दूधपोखरी नुहाउन गएका किशोर पौडी खेल्ने क्रममा बेपत्ता

मिलन शर्मा दनाई

बेसीशहर, साउन २५ । दूधपोखरीको मेला भर्न गएका लमजुङको भुजुङका एक किशोर दूधपोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् ।

लमजुङको उत्तर क्षेत्रमा पर्ने क्व्होंलासोथार गाउँपालिकाको दूधपोखरीमा जनैपूर्णिमाका अबसरमा लाग्ने मेलामा साथीहरुसंग गएका क्व्होलासोथार गाउँपालिका वडा नंं ४ भुजुङका १८ बर्षका किशोर मनोज गुरुङ बेपत्ता भएका हुन् ।

दूधपोखरीमा जनै पूर्णिमाका अवसरमा ठूलो मेला लाग्छ । उक्त मेलामा शनिबार बिहान साथीहरुसंग पुगेका उनी दूधपोखरीमा पौडी खेल्न पसेका थिए । बिहान करीब ८ बजेतिर दूधपोखरीमा पौडी खेल्दै केही पर पुगेका उनी पोखरीको बीचभागमा पुगेर बेपत्ता भएको मेला भर्न गएका उनका साथीहरुले जानकारी गराएका जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाह तेलीले किशोर हराएको खबर आएपछि आज प्रहरी निरीक्षक अभिषेक पाण्डेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली खोजीका लागि दूधपोखरीतर्फ लागेको जानकारी दिए । बेपत्ता भएका गुरुङको खोजीका लागि स्थानीयबासीको एक टोली पनि आइतबार दूधपोखरीतर्फ गएको छ । 

दूधपोखरी मानव वस्ती भन्दा निकै टाढा रहेकाले सम्भवत बुधवार मात्र टोली घटनास्थलमा पुग्न सक्ने तेलीले जानकारी दिए । 

५३०० मिटरको उचाईमा रहेको दूधपोखरी लमजुङ हिमालको काखमा पर्छ । लमजुङकै सर्वाधिक उचाइमा रहेको घनपोखरा गाउँबाट दूधपोखरी पुग्न दुई दिन लाग्छ ।

प्रतिक्रिया