पाँचदिनदेखि सुनकाेशीमा हराइरहेकाे गाडी भेटियाे, दुइवटा शब पनि भेटिए

काठमाडौं । सुनकाेशी नदीमा पाँचदिन अघि खसेकाे प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का अधिकारीहरु सवार गाडी मंगलबार फेला परेकाे छ । उक्त गाडीसंगै दुइ जनाकाे शब पनि भेटिएकाे छ ।

बी एबी ७४६७ नम्बरको स्कोर्पियो गाडी शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डबाट सुनकोशी नदीमा खसेको थियो । 

मंगलबार सशस्त्र प्रहरी बल नेपालकाे गोताखोर टोलीले हराइरहेकाे गाडी र त्यसमा सवार यात्रुहरूलाइ खोजिरहेकोमा फेला पार्न नसकेपछि सुनकोशीको पानीको भँगालो नै अर्काेतिर परिवर्तन गरिएकाे थियाे । त्यसपछि मात्र गाडीसँगै २ वटा शव फेला परेको सशस्त्र प्रहरी बलले जानकारी दिएकाे छ । सशस्त्र प्रहरीका अनुसार भेटिएका दुवै शबकाे सनाखत भएको छैन ।

शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गर्दा दुर्घटना भइ सुनकाेशीमा खसेकाे उक्त गाडीमा सीटीईभीटीका दुई निर्देशक तनहुँको भानु–९ घर भएका कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । गाडीका चालक कृष्ण चौधरी भने घाइते अवस्थामा पौडिएर  नदीबाट बाहिर निस्किन सफल भएका थिए ।

प्रतिक्रिया