बेसीशहर चैत २२ गते । शुक्रबारदेखि शुरु हुने आठौं लमजुङ महोत्सवको तयारी पूरा भएको छ । लमजुङ उद्योग बाणिज्य संघको आयोजनामा बैशाख ३ गतेसम्म चल्ने महोत्सव शुक्रबार दिउसो राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने छन् ।
नेपाली सेनाकाे हेलिकाेप्टरमार्फत राष्ट्रपति महाेत्सव उद्घाटन गर्न आउने कार्यक्रम रहेकाे छ । महोत्सव उद्घाटनपूर्व विशाल सांस्कृति झाँकी सहितको र्यालीले बेसीशहर बजार परिक्रमा गर्ने छ । बजार परिक्रमा पश्चात बेसीशहरको सहजी खेलमैदानमा भब्य कार्यक्रमबीच महोत्सवको उद्घाटन गरिने लमजुङ उद्याेग बाणिज्य संघका महासचिव विपिन श्रेष्ठले बताए ।
महोत्सवका लागि बेसीशहरको सहजी रंगशालामा मञ्च तथा स्टल र बाल उद्यानको निर्माणको काम पुरा भएको छ । महोत्सवस्थलमा २ सय १ वटा स्टल रहने छन् । सबै स्टल बुकिङ भैसकेका छन् । महोत्सवस्थलमा ४० प्रतिशत स्टल स्थानीय रहने मूल आयोजक समितिका संयोजक भरत कुमार श्रेष्ठले बताए ।
लमजुङको जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन र आर्थिक मन्दिको प्रभावले सुस्ताएको ब्यापार ब्यवसाय र पर्यटनलाई पुरानै अवस्थामा फर्काउन महोत्सव सहायक सिद्ध हुने अपेक्षा गरिएको उनले बताए ।
महोत्सवमा विभिन्न लोक सांस्कृति प्रदर्शनी, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, लोक दोहोरी, नाटक, कृषि, पुष्प तथा जडिवुटी प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी, वाल उद्यान लगायतका आकर्षण रहने छन् ।
महोत्सवकै अवसरमा लमजुङ भ्रमण बर्ष २०८१ को समेत घोषणा गरिने छ । महोत्सवमार्फत जिल्लामा सञ्चालित होमस्टे, परम्परागत सीप र हस्तकलाको प्रबर्द्धन, कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने लक्ष्य लिइएको छ ।
गण्डकी प्रदेश सरकार, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश, जिल्ला समन्वय समिति लमजुङ, जिल्लास्थित नगरपालिका एवं गाउँपालिकाहरु प्रबद्र्धक रहने महोत्सवमा गोरखा ब्रुअरीले मुख्य प्रायोजन गर्ने महोत्सवका संयोजक भरतकुमार श्रेष्ठले जानकारी दिए । उनले महोत्सव सफल पार्नका लागि ३५१ जनाको मूल समारोह समिति, ५१ सदस्यीय सल्लाहकार समिति, २२ सदस्यीय संयोजन समिति, ९ सदस्यीय कार्यसम्पादन समिति र विभिन्न १७ वटा उपसमिति बनाएर काम अघि बढाइएको थियो ।
महोत्सव सञ्चालनका लागि ९७ लाख २० हजार रुपैयाँको आयब्ययको अनुमान गरिएको छ ।