बेसीशहर, माघ १६ । लमजुङमा सुँगुर तथा बंगुरहरुमा देखिने अफ्रिकन स्वाइन फिबरको प्रकोप पुनः देखिएको छ ।
मध्यनेपाल नगरपालिकामा पालिएका सुँगुरहरुमा आइतबार पुनः स्वाईन फिबरको प्रकोप देखिएको हो । मध्यनेपालको एक बंगुर फार्ममा पालिएका मध्ये ३ वटा बंगुर मरेपछि रेपिड टेष्ट परीक्षण गर्दा स्वाइन फिबर देखिएको हो । मध्यनेपालको वडा नंं ४ मा रहेको एक बंगुर फर्ममा ३ वटा बंगुर मरेपछि मध्यनेपाल नगरपालिकाको पशुपक्षी शाखाले गरेको रेपिड टेष्टमा स्वाइन फिबर देखिएको मध्यनेपाल नगरपालिकाको पशु शाखाले जनाएको छ ।
उक्त रोगले छोटो समयमै महामारीको रुप लिन सक्ने भएकाले मध्यनेपाल नगरपालिकाले संक्रमित ठाउँबाट बंगुर तथा बंगुरजन्य पदार्थहरु वसार पसार नगर्न नगराउन अनुरोध गरेको छ । नगरपालिकाले बंगुरपालक किसानहरुलाई आफ्नो फार्महरुमा जैविक सुरक्षाका उपायहरु अपनाउन पनि अनुरोध गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु स्वास्थ्य विज्ञ केन्द्र लमजुङले पनि मध्यनेपालको वडा नं. ४ मा बंगुरहरुमा अफ्रिकन स्वाइन फिबरको प्रकोप पुष्टि भएको जनाएको छ । केन्द्रका प्रमुख डा. सुनिल न्यौपानेले उक्त फार्ममा ३ वटा बंगुर मरेका र ४ वटा विरामी परेका जानकारी दिँदै पशुको स्वाबको नमूना परीक्षणका लागि पोखराको क्षेत्रीय प्रयोगशालामा पठाइएको बताए ।
मध्यनेपालका विभिन्न फार्महरुमा १ हजारको हाराहारीमा बंगुर तथा सुंगुरहरु पालिएको उनले जानकारी दिए ।
मध्यनेपालमा बंगुरहरुमा स्वाइन फिबर देखिए पछि बेसीशहर नगरपालिकाले पनि सतर्कता अपनाउन किसानहरुलाई आग्रह गर्दै बंगुर तथा बंगुरजन्य पदार्थको वसार पसार नगर्न नगराउन अनुरोध गरेको छ ।
बेसीशहरको पशुसेवा शाखाले बंगुरहरुमा अफ्रिकन स्वाइन फिबर लागेको शंका लागेमा हूलबाट छुटाएर छुट्टै राख्न अनुरोध गरेको छ । शाखाका पशु चिकित्सक डा सन्दिप विष्टले बंगुर फार्महरुमा जैविक सुरक्षाका उपाय अपनाउन, खोरमा नियमित रुपमा चुना, फिनेल वा भिर्कोन छर्कन, बंगुर मरेमा राम्ररी खाल्टो खनि गाड्न र नजिकको पशु सेवा शाखा वा भेटेरिनरी अस्पतालमा खबर गर्न अनुरोध गरेका छन् ।
गतबर्ष पनि लमजुङमा अफ्रिकन स्वाइन फिबरको प्रकोप फैलिएको थियो । बिशेष गरी बेसीशहर नगरपालिकामा फैलिएको उक्त संक्रामक महामारीका कारण बेसीशहर नगरपालिकाभित्रका विभिन्न बंगुरफार्ममा १ हजार २ सय बढी र सुन्दरबजार नगरपालिकामा १ सयको हाराहारीमा बंगुरहरु मरेका थिए । यसबाट किसानहरुलाई लाखौंको नोक्सानी भएको थियो । बेसीशहरमा बंगुर पाल्ने करीब २५ वटा फार्म रहेकामा स्वाइन फिबरका कारण बंगुर मर्दा कतिपय किसानको बिल्लीबाँठ नै भएको छ ।
बंगुरपालनबाट राम्रो आम्दानी गर्ने आशामा बैंकबाट ऋण लिएर ब्यवसाय गरेका किसानहरु स्वाइन फिबरका कारण सयौं बंगुर मरेपछि विचल्लीमा परेका हुन् । अहिले बेसीशहरमा विगतको तुलनामा आधा भन्दा बढी किसानले बंगुरपालन गर्न छोडेको बताइन्छ ।
भेटेरिनरी अस्पताल लमजुङका प्रमुख डा.न्यौपानेका अनुसार अहिलेसम्म अफ्रिकन स्वाइन फिबर विरुद्ध कुनै खोप वा भ्याक्सिन पत्ता लागेको छैन । यो रोग लागेपछि कुनै उपचार नहुने भएकाले किसानहरुलाई खतरा मोलेर बंगुरपालन नगर्न अनुरोध गर्नु परेको डा. न्यौपानेले बताए ।