काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं ब्यापारी दीपक मल्होत्राले आफूलाई सुनकाण्डमा मुछिएकोमा आपत्ती जनाएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा बुधवार समातिएको १ क्वीण्टल सुन दीपक मल्होत्राको रहेको भनि समाचार प्रकाशित गरेकोमा मल्होत्राले केहीबेर अघि पत्रकार सम्मेलन गरी सो कुराको खण्डन गरेका हुन् ।
उनले पत्रकार सम्मेलनमा उक्त सुन आफ्नो हो भन्ने प्रमाणित गर्न चुनौति दिँदै आफ्नो हो भन्ने प्रमाण भएमा जस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताए । उनले बिना कुनै आधार र प्रमाण गैरकानुनी कार्यमा संलग्न भएको आरोप लगाएर आफ्नो चरित्र हत्या गरिएको र यसबाट व्यवसायिक मर्यादाको घोर उल्लंघन भएको उनले पत्रकार सम्मेलनमा बताए ।
उनले आफू संलग्न हुँदै नभएको कार्यमा आफ्नो नाम जोडिएको भन्दैे समाचार प्रकाशित गर्ने मिडियालाई माफी माग्न र खण्डन प्रकाशन गर्न पनि माग गरे । पत्रिकाले माफी नमागे आफू कानुनी उपचारमा जाने चेतावनी उनले दिए ।
मल्होत्राले भने- “मान्छेहरु स सानो केसमा भागिरहेका छन्, ललिता निवास काण्डमा भागिरहेको छन्, यति ठूलो सुन तस्करीमा मेरो संलग्नता हुन्थ्यो भने म तपाइँहरु समक्ष बसेर यसरी बोल्न सक्थे होला ?”