त्रिवेणी कप राष्ट्रब्यापी फुटबल शुरू, आयाेजक त्रिवेणी बाहिरियाे

बेसीशहर, पुस १२ गते । गण्डकी प्रदेशकै प्रतिष्ठित र लमजुङकाे सर्वाधिक लाेकप्रिय तथा चर्चित क्लव त्रिवेणी युवा क्लव बेसीशहरमा शुरू भएकाे त्रिवेणी कप राष्ट्रब्यापी फुटबल प्रतियाेगिताकाे पहिलाे खेलबाटै बाहिरिएकाे छ ।

त्रिवेणी कपकाे ३१ औं श्रृंखला बिहीबारबाट शुरू भएकाे हाे । बेसीशहरकाे सहजीमा रहेकाे त्रिवेणी रंगशालामा दिउसाे भएकाे खेलमा सुन्दरबजार फुटबल क्लवले आयाेजक त्रिवेणीलाइ ३–१ गाेलअन्तरले पराजित गरेकाे हाे ।

खेल शुरू भएकाे १५ मिनेटमै पाएकाे पेनाल्टीलाइ सदुपयाेग गर्दै त्रिवेणीले शुरूवाती अग्रता लिएकाे थियाे । पहिलाे हापमा सुन्दरबजारले गाेल गर्ने अनेकाैं प्रयास गरे पनि सफल हुन सकेन । मध्यान्तरपछि लगत्तै सुन्दरबजारले आफ्नाे पक्षमा पहिलाे गाेल गरी खेललाइ बराबरीमा ल्याएपछि खेलमा निकै राेचक प्रतिस्पर्धा भयाे । दाेस्राे हापपछि गाेल गरी खेल बराबरीमा ल्याएकाे सुन्दरबजारका खेलाडी निकै हाैसिएका देखिन्थे । नभन्दै केहीबेरमा सुन्दरबजारले आफ्ना लागि थप एक गाेल गरेर टीमलाइ २–१ ले अग्रता दिलाए ।


त्रिवेणीले पनि गाेल गर्नेअवसर नपाएकाे हाेइन, तर खेलाडीहरू चुके । दाेस्राे हापमा त्रिवेणीका टंक गुरूङले पाएकाे फ्रिकिककाे सदुपयाेग गर्न सकेनन् । अग्रतामा हाैसिएका सुन्दरबजारका खेलाडीले खेलकाे उत्तरार्द्धमा थप एक गाेल गरी टीमलाइ ३–१ काे अग्रता दिलाएपछि त्रिवेणी क्लवका समर्थकहरू निराश भए ।


लमजुङमा फुटबलकाे कुम्भमेला भनिने याे प्रतियाेगिता अन्तर्गत बिहीबार एक खेल मात्र भयाे बिगत बर्षहरूमा कहिले बिजेता, कहिले उपबिजेता त कहिले सेमीफाइनलसम्मकाे यात्रा गरेकाे त्रिवेणी क्लव यस बर्ष भने पहिलाे खेलबाटै बाहिरिँदा धेरै दर्शकले नमज्जा माने । यसपटक त्रिवेणी क्लवले जिल्लाभित्रका खेलाडी मात्र समावेश गरेकाे थियाे । जबकि सुन्दरबजारकाे टीममा देशका विभिन्न भागका अनुभवी र ब्यवसायीक खेलाडीहरू सामेल थिए ।


प्रतियाेगिता अन्तर्गत शुक्रबार तीन खेल हुनेछन् । पहिलाे खेलमा बेसीशहर नगरपालिका र दाेर्दी गाउँपालिका भिड्ने छन् । दाेस्राे खेलमा सामना युथ क्लव र काष्ठमण्डप फुटबल क्लव तथा तेस्राे खेलमा भरतपुर २४ र ठडराइ अधिकारी समाजबीच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया