अमेरिकाबाट ‘डिपोर्ट’ भएर ३२ पुरुष र ५ महिला आइतबार मध्यरात काठमाडौं ओर्लिएका छन् । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि नेपालीमात्रै होइन, भारत, बंगलादेशलगायतका मुलुकका नागरिक पनि डिपोर्टमा परेका छन् । कतिपय देशका नागरिकलाई अमेरिका आउन प्रतिबन्ध नै लगाएको छ । ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ सय ७७ जना नेपाली डिपोर्टमा परेका छन् ।सामान्य भाषामा बुझ्नु पर्दा अमेरिकी कानुनबेगर क्रियाकलापमा संलग्न भएको आरोप लागेपछि उनीहरुलाई अमेरिकी सरकारले आफ्नै खर्चमा विमान चार्टड गरेर नेपालीलाई नेपाल फर्काइदिएको हो ।
डिपोर्टमा परेका को हुन् ?
उनीहरुको नाम र घरठेगाना सार्वजनिक नगरिए पनि डिपोर्टमा परेकाहरु हवाइमार्ग भएर नभइ स्थलमार्गबाट लुकिछिपी अमेरिका पुुुगेकाहरु हुन् । अमेरिका पुगेर पनि कानुनी मान्यता नपाइसकेका नेपाली हुन् । उनीहरु विभिन्न एजेन्टमार्फत विभिन्न देशहरु, समुन्द्र पार गर्दै महिनौंको कठिन यात्रापछि अमेरिकाको माटोमा पुगेका नेपाल आमाका सन्तती हुन् ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि उनीहरुलाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले सोधपुछ गर्छ । प्रहरीले सूचना संकलनको लागि सहयोग गर्न आग्रह अपिल गर्छ । तर, उनीहरुले जानेसुनेअनुसार आफू गएको बाटोबारे केही तथ्य जानकारी दिन्छन्, केही लुकाउँछन् । ‘को मार्फत’ गएको हो ? भन्ने प्रश्नमा उनीहरु अनुत्तरित हुन्छन् । अर्थात् उनीहरु चिन्दैनन् भन्छन् । अथवा बोल्न मान्दैनन् । यसको मतलव उत्तर दिँदैनन् ।
अमेरिका एउटा सपनाको देश हो । अमेरिका पाए को जाँदैन ? भन्नेहरु तपाइँहामी नै हौं । अमेरिका जाने र उतै ‘सेटल’ हुने सपना बोकेका युवाहरु जसरी पनि अमेरिका जानैपर्छ भन्ने एकोहोरो ढीपिले अमेरिका पुग्छन् । कानुनी मान्यता नपाउँदा उनीहरुलाई फर्काइन्छ । हालसम्म फर्काइएकामात्रै होइनन्, अमेरिकाले अझ धेरैलाई फर्काउने सम्भावना छ ।
अमेरिका जाने सपना धेरैले आफ्ना साथीहरुमार्फत देख्छन् । तिनै साथीहरुमार्फत एजेन्टसंगको सम्पर्कमा पुग्छन् । कतिपय एजेन्टले अमेरिका पुग्ने सपना देखाएर रकम डुबाएका छन् । कतिपयको एजेन्डसंग ‘डिल’ हुन्छ, अमेरिका पुर्याउन नसकिए पैसा फिर्ता । एजेन्टको सर्त हुन्छ, अमेरिकाको माटो छोएपछि त्यसको जिम्मा हाम्रो हुँदैन । हुन्छ, भन्ने सहमतिमा धेरैजना स्थलमार्ग हुँदै अमेरिका पुग्छन् । ठाउँठाउँ पुगेपछि लाखौं बुझाउँछन् । हिँड्दै, दौडिँदै, पौडिँदै, भोकभोकै पनि अमेरिका पुग्छन् ।
अमेरिका पुग्दासम्म लाखौं खर्च भएको हुन्छ । अमेरिका पुग्न नपाएका र बीचमै फर्किएकाहरुको पनि लाखौं खर्च भएको हुन्छ । यसमा धेरैको घरखेत डुबेको हुन्छ । फर्किएकाहरु अझै पनि आफ्नो रकम पाउने आशमा एजेन्टकोमा धाएर हैरान छन् । डिपोर्ट भएकाहरुको झिनो आशा रहन्छ, एजेन्टले पैसा फिर्ता दिन्छन् कि ? पुरै नदिए पनि आधा दिन्छन् कि ? अथवा केही दिन्छन् कि ?
