गाउँपालिका ३ श्रीमञ्ज्याङका युकेश परियारले दोस्रो स्थान प्राप्त गरे । त्यस्तै प्रतियोगितामा १७७ अंक प्राप्त गरी बेसीशहर ११ चितीका बिशाल सुनारले तृतीय स्थान जितेका छन् ।

प्रतियोगितामा १७५ अंक प्राप्त गरी मर्स्याङदी गाउँपालिका २ घनपोखराका हस्त सेञ्चुरी र १७३ आंक प्राप्त गरी सोही ठाउँकी आशमाया वि.कले सान्त्वना स्थान प्राप्त गरे ।

प्रतियोगितामा प्रतियोगीहरुलाई तीन चरणमा प्रतिस्पर्धा गराइएको थियो । पहिलो चरण १७ जनाले  पार गरेकामा दोस्रो चरणबाट छानिएका ८ जनाबीच फाइनलमा पुनः प्रतिस्पर्धा गराइएको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयस्थान प्राप्त गर्ने प्रतियोगीलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा सान्त्वना स्थान प्राप्त गर्ने दुई जनालाई नगद ५÷५ हजार रुपैयाँका साथमा ट्रफी र प्रमाण पत्र दिइएको छ ।


विजयी प्रतियोगीहरुलाई वरीष्ठ लोक गायिका माया गुरुङ, प्रतिष्ठानका केन्द्रीय सचिव शंकर विरही गुरुङ, जिल्ला अध्यक्ष अनुज अधिकारी र पुरस्कारका प्रायोजकहरुले ट्रफि, पदक, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापा मगरको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा वरीष्ठ लोक गायक एवं राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव शंकर विरही गुरुङ, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ आचार्य र  राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका गण्डकी प्रदेशका महिला उपाध्यक्ष तथा लोक दोहोरी गायिका मञ्जु वि.क निर्णायक रहेका थिए ।

प्रतियोगितामा प्रथम र द्वितीय भएका प्रतियोगीलाई आगामी असार ७ गते विश्व संगीत दिवसका अवसरमा पोखरामा आयोजना हुने प्रथम गण्डकी लोकतारा २०८२ मा लमजुङबाट प्रतियोगीको रुपमा पठाइने राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया