बेसीशहर, साउन ८ । लमजुङ सदरमुकाम बेसीशहरको वडा नंं ८ मा जबर्जस्ती लादिएको डम्पिङ साइटबाट स्थानीय बासीन्दा दैनिक रुपमा प्रताडित हुने गरेका छन् । बेसीशहर नगरपालिकाले वडा नंं ९ मा पर्ने पवित्र मर्स्याङदी नदी तटमा बनाएको डम्पिङ साइटमा फालिएको फोहोर, त्यसबाट निस्कने दुर्गन्ध र दिनहूँ त्यही डम्पिङ साइटमा लगाइने आगोबाट निस्कने प्रदुषित धुँवाका कारण स्थानीय बासीन्दाहरु पीडित बन्दै आएका छन् ।
बेसीशहर नगरपालिकाले बनाउनै नहुने ठाउँमा डम्पिङ साइट बनाएपछि समस्या उत्पन्न भएको हो ।मर्स्याङदी नदीसंगै जोडिएका कारण पवित्र नदी समेत डम्पिङ साइटका कारण प्रदुषित बनिरहेको छ । डम्पिङ साइट भन्दा १५० मिटर दक्षिणमा ऐतिहासिक तथा धार्मिक महत्वको करपुरेश्वर महादेव मन्दिर अवस्थित छ । डम्पिङ साइटको ५० मिटरको दुरीमा वस्तीहरु छन् । यस्तो ठाउँमा धार्मिक, पर्यावरणीय, मानव स्वास्थ्य र कानुनी दृष्टिकोणले पनि फोहोर विसर्जन गर्न नपाइने भए पनि नगरपालिकाले बर्षौंदेखि यही ठाउँमा जबर्जस्ती फोहोर बिसर्जन गराइरहेको छ ।
बेसीशहर नगरपालिकाका ११ वटा वडामध्ये अधिकांश वडाबाट नगरपालिकाले फोहोर संकलन गरी यही डम्पिङ साइटमा विसर्जन गर्ने गर्छ । उक्त फोहोरलाई कुहिने र नकुहिने गरी वर्गिकरण गर्नुपर्ने र पुनः प्रयोगमा ल्याउन सकिने प्लाष्टिक जन्य फोहोरहरु पुन प्रयोगका लागि पठाउनु पर्नेमा ती प्लाष्टिक जलाउन डम्पिङ साइटमै आगो लगाइँदा स्थानीय थप प्रताडित भएका छन् ।
बेसीशहरको दनाईफाँट निवासी समाजसेवी भुपााल बहादुर दनाई भन्छन्– “डम्पिङ साइटमा दिनहूँ जसो लगाइने आगो र त्यहाँबाट निस्कने बिषाक्त धुँवाले बेसीशहरको वडा नं. ८ को दनाईफाँट, गौंथलीडाँडा, प्रगतिटोल र वडा नंं १० को बाँझाखेतका बासीन्दा प्रताडित मात्र बनेका छैनन्, गम्भीर स्वास्थ्य समस्या भोग्न पनि बाध्य बनेका छन् ।”

प्लाष्टिकजन्य फोहोर पर्यावरण र मानव स्वास्थ्यको लागि हानीकारक हुन्छ । त्यसलाई जथाभावी जलाउँदा झनै घातक हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । प्लाष्टिक जलाउँदा पोलिक्लोरेनेटेड बाइफिनाइल, डाइओक्सिन, फ्युरानस, मर्किउरी जस्ता हानिकारक ग्याँस वातावरणमा मिसिन्छ । यस्ता ग्याँसले मानिसमा दम, क्यान्सर जस्ता राेग लाग्न सक्ने बताइन्छ ।
मस्र्याङदी किनारमा जलाइने प्लाष्टिकको धुवाँ बेसीशहरबजारभरि फैलिन्छ । समाजसेवी दनाई भन्छन् –“नजिकै भएकाले दनाईफाँट, गौंथलीडाँडा र बाँझाखेतमा बढी प्रभाव पर्नु स्वभाविकै हो । कहिलेकाहिँ त बिहानदेखि डम्पिङ साइटमा लगाइएको आगो दिनभर निभ्दैन । दिनभरी नै त्यही प्रदुषित धुँवा खाएर बस्नुपर्छ । मेरो घर डम्पिङ साइटको नजिकै छ, यस्तो भयो भनेर नगरपालिकामा गुनासो गर्दा कहिल्यै सुनुवाई हुँदैन । आज पनि बिहानैदेखि डम्पिङ साइटमा आगो लगाइएर धुँवाको मुस्लो निस्किएको छ,, गुनासो गरौ भने न मेयरले फोन उठाउँछन्, न उपप्रमुखले । नगरपालिकाका प्रशासकीय अधिकृत काठमाडौं गएका रहेछन् ।”