झिनो आशामा उनीहरु प्रहरी अनुसन्धान व्युरोलाई एजेन्टबारे भन्न चाहन्नन्, अथवा भन्दैनन् । उनलाई चिनाइदिए प्रहरी लान्छ, थुन्छ, पैसा पाउँदैन कि ? भन्ने उनीहरुबाट बुझिन्छ । एजेन्ट र उनीहरुले एक आपसको सम्पर्कलाई सकेसम्म प्रमाणित नहुने माध्ययबाट कुरा गरिरहेका हुन्छन् । सोधपुछका कुरामा प्रहरीले हरेक खालका आश्वासन (रकम फिर्ता हुनेसम्मको) दिन्छन् । तर, उनीहरु विश्वास गरिरहेका हुँदैनन् । उनीहरु एजेन्टलाई भेटेर कुरा गर्न चाहन्छन् र आफ्नो रकम फिर्ता माग्न चाहन्छन् । एजेन्टले रकम फिर्ता गर्ने एउटामात्रै झिनो आशाले उनीहरु कोमार्फत गएको भन्ने खुलाउँदैनन् ।
डिपोर्टमा परेकाहरुसँग सोधपुछ गरेर अनुसन्धान व्युरोले सूचना संकलन गर्छन् । उनीहरु कसरी अमेरिका पुगे ? किन डिपोर्टमा परे ? र यो घटनामा संगठित मानव तस्करीको भूमिका के छ ? भनेर ब्युरोले चासो राख्छ । उनीहरुले केही नभने पछि प्रहरी गुनासो गर्दै भन्छ, ‘प्रहरीलाई अनुसन्धानमा सहयोग भएन वा सहयोग गरेन ।’
हाम्रो नियतिः
हामी अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा जान्छौं । अथवा युरोपियन मुलुकहरुमा जान्छौं । दुबइ, कतार, मलेसिया, साउदी जान्छौं । सुन्दै नसुनिएका देशहरुमा पनि हामी गइरहेका छौं । दिनदिनै लडाइँ हुने र बमबारुद हुने देशहरुमा पनि गइरहेका छौं । हामी छिमेकी मुलुक भारत पनि गइरहेका छौं ।
जीवनकालको उर्जावान समय हामी कहाँ गइरहेका छौं ? किन गइरहेका छौं ? यो रहर कि बाध्यता ? हामी बाध्य भएर अमेरिका–बेलायत गएका होइनौं । त्यो एउटा सपना हो, रहर हो । सपनाको देशमा हामी त्यहीँ बस्न जाने प्रमुख उद्देश्य हुन्छ । बाध्यताले हामी अरब जान्छौं, भारत जान्छौं । बाध्यताले गएको ठाउँमा हामी कामदारको रुपमा जान्छौं, अहिले पैसा कमाउन र पछि आफ्नै देश फर्किनको लागि ।
तपाईंसंग सीप छ भने खाडी मुलुकले तपाईंलाई धनी बनाउँछ । अमेरिका–बेलायत जस्तो देशले तपाइँलाई बाँच्न मज्जाले दिन्छ तर, धनी बनाउँदैन । ती देशहरुमा जस्तो दुःख तपाइँले आफ्नै देशमा गर्नोस् त, तपाईं पैसको मात्रै होइन, हरेक तवरबाट धनी बन्न सक्नुहुन्छ ।
विकसित मुलुकले हरेक हिसावले ‘ट्यालेन्ट’ व्यक्तिलाई छानीछानी भिजा दिइरहेको हुन्छ । सरकारले अनुमति नदिएका मुलुकहरुमा पनि हामी जवर्जस्ती जान्छौं । नक्कली कागजात बनाएर हुन्छ वा कसरी हुन्छ, ती देश जाने प्रयास गरिरहेका हुन्छौं । हातमा सिप नहुँदा नहुँदै पनि नक्कली सर्टिफिकेटहरु बनाएर विभिन्न देशहरु पुगिरहेका हुन्छौं ।
आफूलाई सहज भइन्जेल सरकारलाई गाली गर्छौं । अप्ठ्यारामा परेपछि सरकारलाई गुहार्छौं । कयौं संघर्षपछि बनेका विदेश हेरेर नेपालमा केही भएन भनेर नेता र कर्मचारीलाई चोरडाँका देख्छौं । स्वदेशमै नेताको ‘पावर’ ले कनिष्ठ पदमा जागिर खाएकाहरु समेत राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलाई सराप्छौं । काममा ठग्छौं । विकासमा हातेमालो गर्दैर्नौं । अरुको गाली वेइज्यत गर्न पाए सन्तुष्ट हुने हामी नेपालीको बानी परिसकेको छ ।

