डेंगुको जोखिम बढ्दै जान थालेपछि बेसीशहरमा सचेतनामूलक कार्यक्रम

मिलन शर्मा दनाई

बेसीशहर, भदौ २ गते । वर्षातको मौसमसँगै डेंगुको जोखिम बढ्दै जान थालेपछि लमजुङ सदरमुकाममा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

बेसीशहर नगरपालिका, नगरभित्रका विभिन्न आमा समूह, सशस्त्र तथा जनपद प्रहरीको संयुक्त टोलीले बेसीशहरका विभिन्न स्थानमा लामखुट्टेका लार्भा खोजी नष्ट गर्ने अभियान सञ्चालन गरेका हुन् । आइतबार बेसीशहरको वडा नं. ७ र ८ का विभिन्न भागमा खटिएका जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीय आमा समूहका सदस्यहरुलाई ४ समूहमा बिभाजित गरी सरसफाई अभियान सञ्चालन गरिएको बेसीशहर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख मनोजसिं बोहराले जानकारी दिए ।

यस अभियान अन्तर्गत बिशेषगरी बेसीशहरका मोटरसाइकल वर्कसपहरुमा लक्षित सरसफाई अभियान चलाइएको थियो । ग्यारेजहरुमा राखिएका पुराना मोटरसाइकल तथा स्कुटरका टायरमा पानी भरिएर रहँदा त्यस्तो ठाउँमा लामखुट्टेल् फुल पार्ने र त्यही पानीमा लार्भा हुर्कने भएकाले डेंगु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा खोजी तथा नष्ट गर्ने सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए । डेंगु नियन्त्रणका लागि घरआँगन सफा राख्ने र पानी जम्न नदिनेबारे जानकारी गराइएको थियो ।

डेंगुको संक्रमणबाट जोगिन लामखुट्टेको बासस्थान नष्ट गर्ने, त्यसका लागि पानी जम्ने ठाउँहरू (फूलदानी, बाल्टिन, टायर, ड्रम, कुलर, ट्यांकी, प्लास्टिकका भाडाहरू आदि) सफा राख्न पनि स्थानीयलाई आग्रह गरिएको थियो ।

गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको संख्या ८ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको आँकडामा लमजुङ धेरै जनामा डेंगु संक्रमण भएको जिल्लामा परेको छ । जस अनुसार गण्डकी प्रदेशमा सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २० र लमजुङमा ९३ जनामा डेंगुको संक्रमण देखिएको छ । त्यस्तै गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु रोग देखिएको हो । मनाङ जिल्लामा यस वर्ष अहिलेसम्म डेङ्गु देखिएको छैन । 

डेंगुको संक्रमणबाट गत बर्ष पोखरामा ३ जनाको मृत्यु भएको थियो ।

साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमण बढ्ने जोखिम उच्च रहने भएकाले आगामी दिनमा सङ्क्रणको दर अझै बढ्दै जाने अनुमान गरिएको छ । 

प्रतिक्रिया