बेसीशहर, २२ भदौ । औषधीय गुण समेत भएकाले राम्रो मूल्यमा विक्री हुने अकबरे खुर्सानीको ब्यवसायीक खेतीले लमजुङको दोर्दी गाउँपालिका विस्तारै समृद्धिको दिशामा लम्किन थालेको छ ।
गत आर्थिक बर्षदेखि दोर्दीमा ब्यवसायीक रुपमा अकबरे खुर्सानीको खेती शुरु गरिएकोमा पहिलो पटक नै अकबरे खुर्सानीको उत्पादन सफल भई किसानहरुले राम्रो आम्दानी गर्न सफल भएपछि अकबरेको खेती त्यहाँको समृद्धिको कारक बन्ने देखिएको छ । गत बर्षमात्रै गाउँपालिकाले किसानहरुलाई अनुदान सहयोग दिएर अकबरे खुर्सानीको ब्यवसायीक खेती गर्न प्रोत्साहित गरेको थियो । गाउँपालिकाको अनुदान सहयोगमा दोर्दीका सबै ९ वटा वडाको ७ सय रोपनी क्षेत्रफलमा अकबरेको ब्यवसायीक खेती गरिएको छ ।
दोर्दीका किसानहरुले ब्यक्तिगत र समूहमा अकबरेको खेती गरेका छन् । ब्यक्तिगत र समूहगत रुपमा १ देखि २० रोपनी सम्ममा किसानहरुले अकबरे लगाएका छन् । समूहगत रुपमा (कामचोक कृषक समूह नौथरले ३७ रोपनीमा, प्रगति मिलीजुली कृषक समूहले १५ रोपनी र कीर्तिपुर कृषक समूहले १० रोपनी क्षेत्रफलमा अकबरेको खेती गरेका छन् ।

ब्यक्तिगत रुपमा अधिकारी मल्टि एग्रो अर्चलबोटका सञ्चालक रविन्द्र अधिकारीले २० रोपनी क्षेत्रफल जग्गामा अकबरे खुर्सानीको ब्यवसायीक खेती गरेका छन् । अहिलेसम्म उनले १५ क्वीण्टल अकबरे बिक्री गरिसकेको बताए । उनले भने– “अहिले प्रतिकेजी कम्तीमा पनि दुईसय रुपैयाँको दरले अकबरे बिक्री गरिरहेको छु । मेरो उत्पादन स्थानीय बजारदेखि काठमाडौं पोखरासम्म पुग्छ । पुरै उत्पादन लिइसक्दा ३० क्वीण्टल भन्दा बढी उत्पादन हुने अपेक्षा गरेको उनले बताए ।
अकबरेको खेतीका लागि कृषकहरुलाई गाउँपालिकाले ५० प्रतिशत अनुदान दिएको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए । अघिल्लो बर्ष २० रोपनीमा परीक्षणका लागि लगाइएको अकबरेको खेती सफल भएपछि गत आर्थिक बर्षमा अभियानको रुपमा ७ सय रोपनी क्षेत्रफलमा अकबरेको ब्यवसायीक खेती शुरु गरिएको र राम्रो उत्पादन भएकाले आगामी बर्ष थप विस्तार गर्ने नीति लिइएको अध्यक्ष अधिकारीले बताए ।
अकबरेको प्रबद्र्धनका लागि दोर्दी गाउँपालिकाले अकबरेलाई दोर्दीको रातो हिरा भनेको छ । दोर्दीलाई कृषिको हब बनाई स्थानीय किसानको आय आर्जनमा टेवा पु¥याउने योजना अनुसार अकबरे खुर्सानीको ब्यवसायीक खेती थालिएकोमा अहिले यो अन्य गाउँपालिकाको लागि प्रेरणा पनि बन्न थालेको छ । यहाँको अकबरेको अबलोकनका लागि छिमेकी जिल्लाका पालिकाका जनप्रतिनिधि समेत पुग्न थालेका छन् ।
दोर्दी गाउँपालिकाको कृषि विकास शाखाले किसानहरुलाई राम्रो प्राविधिक सेवा पनि उपलब्ध गराएको छ । पालिकाका कृषि प्राविधिकहरु बेला बेलामा किसानका खेतबारीमा पुगेर बालीको अवलोकन गर्नुका साथै किसानहरुलाई आवश्यक परामर्श दिने गरेका अधिकारी मल्टि एग्रो फार्मका सञ्चालक रविन्द्र अधिकारी बताउँछन् ।
दोर्दीको कृषि शाखाका प्रमुख निराजन पौडेलले यस बर्ष पालिका भर २६० मेट्रिक टन अकबरे खुर्सानीको उत्पादन हुने अनुमान गरिएको बताए । उनले भने– “यसबाट दोर्दीका किसानहरुले कम्तीमा पनि ५ करोड रुपैयाँ आम्दानी लिने अपेक्षा छ । अकबरेको ब्यवसायीक खेती सफलोन्मुख रहेकाले यस बर्ष थप ३ सय रोपनीमा अकबरे खेती विस्तार गर्ने कार्यक्रम छ ।”
मिलन शर्मा दनाई