बहु विवाहलाई कानुनी मान्यता दिने गरीे कानुन ल्याउन लागेकोमा अनेमसंघकाे विरोध

खबरकुञ्ज

बेसीशहर, साउन १९ । सरकारले बहु विवाहसम्बन्धी कानूनलाई संशोधन गरी बहु विवाहलाई कानुनी मान्यता दिने गरीे कानुन ल्याउन लागेकोमा लमजुङमा पनि विरोध शुरु भएको छ ।

अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति लमजुङले बहु विवाहसम्बन्धी कानुन संशोधनको तयारी विरुद्ध सरकारलाई खबरदारी गरेको हो । संघले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै यस्ता कानुनले जनताको ठूलो संघर्षपछि प्राप्त भएका अधिकारहरू गुम्ने भएकाले त्यस्ता कानुन नल्याउन अनुरोध गरेको छ ।

ज्ञापन पत्रमा संघले २०७५ भदौ १ गतेदेखि पूर्णरूपमा निषेधित बहु विवाहलाई पुनः कानूनी मान्यता दिने तयारीले महिलाहरूको अधिकार र संविधानले ग्यारेण्टी गरेको समानतामाथि प्रतिकूल असर पर्ने, महिलाहरूलाई शक्ति, सत्ता र सम्पत्तिबाट टाढा राख्ने पितृसत्तात्मक सोचलाई कानूनी मान्यता प्राप्त हुने उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा महिलाहरूको राजनीतिक सहभागिता, विवाहको न्यूनउमेर निर्धारण र सामाजिक न्यायका सवालमा भइरहेका प्रतिगामी प्रयासहरू बन्द गर्न माग गर्दै संघले यस्तो पश्चगामी कानुन तत्काल खारेज गर्न सरकारसंग आग्रह गरेको छ ।

सरकारले ल्याउन लागकाे यस्तो कानुनी व्यस्थाले महिला समानताको नाममा अमुक व्यक्तिहरुको अवाञ्छित इच्छा पुरा हुने देखिएकाले यस विषयप्रति सम्पूर्ण नेपालीको ध्यानाकर्षण भएको अनेमसंघले बताएको छ ।

अनेम संघ लमजुङकी अध्यक्ष पवित्रा थापा रानाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको महिलाहरुको प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललाई ज्ञापन पत्र बुझाएको थियो ।


प्रतिक्रिया