बेसीशहरमा लाेकदाेहाेरी गीत प्रतिष्ठानकाे साधारण सभा, वरीष्ठ लाेकदाेहाेरी गायिका पवित्रा थापा सम्मानित

बेसीशहर । राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव शंकर बिरही गुरुङले लाेकसंगीत नेपालको धरोहर भएकाले यसकाे संरक्षणमा सबैकाे दायित्व हुने बताएका छन् ।


बेसीशहरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङकाे २२ अाैं साधारण सभा तथा स्रष्टा सम्मान कार्यक्रममा बाेल्दै सचिव गुरूङले विदेशी संस्कृतिले जरा गाड्न थालेकाेले माैलिक संस्कृति लाेप हुने अवस्थामा पुगेकाे बताए । उनले लाेक तथा दाेहाेरी गीतकाे क्षेत्रमा विकृति र विसंगति देखिन थालेकाे भन्दै यसकाे अन्त्यका लागि सरकारले पहल गर्नु पर्ने बताए । सचिव गुरूङले अहिले कतिपय लाेकदाेहाेरी परिवारसंग बसेर सुन्न नसकिने समेत भएकाले यस्ता विसंगतिकाे अन्त्यका लागि प्रतिष्ठानले समेत पहल गरिरहेकाे जानकारी दिए ।


सचिव गुरूङले कलाकारका गीत र नृत्य उत्कृष्ट हुनुपर्ने भन्दै त्यतिले मात्रै कलाकार पूर्ण नहुने बिचार राखे । उनले भने – कलाकारहरूले गीत र नाच मात्र ध्यान दिने हाेइन, लाेकसंस्कृतिकाे रक्षा र जनताका सुखदुःखमा साथ दिनुपर्छ, समाजसेवामा लाग्नुपर्छ । गुरूङले प्रतिष्ठानकाे सदस्यता वितरणमा असन्तुष्टि पाेख्दै सदस्यता सुद्धिकरणमा जाेड दिए । उनले भने वास्तविक कलाकार सदस्यता पाउनबाट बञ्चित हुन भएन ।


सचिव गुरूङले लमजुङ लाेक संस्कृतिकाे उर्वर ठाउँ रहेकाे चर्चा गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरे, देउबहादुर दुरा, भेडीखर्के साइँला, बिमा कुमारी दुरा, माया गुरूङ, कृष्ण गुरूङ, राजु परियार जस्ता उत्कृष्ट कलाकारहरू जन्मेकाे जिल्ला भएकाे चर्चा गरे ।


कार्यक्रममा लमजुङका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, राष्ट्रिय लाेकदाेहाेरी गीत प्रतिष्ठानका केन्द्रीय सहसचिव तारानाथ अाचार्य, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लमजुङका संस्थापक अध्यक्ष खेम गुरूङ, वरिष्ठ लोकगायिका माया गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए । 



कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायिका पवित्रा थापा रानालाई सम्मान गरिएको थियाे । लाेक दाेहाेरी छाेडेर राजनीतिमा लागेकी अनेमसंघ लमजुङकाे अध्यक्ष एवं बेंसीशहर नगरपालिका ८ का वडाअध्यक्ष समेत रहेकी रानाले लोक गीत र संगीतमा पुर्याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरिएको हो ।

राना वि.सं. २०४९ सालदेखि लोकदोहोरी क्षेत्रमा प्रवेश गरेकी थिइन् । कुनै समयका चर्चित र लाेकप्रिय  गीतहरू हितको परानी, सालैको पातैले, सलल बग्यो गण्डकी, श्रीखण्ड चन्दन, डोरीको तीन फुँदा, भीरको टुनी हो लगायत दर्जनौं लोकप्रिय गीतमा उनले स्वर दिएकी छन् ।

प्रतिक्रिया