हिमाल, पहाड र तराइमा धेरै खेतबारी बाँझै छन् । सुन फुल्ने ठाउँ हामीले चिनेकै छैन । जसरी कस्तुरी आफूसंग भएको विनाको सुगन्ध नचिनेर भौतारिए झैं हामी आफ्नै माटो छोडेर भौतारिरहेका छौं । आफ्नो माटोमा कागुनो नरोप्ने हामी हरुको माटोमा हिरा खोज्छौं । अरुको माटोमा गएर आफ्नो माटोलाई धिक्कार्छौं । अरुको राष्ट्रमा गएर राष्ट्रियताबारे सिकाउँछौं ।
प्रिय सवैजना,
हामी नेपाली हौं । तपाइँ पुगेको देशमा तपाइँले ती देशको कानुन जसरी मानिरहेको छ, आफ्नै देशमा आफ्नै देशको कानुन मानिदिनुस् त । देशमै बसिरहेकाले पनि आफ्नो देशको ऐन कानुन, नीति नियम मानिदिनुस् त । कल्पना गरौं, कस्तो होला देश ? त्यसपछि हाम्रा युवाहरुले गाउँगाउँमा फोहर गरेमा जरिवाना गरिनेछ भनेर सूचना टाँग्ने दिन आउँदैन, विस्तारै गाउँसहरको मुहार फेरिनेछ ।
तपाइँहरु आउनोस्, फर्किनुहोस् अनि आफ्नो माटोलाई गाली गर्नोस्, तैंले किन सुन दिइनस् ? भनेर । यहाँका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कर्मचारीलाई गाली गर्नोस्, हामीलाई किन विदेशिन बाध्य बनायो ? भनेर । सभ्य भाषामा भन्नुहोस्, सुन्छन् । अरुले गरेन भने आफैं मैदानमा उत्रिनुहोस् । यहीँ राजनीति गर्नोस्, यहीं कर्मचारी बन्नुहोस्, यहीँ समाजसेवा गर्नोस्, यहीको माटोमा पसिना बगाउनोस्, किनकी अहिले हाम्रो गाउँघरमा हिजो आचि गर्दा पुछ्ने पाती र सिन्का पनि अहिले रुपैयाँमा विक्छ ।
राज्य संचालन गर्नेहरु पनि सच्चिन आवश्यक छ । हामीलाई किन जनताले धिक्कारीरहेका छन् भनेर सोँच्न र बुझ्न आवश्यक छ । कसैलाई थिचोमिचो गरेर, कसैलाई गालीबेइज्यति गरेर, कसैमाथि दुव्र्यवहार गरेर, कसैको अधिकार हनन् गरेर कोही ठूलो भइँदैन । एकदिन सवै मर्नुपर्छ ।
मैले ले देशविदेश जहाँ गएर गर्ने दुःख मेरै पेटका लागि हो, मेरै पेट भर्नको लागि हो । अरुको माटोमा फलाएको सुन भन्दा आफ्नै माटोमा फलाएको नुन प्यारो लाग्छ । किनकि यो हाम्रो जननी हो, आमा हो । आफ्नो माटो भनेको आफ्नै हो । आफ्नै आमाको काखमा फर्किऔं, आफ्नै माटोमा फर्किऔं । आफ्नै माटोमा फर्काउनको लागि राज्य सरकारले हिम्मत राख्नुपर्छ, आह्वान गर्नुपर्छ । आफ्नै माटोले जन्माएको भार तिरौं ।
देशको माटोलाई एउटाले सराप्दा अर्कोको मन दुख्नुपर्छ । तपाइँले आफ्नै माटोलाई सराप्दा तपाइँलाई पनि देशको माटोले एक दिन सराप्नेछ । जसरी तिम्रै माटोमा फर्क भनेर ट्रम्पले होनाहार नेपाली युवालाई अहिले फर्काएको छ । अमेरिकाले मात्रै होइन, अब अरु देशले पनि फर्काएनेछन् । तपाइँहरुलाई आफ्नै माटोमा स्वागत छ । आफ्नै माटोमा केही गरेर देखाउने यो एउटा अवसर हो ।
अब कसैलाई केही नभनौं । अब आफ्नै माटोमा केही गरौं, आफू र आफ्नो सन्ततीको लागि केही गरौं । आफूलाई चिनाऔं, गाउँसमाजलाई चिनाऔं, देशलाई चिनाऔं । विश्वमा नेपाल र नेपालीको नाम राखौं, जन्मेपछि मर्नु त छँदैछ । धन्यवाद ।
(लेखक कान्तिपुर दैनिकका समाचारदाता तथा लमजुङ खबर डटकमका सञ्चालक हुन् ।)
12 Jun 2025
आश गुरुङ