नगरपालिकाले मर्स्याङदी नदी तटमा फोहोर फाल्न थालेको एक दशक भइसक्यो । अस्थायी रुपमा अर्को ब्यवस्था नहुँदासम्मका लागि त्यहाँ फोहोर फाल्ने र एक दुई बर्षपछि अन्यत्र ब्यवस्था गर्ने भनिएको एक दशकसम्म पनि फोहोर विसर्जनका लागि नगरपालिकाले डम्पिङ साइटको ब्यवस्था नगरेकोमा दनाईफाँटका बासीन्दाको गुनासो छ । दुई दुई पटक ब्यवस्थित डम्पिङ साइट बनाउने आश्वासन दिएका मेयर गुमानसिंह अर्याल दुवै पटक मेयर निर्वाचित भए, तर डम्पिङ साइटको बिषय नगरपालिकाको प्रथामिकतामा नपरेको बेसीशहर ८ स्थित करपुरेश्वर सामुदायिक महिला समितिकिा अध्यक्ष कल्पना सेढाइँ बताउँछिन् ।
बेसीशहरको दनाईफाँट निवासी निरा दनाईको घर डम्पिङ साइटको नजिकै पर्छ । डम्पिङ साइट र उनको घरको दुरी करीब १ सय ५० मिटर छ । उनी भन्छिन्– च्डम्पिङ साइटको दुर्घन्ध घरैसम्म आइपुग्छ । कहिलेकाहिँ त डम्पिङ साइटमा फालिएको सिनो काग, चिल लगायतका पंक्षीले घरको छत र आँगनसम्मै खसाल्छन् । डम्पिङ साइटमा आगो लगाउँदा धुँवाको मुस्लो घरैभित्र पस्छ ।”

डम्पिङ साइटको फोहोरको दुर्गन्ध र त्यहाँ जलाइने प्लाष्टिकको धुँवाबाट स्थानीय मात्र होइन, मर्स्याङदी नदी, करपुरेश्वर महादेव मन्दिर र करपुरेश्वर पार्कमा घुम्न जाने पर्यटकलाई पनि समस्या परेको छ । करपुरेश्वर पार्कमा घुमेर मर्स्याङदी र हिमालको चिसो हावा खान जाने पर्यटक र स्थानीयहरु डम्पिङ साइटको दुर्गन्ध र प्रदुषित धुँवा खाएर फर्कने गरेको स्थानीय राजेश दनाईले बताए । करपुरेश्वर पार्क नजिकै रेष्टुरेण्ट ब्यवसाय गर्ने उनलाई समेत डम्पिङ साइटको दुर्गन्ध र धुँवालो पिरोलेको छ । रेष्टुरेण्टमा खान आउने ग्राहकहरु कहिले काहीँ त डम्पिङ साइटको दुर्गन्धले जुरुक्क उठेर जाने गरेको अनुभवसमेत उनीसंग छ ।
नगरपालिकाले फोहोरमैला ब्यवस्थापक कार्यविधि २०७४ जारी गरेको छ । कार्यविधिमा फोहोरमैला ब्यवस्थापनलाई ब्यवस्थित बनाउन नगरप्रमुखकै अध्यक्षतामा निर्देशक समिति बनाएको छ । तर कार्यविधि बनेदेखि समितिको अहिलेसम्म वैठक पनि नबसेकाले समस्याबारे छलफल समेत भएको छैन ।
बषौैंदेखि डम्पिङ साइट र त्यसबाट सिर्जित समस्याको समाधानका लागि पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नहुँदा स्थानीय बासीन्दा अब मस्र्याङदी तटमा फोहोर फाल्न दिन हुँदैन र धार्मिक र पर्यटकीय क्षेत्रलाई स्वच्छ र हराभरा बनाउनु पर्छ भन्ने निष्कर्षमा पुगेका छन् । नगरपालिकाले विकल्प नखोजे छिटै मर्स्याङदी तटमा फोहोर विसर्जन गर्न रोकिने स्थानीयले बताए ।
मिलन शर्मा दनाई