चल्ने भो बेसीशहरमा कृषि एम्बुलेन्स, कृषि सहकारीमार्फत सञ्चालन हुने

खबरकुञ्ज

बेसीशहर, चैत २० । बेसीशहर नगरपालिका क्षेत्र भित्र उत्पादित कृषि उपजहरु बिक्रीका लागि अब किसानहरुले डोको थुन्से वा बोरामा राखेर बजार बजार दौडिन नपर्ने भएको छ ।

बेसीशहर नगरपालिकाले किसानले उत्पादन गरेका तरकारी, फलफल तथा अन्य उत्पादन बजारमा सम्म पु¥याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याए पछि यस्तो सम्भव भएको हो । केही समय अघि खरिद गरिएको कृषि एम्बुलेन्स नगरपालिकाले बेसीशहरको एकता कृषि सहकारी संस्थामार्फत सञ्चालन गर्न लागेको हो । सोमबार बेसीशहरका नगरप्रमुख गुमानसिंह अर्यालले कृषि एम्बुलेन्स सहकारीलाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख अर्यालले एकता कृषि सहकारी संस्थाका अध्यक्ष हरिबहादुर घिमिरेलाई कृषि एम्बुलेन्सको चाबी दिएर कृषि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नगरपालिका र एकता कृषि सहकारी संस्थाबीच कृषि एम्बुलेन्स सञ्चालन सम्बन्धी सम्झौंता भए पछि सोमबार एक समारोहबीच हस्तान्तरण गरिएको हो ।

सम्झौता अनुसार कृषि एम्बुलेन्सको स्वामित्व नगरपालिकामै निहित रहने र सहकारीले आगामी असार मसान्तसम्म संचालन तथा व्यबस्थानपको काम गर्ने बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्यालले जानकारी दिए ।

एकता कृषि सहकारी संस्था लि.ले केही केही समय अघिदेखि बेसीशहरको वडा नंं ८ ठाडो लाइनमा ‘किसान घर’ सञ्चालनमा ल्याएको छ । किसानले स्थानीय क्षेत्रमा गरेका कृषि उपज उनीहरुलाई उचित मूल्य दिएर  खरिद गर्ने र उपभोक्तालाई पनि सुलभ मूल्यमा बिक्री गर्ने उद्देश्यले सञ्चालनमा आएको कृषि सहकारीले कृषि एम्बुलेन्स सञ्चालन भएपछि किसानका उत्पादन बजारमा ल्याउन सहज हुने जनाएको छ । 

सहकारीका अध्यक्ष हरिबहादुर घिमिरेले अब तालिका बनाएर गाउँगाउँबाट किसानका उत्पादन संकलन गर्ने बताए ।

कृषि एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नगरपालिका उपप्रमुख पद्मा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदिप खतिवडा, भेटरीनरी तथा पशु सेवा बिज्ञ केन्द्र लमजुङका प्रमुख डा सुनिल न्यौपाने लगायत नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया