बेसीशहर, असार १७ गते । नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा देखिएको अन्योल र विवादप्रति नेपाल प्रेस युनियन लमजुङले गम्भीर चासो देखाएको छ ।
युनियनको लमजुङ शाखाले पत्रकार महासंघका जिल्ला शाखाले सिफारिस गरी पठाएका सदस्य र नविकरण गर्ने सदस्यहरु र प्रदेशले पठाएका नामवलीलाई समेत लत्याएर केन्द्रिय नेतृत्वले आफूखुसी अमूक संगठनमा आस्था राख्नेहरुलाई विधि र प्रक्रिया विपरित सदस्यको नाम थपेर पठाउँदा सदस्यता शुद्धिकरणको नाउंमा गैर पत्रकारले सदस्यता पाउने र सक्रिय रुपमा काम गर्ने पत्रकारहरु बञ्चित हुनुपरेको अवस्था रहेकाे भन्दै महासंघका क्रियाकलापमा चासाे दिएकाे हाे ।
युनियनले महासंघके केन्द्रिय समितिलाई जिल्ला जिल्ला शाखाले नामवली सिफारिस गरि पठाउने प्रक्रिया अनुसार कार्यदल गठन गरी सर्वसम्मतीमा नामवली सिफारिस गरिएकोमा उल्टै जिल्लाले सिफारिस नगरेका र पत्रकारिता पेशामा नै नरहेका व्यक्तिलाई महासंघमा भित्र्याउने केन्द्रिय समितिको यो कार्यले शुद्धिकरणको नाउंमा भएको महासंघको वर्तमान कार्य समितिको चरित्र उदांगो भएको ठहर गरेको छ ।
सदस्यता प्रदान गर्नको लागि जिल्ला हुँदै केन्द्रसम्म जाने विधि र प्रक्रिया रहेपनि केन्द्रले हस्तक्षेप गरी सिधै नाम थप गरेर पठाएको र सिफारिस गरिएका नामवली समेत काटिएको भन्दै युनियन धोर आपत्ती जनाएको छ ।
युनियनका जिल्ला अध्यक्ष सन्तोष पौडेलले जिल्लाले सबैको सहमतिमा पठाएका नामवली अनुसार सदस्यता टुगो लगाउन समेत माग गरेका छन् ।
सदस्यता शुद्धिकरणको नाउँमा पटक पटक विवाद भएका कारण महासंघले असार २२ गर्ने भनिएको निर्वाचन समेत अनिश्चित बनेको भन्दै उनले पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
बिज्ञप्तीमा पौडेलले नेपाल प्रेस युनियनले महासंघको उक्त कार्यको विरोध गर्दै महासंघका केन्द्र देखि जिल्लासम्मका कार्यालयमा ताला लगाउने र धर्ना दिने कार्यक्रम तय गरेको अवस्थामा लमजुङमा भने सकेसम्म तालाबन्दी नगर्ने जनाउ दिएका छन् । उनले महासंघ जिल्लाको भवन निर्माण हुदै गरेको, आर्थिक बर्षको अन्तिम अवस्था रहेकोने मूल्यांकन गरी भुक्तानी लिने प्रक्रियामा महासंघ रहेकोतर्फ ध्यान दिदै ताला नलगाइने बताएका हुन् ।
यद्यपी उनले युनियनका विरोधका कार्यमा नैतिक समर्थन जनाउने प्रतिवद्धता व्यक्त गर्दै, प्रेस युनियन लमजुङ नेपाल पत्रकार महासंघ लमजुङ शाखालाई भवन निर्माणको अन्तिम चरणमा हुने कार्यहरु बाहेक महासंघसंग सम्बन्धित अन्य कार्यहरु नगर्न सचेत गराएको छ । युनियनको यो अनुरोधलाई अस्वीकार गरी कुनै कार्यक्रम तथा गतिविधि सञ्चालन गरिएमा महासंघमा ताला लगाउन प्रेस युनियन बाध्य हुने चेतावनी अध्यक्ष पौडेलले दिएका छन् ।
खबरकुञ्ज