लमजुङमा अत्यावश्यकबाहेक सबैखाले सवारी आवतजावत बन्द

खबरकुञ्ज

बेसीशहर, असोज १८ । भारी वर्षाको आकलन गरी लमजुङमा अत्यावश्यकबाहेक सबैखाले सवारी आवतजावत बन्द गरिएको छ । जिल्ला सुरक्षा समिति लमजुङको आज बसेको वैठकले आजदेखि पर्सिसम्म (शनिबार, आइतबार र सोमबार) लमजुङबाट बाहिरिने र लमजुङमा प्रवेश गर्ने सवारी साधनको आवागमनमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय लमजुङले जरुरी सूचना प्रकाशित गरी भारी बर्षाका कारण राजमार्गमा हुन सक्ने जनधनको क्षतिलाई न्यूनिकरण गर्न जिल्लाबाहिरका विभिन्न स्थानबाट लमजुङमा भित्रिने र लमजुङबाट बाहिरिने अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिएको छ ।

लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले सम्भावित जोखिमलाई मध्यनजर गरी लमजुङ भित्रिने र लमजुङबाट बाहिरिने अत्यावश्यक बाहेकका सवारी साधन आवातजावत रोक्ने निर्णय गरिएको जानकारी दिए । उनले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र घरमै सुरक्षित तरिकाले रहन र विभिन्न सञ्चार माध्यमबाट विपद् सम्बन्धी सूचना प्राप्त गर्न अनुरोध गर्दै उक्त निर्णयबाट यात्रुहरुमा पर्न जाने असुविधाप्रति कार्यालय क्षमा प्रार्थी रहेको बताए ।


यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि देशभर सवारी साधनको आवातजावत बन्द गर्न अपिल गरेको थियो । 

सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले पनि मनाङ भित्रिने र मनाङबाट बाहिरिने अत्यावश्यकबाहेकका सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको वैठकले यस्तो निर्णय गरेको मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

काठमाडौं, कास्की, चितवन लगायत देशका अधिकांश जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सवारी साधन तीन दिन सञ्चालन नगर्न सूचना जारी गरेका छन् । देशका विभिन्न स्थानमा शुक्रबारदेखि परिरहेको पानी अझै रोकिएको छैन । कतै भारी र कतै मध्यम बर्षा भइरहँदा देशभरका मुख्यसहित विभिन्न राजमार्ग पहिरोका कारण अवरुद्ध छन् । काठमाडौंमा बर्षाका कारण बागमती, विष्णुमति लगायतका नदी खोलाहरुले खतराको तह पार गरेका छन् । ती स्थानमा उच्च सतर्कता अपनाइएको छ ।


देशभरको मौसमको प्रतिकूलता र सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले भोलि आइतबार र पर्सि सोमबार सार्वजनिक बिदा दिएको छ । शुक्रबारदेखि देशभर भइरहेको अविरल वर्षाले जनधनको क्षति हुन नदिन र सम्भावित जोखिमलाई कम गर्न बडादशैंको विदा थप दुई दिन थप गर्ने निर्णय गरेको हो ।  दशैंको विदा आज शनिबारसम्म मात्र रहेकोमा थप दुई दिन विदा दिइएको हो ।

गृह मन्त्रालयले देशभरको मौसमी अवस्था र त्यसबाट सिर्जित समस्याका बारेमा देशभरका सीडीओहरूसँग सुरक्षाबारे छलफल गर्नुका साथै उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय गर्दै नेपाली सेनाको हेलिकप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । मन्त्रालयले सबै कार्यालयका प्रमुखहरुलाई आजै सम्बन्धित कार्यालयमा हाजिर हुन पनि निर्देशन गरेको छ ।

प्रतिक्रिया