काठमाडौँ । अबैध रूपमा नेपाल भित्र्याइएकाे १ क्वीण्टल सुन बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएकाे बिषयमा भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।
विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
बुधवार राजस्व अनुसन्धान विभागकाे टाेलीले त्रिभुवन विमानस्थलबाट जाँचपास कटाएर ट्याक्सीमा लगिँदै गरेकाे सुन काठमाडाैंकाे सिनामंगलबाट बरामद गरेकाे थियाे । यस बिषयमा विभागले समेत अनुसन्धान गरिरहेको छ ।
भन्सार विभागले आफू मातहतका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको हो कि भन्ने आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको बिभागका निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
खड्काका अनुसार अनुसन्धानका लागि जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बनको तयारी छ । उक्त सुन लुकाईएको भनिएको ब्रेक शु विभागका भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका खुलेको छ ।
सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।