गोल मेसिन सावित्रा भण्डारी भन्छिन्–धेरै सावित्राहरू गाउँमा छन्, राज्यले खाेज्नुपर्छ

लमजुङ । गोल मेसिनको उपाधि पाएकी नेपाली राष्ट्रिय महिला फुटबल टीमकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लमजुङको मस्र्याङदी गाउँपालिकामा सम्मानित भएकी छन् । हालै मात्र युरोपियन लिगमा अनबन्धित भइ युरोपको यात्रामा जान लागेकी भण्डारीलाई उनको गृहपालिकाले सोमबार सम्मानका साथ यात्रा र खेलजीवनमा थप सफलताको कामना गरेको छ ।

सावित्रा भण्डारी लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानी पामचोककी बासीन्दा हुन् । नेपालका लागि ४३ वटा अन्तराष्ट्रिय गोल गरेर कीर्तिमान बनाएकी सावित्राले नेपाली खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै मर्स्याङदी गाउँपालिकाले उनको सम्मान गरेको हो । पालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत ताराबहादुर तामाङलगायतले मस्र्याङदी गाउँपालिकामा सोमबार उनको सम्मान गरेका हुन् । 

सावित्रा युरोपेली लिग खेल्न युरोप जाँदैछन् । नेपालबाहेक दक्षिण एशीयामै उनी चर्चाको शिखरमा छन् । हालै भारतीय महिला लिगमा जादु देखाउँदै उपाधि जिताएकी सावित्रालाई युरोपको हाइपोल रानानाले अनुबन्धित गरेको छ । युरोपियन क्लवमा जोडिने उनी पहिलो नेपाली खेलाडी हुन् । सोमबार गाउँपालिकाले उनको युरोप खेलयात्राको शुभकामना समेत दिएको छ ।

सो अवसरमा बोल्दै पालिकाका अध्यक्ष अर्जुन गुरुङले सावित्राको युरोपियन लिगका यात्राले गाउँपालिका गौरवान्वित भएको भन्दै मखुसी ब्यक्त गरे । उनले अझ ठुलो प्रगतिको शुभकामना दिए ।

गाउँको पाखाे बारीमा मोजाको फुटबल खेलेर फुटबल खेल्न सिकेकी सावित्राले घरेलु प्रतियोगितामा देखाएकाे उत्कृष्ट प्रदर्शनपछि उनी विभागीय टिम एपीएफमा जाेडिइन् । एपिएफबाट थप प्रतिभा निखारेकी सावित्राले त्यहीँबाट राष्ट्रिय टीमकाे स्ट्राइकर बनिन् । सन् २०१४ मा सार्क खेलमा सहभागी भइ पहिलाे पटक अन्तराष्ट्रिय खेल खेलेकी उनले त्यसपछि फर्केर हेर्नै परेन । उनले भारतीय लिगसमेत खेलेर दक्षिण एशीयाकै उत्कृष्ट महिला फुटबलरमा नाम लेखाइ सकेकी छन् ।

सम्मान ग्रहण गरेपछि सावित्राले  आफ्नो जन्मस्थानमा सम्मानित हुन पाएकोमा खुशी ब्यक्त गरिन् । सम्मानले आफूलाई उर्जा मिलेको भन्दै सम्मानप्रति कृतज्ञता जाहेर गरिन् । आफूजस्तै धेरै सावित्राहरू गाउँ गाउँमा धेरै रहेको भन्दै उनीहरूको प्रतिभा प्रस्फुटन गराउन राज्यले भूमिका खेल्नु पर्ने बताइन् ।

प्रतिक्रिया