पशुपतिकाे जलहरी विवादले संसद वैठक अबरुद्ध

काठमाडौं । प्रतिनिधिसभाकाे बुधवारकाे वैठकमा पशुपतिनाथ मन्दिरमा चढाइएकाे जलहरी सुनकाे कि पित्तलकाे भनि उठेकाे प्रश्नले शुक्रबारकाे प्रतिनिधिसभा वैठक नै स्थगित भएकाे छ ।

जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको र पशुपति मन्दिरमा सुनकाे भनि चढाइएकाे जलहरि पनि पित्तलकाे भएकाे टिप्पणी गरेका थिए ।

सांसद दाहालले भनेका थिए, ‘उहाँ सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

शुक्रबारकाे संसद वैठकमा दाहालकाे उक्त भनाइकाे विराेध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएकाे हाे । एमालेले यसमा सत्यता नछुटाइ संसद चल्न नदिने अडन राखेपछि सभामुख देवराज घिमिरेले २० मिनेटका लागि वैठक स्थगित गरेकामा वैठक अझै चल्न सकेकाे छैन ।

बिहान ११ बजे वैठक शुरु भएलगत्तै एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिपक्षी दलको नेतामाथि सत्तारुढ दलको नेताले लगाएको आरोपबारे प्रष्ट नभएसम्म बैठक चल्न नदिने बताएका थिए । सभामुख घिमिरेले संसदमा प्रश्न उठिसकेका कारण विधि अनुसार प्रष्ट पार्न सकिने भनै संसदको कामकारबाही अगाडि बढाउनका लागि सहयोगका लागि आग्रह गरे पनि एमालेका सांसदहरू मानेनन् ।

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने – "प्रमुख विपक्षी दलको नेतामथिको यस्ताे गम्भिर आरोप टाउकोमा हामी कसरी प्रक्रियामा भाग लिन सक्छौं ?"

वैठक अबरुद्ध भएपछि सभामुख घिमिरेले सबै ठूला दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

स्थगित वैठक दिउसाे ३ बजे बस्ने भनिए पनि अझै बस्न सकेकाे छैन ।

पशुपतिनाथ मन्दिरकाे जलहरीका विषयमा यस अघि पनि पटक पटक प्रश्नचाहिँ उठेका थिए । 

यस विषयमा महालेखा परीक्षककाे कार्यालयले पनि प्रश्न उठाएकाे थियाे । महालेखाका ५९ अाैं प्रतिवेदनमा पशुपतिकाे जलहरीकाे यकीन विवरण नअाएकाे उल्लेख  थियाे ।

प्रतिक्रिया