निजि विद्यालयका शिक्षकहरुको ज्ञान तथा क्षमता अभिबृद्धि गर्ने उदेश्यले नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लमजुङले बेसीशहरमा पाठ्यक्रम र शिक्षण सिकाई सम्वन्धी एकदिने अभिमुखीकरण सम्पन्न गरेको छ ।
कार्यक्रममा सकरात्मक चिन्तन विषयका प्रशिक्षक रमण भट्टराईले शिक्षकले कक्षामा गई विद्यार्थीलाई पढाउँदा गर्न हुने र नहुने विषयमा प्रशिक्षण दिएका थिए । खुशी शिक्षण अन्र्तगत कक्षा कोठामा गइ सकेपछि विद्यार्थीलाई पढाउने क्रममा शिक्षकको मुहारमा देखिने खुशी, उत्सुकता, पढाइको क्रममा आउनसक्ने समस्याको समाधानको विषयमा शिक्षकले के कसो गर्ने भन्ने विषयमा उनले सहजिकरण गरेका थिए ।
अभिमुखीकरण कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रबाट नेपाल सरकारका उपसचिव डा. गणेशप्रसाद भट्टराईले शिक्षकहरुले विद्यार्थीहरुलाई पढाउन कक्षा कोठामा जानु अघि गर्नु पर्ने तयारी, पाठयक्रमको ज्ञान लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कक्षा २–६ र ७–१२ का शिक्षकहरूको छुट्टाछुट्टै समूह बनाएर अभिमुखीकरण गराइएको थियो ।
कार्यक्रम बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालको प्रमुख अतिथ्यमा भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै मेयर अर्यालले गुणस्तरीय शिक्षामा नीजि विद्यालयहरुले खेलेको भूमिकाको मुक्त कण्ठले प्रशंसा मात्र गरेनन्, नीजि विद्यालयका शिक्षकहरुको कर्तब्यनिष्ठता र सञ्चालकहरुको कुशल ब्यवस्थापनले नीजि विद्यालयहरुले राम्रो नतिजा ल्याइरहेको बताए । उनले कम सेवा र सुविधा लिएर पनि निजी विद्यालयका शिक्षकहरूले गुणस्तरीय शिक्षाका लागि खेलेको योगदानको सरहना गरे ।
बेसीशहर नगरपालिकाको शिक्षा शाखाका प्रमुख उपसचिव किसानराज चिलुवालले प्याब्सन लमजुङले सबै नीजि विद्यालयका शिक्षकहरुलाई भेला गरेर पाठ्यक्रम र शिक्षण सिकाई बारे प्रशिक्षण दिनु सराहनीय कार्य भएको र यसबाट शिक्षक विद्यार्थी सबैलाई फाइदा पुग्ने धारणा राखे ।
प्याबसन लमजुङको अध्यक्ष मेन घलेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष घलेले अब जिल्लाभर प्याब्सनमा आवद्ध विद्यालयहरूको परीक्षामा एकरुपता ल्याइने र आवद्ध शिक्षकहरूको मनोबल उच्च बनाउनेतर्फ प्याब्सनले भूमिका खेल्ने जानकारी दिए । उनले प्याब्सनमा आवद्ध विद्यालयमा सबै शिक्षक÷शिक्षिकाको पोशाकमा समेत एकरुपमता ल्याउने जानकारी दिए ।