लमजुङमा सहज छैन पृथ्वीसुब्बालाई, नयाँको चुनौतिबीच थपिए गमप्रसाद पनि

खबरकुञ्ज

बेसीशहर, माघ ७ गते । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले आज उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दैछ । निर्वाचनका लागि मंगलबार लमजुङमा विभिन्न ११ राजनीतिक दल र एकजना स्वतन्त्रसमेत गरी १२ जनाको उमेदवारी परेको छ । १२ जना उमेदवारमध्ये लमजुङमा दुई उमेदवार बीचको प्रतिस्पर्धा रोचक हुने भएको छ ।

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा  गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौति छँदै थियो, त्यसमाथि उनकै छिमेकी गाउँका गमप्रसाद गुरुङ नेपाली कांग्रेसबाट उमेदबार बनेपछि उनलाई मुश्किल पर्ने देखिएको छ ।यसैकारण उनकाे र नेपाली कांग्रेसका नेता गमप्रसाद गुरुङको प्रतिस्पर्धा रोचक हुने भएको हो । माघको चिसोमा निर्वाचनको ताताे सरगर्मी बढिरहेका बेला यी दुईमा कसले जित्ने भन्दा पनि कसले भोट बढी ल्याउने ? कसले कसको भोट बढी काट्ने भन्ने अड्कलबाजी शुरु भएको छ ।

निर्वाचनमा यी दुईसंग अन्य उमेदवारको प्रतिस्पर्धा एकातिर छँदैछ । तर यी दुईमा कसले भोट बढी ल्याउने भन्ने बहस र अडकलबाजीले लमजुङकाे चुनावी वातावरण विस्तारै तात्दै गएकाे छ । देशैभर राष्ट्रिय स्वतन्त्र पार्टीकाे पक्षमा जनलहर हुँदा लमजुङमा रास्वपाका उमेदवार धर्म के.सी. यी दुवैलाई चुनौति दिने सशक्त उमेदवार छन् । अर्काेतिर नेपाली कम्युनिष्ट पार्टीका उमेदवार हरिजंग तामाङ पनि उस्तै अब्बल उमेदवार हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसहित अन्य साना र नयाँ दलका उमेदवार रहे पनि उनीहरुको खासै चर्चा छैन लमजुङमा । बरु ३५ बर्षका एक युवाको स्वतन्त्र उमेदवारीको चर्चा छ ।

लमजुङबाट प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरुङले नवौं पटक उमेदवारी दिएका हुन् । २०४३ सालदेखि भएका आम निर्वाचनमा उनी छुटेका छैनन् । २०४८, २०५१ र २०५६ को निर्वाचनमा लगातार हार ब्यहोरेका उनले २०६४ को पहिलो संविधानसभा निर्वाचनमा जीत निकाले तर २०७० को दोस्रो संविधान सभा निर्वाचनमा फेरि पराजित भए । २०७४ मा उनले प्रतिनिधि सभा छोडेर प्रदेश सभाको बाटो रोजे र जितेर गण्डकी प्रदेशको मुख्यमन्त्री पनि बने । २०७९ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन जितेका उनी सञ्चार तथा सूचना प्रविधि मन्त्री बने । गत भदौ २३ र २४ को जेनजी विद्रोहले उनको मन्त्री पद गुम्यो । फागुन २१ को प्रति निर्वाचनमार्फत उनी पुनः सिंहदरबार छिर्ने कसरतमा छन् । उनको यो नवौं पटकको उमेदवारी हो । २०४३ देखि लगातार ४० बर्षसम्म नेकपा एमालेबाट लमजुङमा उनै उमेदवार छन् ।


नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ चुनावी मैदानमा उत्रिएका छन् । गमप्रसादको लागि यो पहिलो संसदीय निर्वाचन हो । यस अघिका निर्वाचनमा पनि उनी आकांक्षी थिए, तर टिकट पाएका थिएनन् । अहिले गगन थापा र विश्वप्रकाशको नेतृत्वको केन्द्रीय समितिले उनलाई उमेदवार बनायो । जिल्ला तहमा राम्ररी भिजेका, ईमान्दार, बौद्धिक, भिजन भएका, सरल मिजासका र विपक्षीलाई पनि प्रभावमा पार्न सक्ने नेता हुन् गमप्रसाद । कसैलाई नराम्रो नबोल्ने, तर्क गर्ने र विपक्षीलाई पनि आाफ्नो विचारमा सहमत गराएर सबैको प्रिय बन्न सक्नु गमप्रसादको बिशेषता हो । राजनीतिसंगै विभिन्न सामाजिक संघ संस्थाको अध्यक्ष भएर समाजसेवामा उनी तल्लीन छन् । लमजुङको रेडियो मस्र्याङदी, गैरी क्याम्पस र स्वाबलम्बी समाज सेवा केन्द्रका उनी अध्यक्ष छन् । पछिल्लो समय आाफ्नै गाउँ घाम्राङमा हिमालयन हर्व सेण्टर स्थापना गरी कृषि र जडिबुटीको खेती, प्रशोधन र अनुसन्धानलाई अघि बढाइरहेका छन् । 

नेपााली कांग्रेस लमजुङको उपसभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य भइसकेका गुरुङ तत्कालीन जिल्ला विकास समितिको सदस्य पनि भए । 

पृथ्बी सुब्बा र गमप्रसाद दुवै एकै पालिकाका हुन् । गमप्रसाद क्व्होलसोथारको वडा नंं ८ र पृथ्वीसुब्बा वडा नं. ९ का बासीन्दा हुन् । एउटै पालिका, एउटै समुदाय र एक अर्काबीच नाता सम्बन्ध पनि भएका कारण यी दुई उमेदवारबीचको प्रतिस्पर्धा निकै रोचक बन्दैछ ।

अहिलेसम्म ८ पटक चुनाव लडिसकेका पृथ्वीसुब्बाले लमजुङकाे क्व्होलसोंथर गाउँपाालिकाबाट एकलौटी मत पाउँदै आएका छन् । यो क्षेत्र एमालेको प्रभाव क्षेत्र पनि हो । तर एमाले बाहेकका मतदाताले पनि उनलाई मत दिँदै आएका छन् । विगतमा यही क्षेत्रको मत उनले पाउने निर्णायक मत बन्दै आएको छ । तर यसपाली गमप्रसादको उमेदवारीले पृथ्वीसुब्बालाई झट्का लागेको छ । एउटै समुदाय, एउटै पालिका, नाता सम्बन्धको प्रभावसंगै समकालीन राजनीतिमा त्यस क्षेत्रबाट पृथ्वीसुब्बालाई टक्कर दिन सक्ने भएकाले गमप्रसादलाई कम्ती आँक्ने आँट एमाले नेताहरुले पनि गर्न सकेका छैनन् । गुरुङ बाहुल्य जिल्लामा गुरुङ समुदायकै गमप्रसादको सशक्त उपस्थितिले पृथ्वीसुब्बा गुरुङको चुनौति निकै बढेको छ ।

पार्टीको उच्च तहमा पुगे पनि जेनजी आन्दोलन पछि लमजुङमा पृथ्वीसुब्बाको लोकप्रियता घट्दो छ । हरेक निर्वाचनमा उनैमात्र उमेदवार बन्नुपर्ने अरुलाई मौका नदिने जस्ता प्रश्नको सामना गर्न उनी बाध्य छन् । मंगलबार उमेदवारी दर्ता गर्ने क्रममा सञ्चारकर्मीहरुसंग उनले पार्टीले तपाइँ उठ्नै पर्छ भनेका कारण आफू उमेदवार बनेको दावी गरेका थिए । आफूले निर्वाचन जितेमा सरकारमा जान सक्ने र मुख्यमन्त्री हुँदा शुरु गरेका अधुरो योजना पुरा गरी लमजुङको विकासमा भूमिका खेल्ने उनले बताए । 

गमप्रसादले ठूला सपना बाँडेका र बुनेका छैनन् । उमेदवारी दर्ता गरेपछि पत्रकारहरुसंग  संक्षिप्त कुरा गर्दै उनले जनताका समस्याको उठान संसदमा नभएको र एजेण्डाको आधारमा राजनीति नभएकाे उनले बताए । निर्वाचन जितेमा जनताका आधारभूत आवश्यकताका बिषयमा संसदमा आवाज उठाउने प्रतिबद्धता उनले जनाए । उनले आफू निर्वाचित भएमा कानुनमा रहेका समस्या फुकाउँदै जनताले सहज रूपले सेवा सुविधा पाउने अबस्था बनाउन र कानुनमा रहेका कमी कमजोरी सुधारका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया