बिषादीरहित तरकारी उत्पादनमा लमजुङका महिलाहरूकाे उत्साह

बेसीशहर । लमजुङ सदरमुकाम बेसीशहरका विभिन्न वडाका महिलाहरुलाइ बिषादि रहित तरकारी उत्पादन गर्न प्राेत्साहन गरिएकाे छ ।


कृषि ज्ञान केन्द्र लमजुङले एकीकृत शत्रुजीव व्यवस्थापन तालिम (आईपिएम) कृषक पाठशाला कार्यक्रम सञ्चालन गरि महिलाहरूलाइ यस कार्यमा प्राेत्साहित गरेकाे हाे । याे तालिम सञ्चालन भएपछि यहाँका महिलाहरू बिषादि रहित तरकारि उत्पादन समेत गर्न थालेका छन् । तालिमबाट धेरै कुरा सिक्न पाएकाे र तालिम फलदायी भएका महिलाहरूले बताएका छन् । परम्परागत खेती गर्दै अाएका उनीहरूले तालिमले अाफूहरूलाइ उत्साह दिएकाे बताए 

 

कृषक पाठशालाको क्रममा १६ हप्ता सम्म बालीको बीउ तयारी देखि नर्सरी, विरुवा राेप्ने तरिका, गाेडमेल, फूलफूल्नेदेखि उत्पादन हुने समयसम्म बालीमा लाग्ने विभिन्न किसिमका रोग तथा किराहरूको व्यवस्थापन, प्राङ्गारिक मल बनाउने तरिका, विरूवालाइ अावश्यक पर्ने खाद्य तत्व, उचित मलखादका बारेमा प्रशिक्षण दिइएकाे कार्यक्रमका सहजकर्ता कान्ता घिमिरेले बताइन् ।



उनका अनुसार तालिमका अबसरमा बिरुवामा लाग्ने सत्रुजीव र मित्रजीवलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बारेमा समेत जानकारि गराइएको थियाे । तालिमका अबसरमा परम्परागत तरिका र आईपिएम कृषक पाठशाला कार्यक्रम दुवै तरिकाले वाली उत्पादन गर्न लगाई त्यसको बीचमा देखिने फरकबारे नमूना देखाइएकाे थियाे ।


याे पाठशाला बेसीशहरका तीन ठाउँमा सञ्चालन गरिएकाे थियाे । वडा नंं ३ काे बाहुनबेसीफाँट र वडा नंं ९ काे पाखाथाेक र बिम्दाबेसीमा पनि १६ हप्ता अघि पाठशाला शुरू गरिएकाेमा शुक्रबार समापन गरिएकाे छ । यस अवधिमा धेरै कुरा  सिक्ने माैका मिलेकाे तालिममा सहभागी महिलाहरूले बताए ।


बाहुनबेसीफाँटकाे पाठशालामा महिलाहरूले उत्पादन गरेकाे लहरेबालीकाे अवलाेकन गर्न हामी पुगेका थियाैं । तालिममा मूलपानी सृजनशील महिला समूहका २८ जना महिला सहभागी छन् । समूहबाटै महिलाहरूले मूलपानी लहरेबाली आईपिएम कृषक पाठशाला गठन गरी आईपिएम तालिम लिएका हुन् । तालिमबाट आफूहरूले धेरै सिक्ने अवसर पाएको र भविष्यमा ब्यवसायीक रूपमा तरकारी उत्पादन गर्ने उनीहरूकाे याेजना छ ।



अहिले उनीहरूले उत्पादन गरेकाे करेला र घिराैंला बिक्रीका लागि तयार भइसकेकाे छ। अहिलेसम्म १ क्विण्टल करेला र ५० केजी घिराैंला प्रति केजी १ सय रूपैयाँका दरले विक्री गरिसकिएकाे समूहकी सदस्य अन्जना अधिकारी घिमिरेले जानकारी  दिइन् । तालिममा धेरै कुरा सिक्न पाइयाे, लहरेबालीकाे मित्रजीव र सत्रुजीव के के हुन्, कसरी सत्रुजीवकाे ब्यवस्थापन गरेर बाली राम्राे बनाउने भन्ने जानियाे, उनले भनिन् ।


समूहकी अर्की सदस्य लक्ष्मी घिमिरेले परम्परागत खेती भन्दा अाइपिएम प्रविधिबाट खेती गर्दा उत्पादन धेरै लिन सकिने रहेछ भन्ने ज्ञान तालिमबाट मिलेकाे र यसरी ब्यवसायीक रूपमा खेती गर्ने हाे भने अाम्दानी राम्रै गर्न सकिने जानकारी अाफूहरूलाइ मिलेकाे बताइन् ।


कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ मदन रेग्मीले किसानहरूलाइ ज्ञान केन्द्रले गरेकाे सहयाेगबारे जानकारी गराए । अाइपिएम कृषि पाठशालाबाट किसानहरूले धेरै कुरा सिक्न सक्ने र यस पाठशालामा बिषादीकाे प्रयाेग बिना बालीनालीमा लाग्ने राेग किराहरूकाे घरेलु ब्यवस्थापन गर्न सिकाइन्छ । राेक कीराकाे ब्यवस्थापनमा सकेसम्म बिषादीकाे प्रयाेग गरिदैन, राेगकीराकाे ब्यवस्थापन हुनै नसके वातावरणमा नकरात्मक असर नपर्ने गरी कमसेकम प्रयाेग गरिन्छ । 

 

प्रतिक्रिया