आदिवासी जनजाति महासंघ लमजुङको अध्यक्षमा रामकुमार श्रेष्ठ

बेसीशहर, फागुन २० गते । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति लमजुङको अध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । 

पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा शनिबार बेसीशहरमा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा आगामी तीन बर्षका लागि नयाँ जिल्ला समन्वय समितिको निर्वाचित गरेको हो ।


अधिवेशनले उपाध्यक्षमा बलबहादुर रानामगर, सचिवमा खेम गुरुङ कोषाध्यक्षमा होमराज तामाङ र सहसचिवमा कमल बिक्रम कुमाललाई निर्वाचित गरेको छ ।

त्यस्तै समन्वय समितिका सदस्यहरुमा रामचन्द्र माझी, डम्बरध्वज दुरा, सुकबहादुर ह्योल्मो लामा र महेशकुमार भुजेल निर्वाचित भएका छन् । लमजुङमा आदिवासी जनजाति महासंघमा १० जनजाति आवद्ध रहेकामा नवनिर्वाचित समितिमा चेपाङ समुदायबाट प्रतिनिधित्व हुन बाँकी छ । जिल्ला समन्वय समितिको पहिलो वैठकले थप सदस्यहरु मनोनित गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए ।

जिल्ला समन्वय समितिको निर्वाचन पश्चात निवर्तमान अध्यक्ष एवं निर्वाचन आयुक्त हरिजंग तामाङले नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ खुवाएका थिए ।


यसैबीच नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासंघको बिधानको मर्म र भावनालाई आत्मसात गर्दै आदिवासी जनजातिको बृहत्तर हितमा आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् । महासघमा आवद्ध सबै जनजाति समुदायलाई एकजुट बनाएर आदिवासी जनजातिहरुको कला, संस्कृति, भाषा, संस्कारको संरक्षण गर्दै संविधान र कानुनले निर्दिष्ट गरेका अधिकार प्राप्तीका लागि नयाँ कार्य समितिले काम गर्ने उनले बताए ।

उनले आदिवासी जनजातिहरुको भाषा, कला र संस्कृतिमा पश्चिमा प्रभाव देखिएको भन्दै मौलिक संस्कृतिको संरक्षण सम्बद्र्धन, आईएलओ १६९ महासन्धिको मर्म भावना, वातावरणीय प्रभाव, बनजंगल तथा नदीनालाको संरक्षण र सन्तुलित विकासका बारेमा नयाँ समितिले वकालत गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया