सुशिला कार्कीकाे नेतृत्वमा अन्तरिम सरकार बनाउने बिषयमा जेनजीमा छलफल, बालेन मानेनन्

खबरकुञ्ज

काठमाडौं, भदौ २५ । जेनजी आन्दोलनपछि अब नेपालमा गठन हुने अन्तरिम सरकार पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा बनाउने तयारी भएको छ । 

अबको सरकार कसको नेतृत्वमा बनाउने भन्ने बिषयमा आन्दोलनरत जेनजी पुस्ताका युवाहरु अहिले छलफलमा छन् । छलफलमा कार्कीलाई प्रतिनिधिको रुपमा राष्ट्रपतिसंग वार्तामा पठाउने र उनकै नेतृत्वमा अन्तरिम सरकार  गठन गर्ने तयारी जेनजीले गरेको छ । आन्दोलनले शिथिल भएको देशलाई सम्हाल्न सक्ने, सबैलाई समेटेर देशको अभिभावकत्व ग्रहण गर्न सक्ने ब्यक्तिको खोजीमा रहेका जेनजीहरुमध्ये अधिकांशले कार्कीको नाम लिएका छन् ।

आन्दोलनका कारण मुलुक राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा फसेको बेला देशमा अन्तरिम सरकारको नेतृत्वको बिषयमा जेनजीहरुबीच छलफल भइरहेको हो । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएको केही समयमै मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि जेनजीहरुलाई आह्वान गरेका थिए । लगत्तै प्रधान सेनापति अशोक राज सिग्देलले पनि वार्ताका लागि जेनजीहरुलाई आह्वान गरेका थिए ।

राष्ट्रपति र प्रधान सेनापतिको आह्वान पछि आज दिउसो जेनजीका प्रतिनिधि वार्ताका लागि नेपाली सेनाको जंगी अड्डामा पुगेका थिए । प्रतिनिधि भन्दै धेरै संख्यामा जेनजीहरु जंगी अड्डा पुगेपछि प्रधान सेनापति सिग्देल नै अलमलमा परेका थिए । उनले जेनजीहरुलाई थोरै संख्यामा एजेण्डासहित आउन भनेपछि जेनजीहरु अहिले छलफलमा छन् ।

जेनजीहरुले बिभिन्न माध्यमबाट समूह समूहमा भर्चुअल वैठक गरिरहेका छन् । छलफलमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, बालेन्द्र शाह, रवि लामिछाने, सागर ढकाल,  हर्क साम्पाङमध्ये एक जनालाई जेनजी आन्दोलनको नेता वा प्रतिनिधिको रुपमा प्रस्तुत गर्ने र उसकै नेतृत्वमा अन्तरिम सरकार बनाउने बिषयमा छलफल भइरहेको समाचार श्रोतले जानकारी दिएको छ । श्रोतका अनुसार अधिकांश जेनजी अगुवाहरुले काठमाडौं महानागरका मेयर बालेन शाहलाई जेनजीहरुको प्रतिनिधिको रुपमा लैजानु पर्ने मत राखेका थिए । तर बालेनले आफू अहिले मेयरमै ठीक रहेको र निर्वाचन जितेर मात्र प्रधानमन्त्री बन्ने बताए पछि विकल्प खोज्न थप छलफल भइरहेको छ ।

बालेनले नेतृत्व लिन अस्वीकार गरेपछि पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीको बिषयमा छलफल भइरहेको छ । जेनजीहरुले देश, कानुन र राजनीति बुझेको ब्यक्ति भएकाले कार्कीलाई नै अगाडि बढाउनु पर्ने मत धेरै जेनजीहरुको छ । धेरैको मत कार्कीको पक्षमा आएपछि केही जेनजीहरुले कार्कीसंग सम्पर्क गरी नेतृत्व लिइदिन आग्रह गरेका थिए । कार्कीले पनि यस बिषयमा सकरात्मक जवाफ दिएको श्रोतले बतायो ।

श्रोतका अनुसार छलफलमा युवा अभियान्ता सागर ढकालको पनि निकै चर्चा भएको थियो । गएको आम निर्वाचनमा डडेलधुरा पुगेर कांग्रेस सभापति शेरबहादुर देउवालाई काउण्टर दिएका ढकाल पनि उपयुक्त पात्र भए पनि उनी हाल काठमाडौं बाहिर रहेकाले उनीसंग खासै कुराकानी हुन नसकेको बताइएको छ । यसबीचमा जेनजीहरुको प्रस्तावका बारेमा कार्की र ढकालबीच पनि सम्बाद भइरहेको श्रोतले बताएको छ । रास्वपा सभापति रवि लामिछानेका बिषयमा पनि केहीले छलफल चलाएकामा अधिकांशले अहिले संसदमा रहेका दलको कोहीलाई अगाडि बढाउन नसकिने र लामिछानेको मुद्दासमेत विचाराधीन रहेको, स्वयं लामिछानेले पनि अबको सरकार जेनजीकै प्रतिनिधिहरुले बनाउनुपर्छ भन्ने विचार राखेकाले अरु विकल्पमा छलफल चलेको श्रोतले बतायो ।

छलफलमा जेनजीहरुबीच समयमै देशलाई अन्तरिम सरकार दिनुपर्ने, दिन नसके देश नै फेलियर हुने अवस्था आउन सक्ने, विदेशी हस्तक्षेप हुन सक्ने प्रति पनि सजग देखिएका छन् ।

जेनजी आन्दोलन थेग्न नसकी प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए पछि अब के हुन्छ भन्ने अन्यौल छाएको छ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसहित अधिकांश मन्त्रालय, सर्वोच्च अदालत, संसद भवन लगायत दर्जनौं सरकारी भवनहरु जलेर खरानी भएका छन् । 

प्रतिक्रिया