चितीकाे बजारखुट्टामा सामूहिक आलुखेती, वडा कार्यालयकाे सहयाेग

खबरकुञ्ज

बेसीशहर, मंसिर ३० गते । गाउँघरमा खेतबारी बाँझै छन् । जग्गा बाँझो राखेर बेसाएर खानेहरु बढिरहेका बेला लमजुङको बेसीशहर नगरपालिका वडा नंं ११ ले बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पुर्याउन वडामा सामूहिक आलुखेतीको कार्यक्रम सञ्चालन गरेको छ ।

वडाको चाफाबोट बजरखुट्टामा रहेको राधाकृष्ण आमा समूह मार्फत वडा कार्यालयले आलुखेती कार्यक्रम ल्याएको हो । यस कार्यक्रम अन्तर्गत त्यहाँँँका १६ जना महिलाहरु सामूहिक आलुखेतीमा लागेका हुन् । गाउँमा बाँझो रहेको २० रोपनी जग्गा भाडामा लिएर महिलाहरुले सामूहिक आलु खेती गरेका वडा नंं ११ का वडाध्यक्ष शिवप्रसाद जोशीले जानकारी दिए ।

वडा कार्यालयले उक्त कार्यक्रमका लागि डेढलाख रुपैयाँ अनुदान दिएको वडाध्यक्ष जोशीले बताए । यसबाहेक उक्त कार्यक्रमका लागि आमा समूहले उक्त रकमको ३० प्रतिशत थप लगानी गरेको छ । गाउँमा बाँझो रहेको जग्गाको सदुपयोगसंगै स्थानीयको आय आर्जनमा टेवा पु¥याउन केहीहदसम्म बेरोजगारी समस्या समेत समाधान हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष जोशीले बताए ।


गत शुक्रबार वडाध्यक्ष जोशी आफै फिल्डमा पुगे । आमा समूहका महिलाहरुसंगै बारीमा आलु रोपे । वडा कार्यालयले आलु खेतीका लागि सहयोग गरेकामा स्थानीय महिलाहरु पनि निकै खुशी देखिन्थे । आमा समूहका अध्यक्ष लक्ष्मी घर्तीले कार्यक्रम सञ्चालन भएपछि आफूहरु निकै उत्साहित भएको र यसबाट समूहका महिलाहरुको आय आर्जनमा टेवा पुग्ने बताइन् । समूहलाई बेसीशहर नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिकहरुले प्राविधिक सेवा उपलब्ध गराएका छन् । 

कृषि प्राविधिकहरु खेतबारीमै पुगेर किसानहरुलाई बिउ तथा मलको छनोट गर्न र उन्नत तरिकाले आलु लगाउन सिकाएपछि उत्पादन राम्रो हुनेमा आफूहरु ढुक्क रहेको आमा समूहद्वारा गठित कृषक समूहका अध्यक्ष सीता घर्तीले बताइन् । 

यसबर्ष एउटा समूहलाई सामूहिक आलु खेतीका लागि प्रेरित गरेको वडा कार्यालयले आगामी बर्ष ७ वटा सम्म कृषक समूहलाई ब्यवसायीक आलु खेतीका लागि सहयोग गर्ने योजना बनाएको छ । वडा अध्यक्ष जोशीले भने– “यस बर्ष एउटा मात्र समूहलाई सहयोग गरियो, अर्को बर्षका लागि थप दुईवटा समूहले आलुखेती गर्ने प्रस्ताव गरिसकेका छन् । बाँझो जग्गाको सदुपयोग गरी स्थानीयको आय आर्जनमा टेवा पुग्ने भएकाले थप कार्यक्रम गर्न लागिएको हो ।”

यहाँ गरे के हुन्न र ? अब नगरे कहिले गर्ने ? किसानहरु खेती गर्न तयार भए हामी लगानी गरिदिन्छौं । काम तपाइँहरुले गर्नुस, सबै मिलेर बाझो जमिन को उपयोग गरौ , आत्मनिर्भर हुने काम गरौ । जोशीले भनेका छन् । 

कुनै समय सिंगो चिती क्षेत्र सुन्तला उत्पादनका लागि देशैभर प्रसिद्ध थियो । चितीमा उत्पादन हुने सुन्तला नेपाल बाहेक भारत र बंगलादेशसम्म पुग्ने गरेकोमा अहिले चितीमा सुन्तला बगैंचा रोगले मासिसकेको छ । केही किसानहरुले नयाँ कलमी विरुवा ल्याएर सुन्तला खेती पुनः शुरु गरे पनि पहिलाको अवस्थामा पुग्न अझै समय लाग्ने देखिन्छ ।

वडाध्यक्ष जोशीले चितीलाई कृषिको उर्वर थलोको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि आगामी पुस १ गते प्रदेश सरकारका कृषि मन्त्रीलाई चितीमा ल्याएर चितीको कृषि विकासका सम्भावनाहरु देखाउने उनले योजना बनाएका छन् ।

बेसीशहरको वडा नंं ११ वडा कार्यालयले गरेको यस कार्यको अन्य वडाहरुले पनि सिको गर्नुपर्ने कृषि बिज्ञहरु बताउँछन् ।

प्रतिक्रिया