लमजुङ । लमजुङकाे राइनास माेहाेरिया गाउँमा तामे जातकाे दुर्लभ सालक भेटिएको छ । राइनास नगरपालिकाकाे वडा नंं ९ मोहोरियाकोटमा स्थानीय जगत भुजेलकाे घरमा आइतबार दिउँसो भेटिएकाे सालकलाइ उद्दार गरी जंगलमा छाेडिएकाे छ ।
घाइते अवस्थाकाे सालकलाइ भुजेलकाे घरमा पालिएकाे कुकुरले लिएर आएको थियाे । घाइते अवस्थामा सालक भेटिएपछि गाउँलेहरूले राइनास नगरपालिकाकाे वडा नं. ६ मा रहेकाे सव डिभिजन वन कार्यालयमा खबर गरेका थिए ।
सालक लोपोन्मुख स्तनधारी जनावर हाे । सब डिभिजन पर्ने तामे जातको सालक घाइते अवस्थामा उद्दार गरिएको सव डिभिजन वन कार्यालय धमिलिकुवाका वन रक्षक ओमप्रकाश घर्तीले जानकारी दिए । घाइते सालकलाई सव डिभिजन वन कार्यालयमा सामान्य उपचार गरी आइतबार साँझ नजिकैको जंगलमा सुरक्षित तरिकाले छोडिएको उनले बताए ।
सालक नेपालको संरक्षित वन्यजन्तु हो। संरक्षित वन क्षेत्रसँगै सामुदायिक वनमा सालक बढी मात्रामा पाइन्छ। यो वन्यजन्तुले अक्सर घमाइलो र जुका नलाग्ने ठाउँमा बासस्थान बनाउँछ । समुद्रबाट करिब दुई हजार मिटरसम्मको उचाइमा विशेष गरी सालको जंगलमा सालक पाइने गरेको छ।
सालक अनुसन्धानमा क्रियाशील साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्रका अनुसार नेपालका ४३ जिल्लामा सालक पाइन्छ। सरकारको प्याङ्गोलिन संरक्षण कार्ययोजना (सन् २०१८–२०२२) अनुसार चाइनिज प्याङ्गोलिन भक्तपुर, बागलुङ, चितवन, धादिङ, धनकुटालगायत २३ जिल्लामा पाइन्छ भने इन्डियन प्याङ्गोलिन कञ्चनपुर, बारा, पर्सा, सुर्खेतलगायत सात जिल्लामा र डडेल्धुरा, सल्यान, म्याग्दी, कास्की, नुवाकोट, सिरहा, मोरङ लगायत १४ जिल्लामा पाइन्छ ।
झट्ट हेर्दा न्याउरी मुसाजस्तो देखिने यो स्तनधारी जीवको शरीरभरि बाक्लो र कडा कत्ला (खबटा) हुन्छ। यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ। सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खपटाले ढाकिएको हुन्छ। यो पुच्छरको सहायताबाट रूखको हाँगामा झुन्डिन सक्छ। सालकको दाँत हुँदैन, जिब्रो भने ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्छ। यसको रंग माटोसँग मिल्दोजुल्दो देखिन्छ।
सालक आहाराको खोजीमा रातमा मात्र निस्कने गर्छ। कतैबाट आक्रमण वा खतरा महशुस भयो भने यो भाग्दैन तर भकुन्डाेको आकारमा थुतुनो केन्द्रमा पारेर गुजुल्टिएर बस्छ। खतरा महसुस नभए बिस्तारै गुजुल्टोबाट आफूलाई फुकाउँछ।
सालकले खेतीबाली र उत्पादनलाई नोक्सान गर्ने जीवलाई खाएर नियन्त्रण गर्छ। एउटा वयस्क सालकले एक दिनमा दुई लाख ३० हजार र वर्षमा करिब सात करोडसम्म त्यस्ता कमिला र धमिरा खाने गर्दछ। यसले जमिन खोस्रेर उर्वरा बनाउँछ।