बेसीशहर । लमजुङका बरीष्ठ संस्कृतिकर्मी, साहित्यकार, लमजुङे ठाडाेभाका संरक्षक तथा पुराना फाेटाेग्राफर देवबहादुर गुरुङ (देवी गुरुङ) को ९१ वर्षमा निधन भएको छ ।
लमजुङकाे थान्सिङ नेटामा जन्मेर हाल सुन्दरबजार नगरपालिकाकाे वडा नंं ७ मा बसाेबास गर्दै अाएका गुरुङको उपचारका क्रममा काठमाडौंस्थित ग्रीन सिटी अस्पतालमा साेमबार बिहान निधन भएको हो । पक्षघातकाे बिरामी रहेका गुरूङ केही बर्षदेखि थला परेका थिए । बिरामी भएपछि काठमाडाैंमा गुरूङकाे बसाेबास काठमाडाैंमा थियाे ।
लमजुङमा ठाडो भाकाकाे नाम लिँदा दीर्घराज अधिकारी (भेडीखर्के साइँला)संगै देवी गुरूङकाे नाम पनि जाेडिन्छ । जानकारहरूका अनुसार भेडीखर्केलाइ चिनाउन देवी गुरूङकाे महत्वपूर्ण भूमिका रहेकाे थियाे । भेडीखर्के साइँलासंगै देवी गुरूङ र धनबहादुर गुरूङ समकक्षी र सहयात्री थिए । लाेप हुने अवस्थाकाे लमजुङे ठाडाे भाकालाइ संरक्षण संवर्द्धन गर्न यी तीनै जनाकाे अतुलनीय याेगदान छ ।

देवी गुरूङलाइ ठाडाे भाकाकाे ज्ञानकाे भण्डार थियाे । उनले दाेहाेरीकै रूपमा ठाडाे भाकाका गीत खासै नगाए पनि भेडीखर्के र धनबहादुरकाे साथमा ठाडाे भाकाकाे गीतमा मादल बजाउँथे । ठाडाेभाकामा मादल बजाउनु पनि चानचुने हाेइन, याे भाकामा अरू गीतमा मादल बजाएजस्ताे हुँदैन, फरक हुन्छ । ठाडाे भाकामा भेडीखर्के साइँला, भक्तिमाया दुरा, ज्ञानमाया थापामगरहरूकाे दाेहाेरी घमासान हुँदा देवी गुरूङ र धनबहादुर गुरूङ कतै छुट्दैनथे । यस्ता दाेहाेरीमा गुरूङद्वयकाे मादल घन्किन्थ्याे । बेला बेलामा देवी गुरूङ सवाल जवाफमा भेडीखर्केलाइ सहयाेगसमेत गर्थे ।
स्व. गुरूङ बेलायती सेनामा भर्ती भएर पनि त्यहाँ रमाएनन् । गाउँघरमा राेधी, भजन दाेहाेरी र लाेक संस्कृतिकाे संरक्षणमा जुट्दै हिँडेका गुरूङ बेलायती सैनिक भएर के रमाउँथे र । भर्ती भएकाे केही समयमै जागिर छाेडेर उनी स्वदेश फर्के । समाजसेवा, लाेक संस्कृतिकाे संरक्षण सम्बर्द्धनमा जुटे ।

यसै क्रममा उनले सम्भवत लमजुङमै पहिलाे पटक थान्सिङ नेटामा ब्यवसायीक फाेटाेग्राफी पनि शुरू गरे । अहिलेकाे जस्ताे फाेटाे खिच्ने ठाउँ उतिबेला हुदैनथ्याे । उनीकहाँ लमजुङका अधिकांश ठाउँ र तनहूँ गाेरखा र कास्कीबाट समेत मानिसहरू फाेटाे खिच्न पुग्थे । पछि उनकाे फाेटाेकाे ब्यबसाय सुन्दरबजारमा समेत विस्तार भयाे । पछि फाेटाेकाे ब्यवसाय गर्नेहरू बढेपछि उनले फाेटाेग्राफी पेशा छाेडेका थिए ।
सानै उमेरदेखि कहिले करापुटार त कहिले पुतलीबजारकाे मेला देखि गाउँ बेसी, भीर पहरामा ठाडो भाकाकै उत्थानमा जुटेका देवी गुरूङ भेडीखर्केलाइ लिएर काठमाडाैंसमेत पुगे । लमजुङ, कास्की, तनहूँ र गाेरखामा मात्र सुनिने ठाडाेभाकालाइ देशब्यापी र अन्तराष्ट्रियकरण गराउन उनले उल्लेखनीय भूमिका खेले । नीजि खर्चमा ठाडाे भाकाकाे क्यासेट र एल्बमहरू निकाले ।
गुरूङलाइ ठाडाेभाका बाहेक भजनकाे पनि साैख थियाे । उनले २०३२ सालमा नाच न कृष्ण ढल्केर गोपीको मनैमा, रुन्छन् गोपी सम्झेर वृन्दा वनैमा बाेलकाे लोकभजनसमेत रेकर्ड गराएका थिए ।

देवी गुरूङ लाेक संस्कृतिमा हुरूक्कै हुने ब्यक्ति थिए । उनले लाेक संस्कृतिकाे उत्थानमा अतुलनीय याेगदान गरेका छन् । यसबाहेक नवप्रतिभाकाे प्रष्फुटनमा समेत उनले महत्वपूर्ण याेगदान गरेका छन् । नेपाली लाेकदाेहाेरीका बादशाह, लाेक स्वर सम्राट राजु परियारलाइ लाेक दाेहाेरीकाे क्षेत्रमा ल्याउने उनै देवी गुरूङ हुन् । त्यसैले देवी गुरूङलाइ गुरू मान्छन् राजु परियार । गुरूङकाे देहबसानमा राजुले गहिराे शाेक प्रकट गरेका छन् । गुरूङकाे निधनकाे खबरले मर्माहत भएका उनले फेसबुकमा यस्ताे लेखेका छन्–
"...आजको दिन मेरो लागी दुखद् दिन ! मलाइ यो लोक सङ्गीतको दुनियामा मेरो सानो कलिलो हात समाएर ,डोर्याएर हिनाएर आज मलाइ यो स्थान सम्म ल्याइ दिनु भयो। आज सम्म मैले लोक सङ्गीतमा जे जति गरे त्यो सबै हजुरको कारणले गरे। आज हजुर यो दुनिया बाट बिदा हुनु भएको खबर सुन्दा मलाइ पत्याउन मुस्किल भइरहेको छ तर पनि सत्य सत्यनै हो,हजुरले देखादनु भएको मार्ग नछोडी हिडिरहने छु गुरु ! मेरो गुरु स्व.देबि गुरुङ्ग बुवाको चिर आत्माको चिर शान्तीको कामना गर्दछु।"
स्व. गुरूङकाे पार्थिव शरीरलाई गएराती नै लमजुङको सुन्दबरजार ल्याइएको छ । उनको मंगलबार अन्तिम संस्कार गरिँदै छ । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।
गुरूङकाे निधनमा सिंगाे लमजुङ शाेकमग्न भएकाे छ ।