लमजुङ महाेत्सवकाे ७५ प्रतिशत तयारी पुरा, राष्ट्रपतिले उद्घाटन गर्ने

बेसीशहर चैत १८ गते । सुस्ताएको ब्यापार र पर्यटन ब्यवसायलाइ चलायमान बनाउन भन्दै यही चैत २३ गतेदेखि आयोजना गर्न लागिएको लमजुङ महोत्सव २०८० को तयारी अन्तिम चरणमा पुगेकोे आयोजक लमजुङ उद्योग बाणिज्य संघले  जनाएको छ ।

बेसीशहरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरी संघका अध्यक्ष भरतकुमार श्रेष्ठले महोत्सवको ७५ प्रतिशत तयारी पुरा भएको र चैत २३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट महोत्सव उद्घाटन गराइने र समापन नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गर्ने जानकारी दिए ।

बेसीशहरको सहजी खेलमैदानमा चैत २३ गतेदेखि बैशाख ३ गतेसम्म हुने ८ औं लमजुङ महोत्सवमा २ सय १ स्टल रहने र सबै स्टलको बुकिङ भइसकेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । 

गण्डकी प्रदेश सरकार, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश, जिल्ला समन्वय समिति लमजुङ, जिल्लास्थित नगरपालिका एवं गाउँपालिकाहरु प्रबद्र्धक रहने महोत्सवमा गोरखा ब्रुअरीले मुख्य प्रायोजन गर्ने महोत्सवका संयोजक भरतकुमार श्रेष्ठले जानकारी दिए । उनले महोत्सव सफल पार्नका लागि ३५१ जनाको मूल समारोह समिति, ५१ सदस्यीय सल्लाहकार समिति, २२ सदस्यीय संयोजन समिति, ९ सदस्यीय कार्यसम्पादन समिति र विभिन्न १७ वटा उपसमिति बनाएर काम अघि बढाइएको सो अवसरमा जानकारी दिए ।

संयोजक श्रेष्ठले महोत्सव सञ्चालनका लागि ९७ लाख २० हजार रुपैयाँको आयब्ययको अनुमान गरिएको उनले जानकारी दिए ।

लमजुङको जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने,  पर्यटन प्रबद्र्धनमा टेवा पुर्याउन र आर्थिक मन्दिको प्रभावले सुस्ताएको ब्यापार ब्यवसाय र पर्यटनलाई पुरानै अवस्थामा फर्काउन महोत्सव सहायक सिद्ध हुने अपेक्षा गरिएको सो अवसरमा उनले सो अवसरमा बताए ।

महोत्सब समग्र जिल्लाबासीको भएकाले सबै मिलेर महोत्सव सफल पार्न संयोजक श्रेष्ठले पत्रकार सम्मेलनमार्फत अनुरोध गरे । उनले जिल्लाको समग्र पर्यटन प्रबद्र्धनका लागि लमजुङ भ्रमण बर्ष २०८१ को समेत घोषणा भएको र यो साझा अभियानलाई सफल बनाउने जिम्मेवारी सबै जिल्लाबासीको हुने उनले बताए ।

महोत्सवमार्फत जिल्लामा सञ्चालित होमस्टे, परम्परागत सीप र हस्तकलाको प्रबद्र्धन, कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने लक्ष्य लिइएको संघका पूर्व अध्यक्ष राजेश थापाले बताए । उनले पत्रकार सम्मेलनमा लमजुङको पर्यटन प्रबद्र्धन गर्न विगतमा जिल्ला विकास समितिको सक्रियतामा निर्माण गरिएको तर अहिले जिल्ला समन्वय समितिको दराजमा थन्किएको लमजुङको बृहत पर्यटन विकास सम्बन्धी गुरुयोजना अनुसार अब काम गर्न सके लमजुङको पर्यटन विकास गर्न सकिने धारणा राखे ।

लमजुङ महोत्सवमा विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना महोत्सव,  राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, लोक दोहोरी, नाटक, कृषि, पुष्प तथा जडिवुटी प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी,  वाल उद्यान लगायतका आकर्षण रहने छन् ।


प्रतिक्रिया