लमजुङमा स्थानीयको आन्दोलनमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीकाे ऐक्यबद्धता

खबरकुञ्ज

बेसीशहर, मंसिर ४ गते । लमजुङको बेसीशहर नगरपालिकाका प्रभावित हुने गरी बन्न लागेको ५० मेगावाटको मर्स्याङदी बेसी जलविद्युत आयोजनाको बिरोधमा शुरु भएको स्थानीयको आन्दोलनमा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ऐक्यबद्धता जनाएका छन् ।

दुवै पार्टीले बिहीबार प्रेस विज्ञप्ती प्रकाशित गरी आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् । बेसीशहर र आसपासको क्षेत्रलाई प्रभावित बनाउने गरी जलविद्युत आयोजना बन्न लागेपछि यसको बिरोधमा बेसीशहरमा संघर्ष समिति गठन भई आन्दोलन भइरहेकोमा बिहीबार बेसीशहरमा स्थानीयको बिशाल प्रदर्शन भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बिहीबार नै प्रेस विज्ञप्ती जारी गर्दै स्थानीयले उठाएको जायज मागमा पार्टीको ऐक्यबद्धता जनाएको छ । रास्वपा लमजुङका सभापति अशोक सापकोटाले ठूलो जनसंख्याको बसोबास रहेको बेसीशहर नगर क्षेत्रमा आयोजना बन्दा यहाँका जनताले उपभोग गरिरहेको पानीको श्रोत सुक्ने, आयोजनाको सुरुङ बनाउने क्रममा हुने विष्फोटले बेसीशहरको पूर्वी क्षेत्रको पहाडमा पहिरोको जोखिम बढ्ने र वातवरणमा हुने असन्तुलनले भोलिका दिनमा उत्पन्न हुन सक्ने विभिन्न समस्या प्रति स्थानीयको चिन्ता जायज रहेको उल्लेख गर्दै आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

रास्वपाको बिज्ञप्तीमा भनिएको छ– “बेसीशहरको सौन्दर्य र यहाँको जनजीवनको अभिन्न अङ्गको रुपमा रहेको मस्र्याङदी नदीलाई सुरुङमा पठाउँदा उत्पन्न हुने धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक र वातावरणीय प्रभावको लेखाजोखा गरेर नै स्थानीय आन्दोलनमा उत्रिएका हुन् भन्नेमा हामी प्रष्ट छौं ।”

रास्वपाले बिज्ञप्तीमार्फत स्थानीयका मागलाई वेवास्ता गरी अगाडि नबढ्न सरोकारवाला निकायसंग आग्रह गर्दै स्थानीयका जायज मागका सम्बन्धमा आयोजना पक्षसंग समन्वय गरिदिन स्थानीय प्रशासन, बेसीशहर नगरपालिका र प्रभावित क्षेत्रका वडा कार्यालयहरुलाई आह्वान गर्दै पार्टी यस कार्यमा सहयोग गर्न तयार रहेको जनाएको छ ।

नेपाली कांग्रेस लमजुङले पनि बेसीशहर बजारको गहनाको रुपमा रहेको मस्र्याङदी नदीमा निर्माण गर्ने भनिएको आयोजनाको बिरोधमा स्थानीय नागरिकहरुले स्वतस्फूर्त रुपमा मस्र्याङदी बचाऔं अभियान सञ्चालन गरेको र अभियानले पानीको मूल सुक्न गई वातावरणमा नकरात्मक प्रभाव पर्ने र संस्कृतिक अवस्थामा समेत दखल पुग्ने बिषय उठान गरी दबाबमूलक कार्यक्रमको आयोजना गरकामा उक्त कार्यक्रममा नेपाली कांग्रेस लमजुङको पूर्ण साथ र समर्थन रहेको जनाएको छ । बिहीबार पार्टी सचिव कृष्ण बहादुर अधिकारीद्वारा जारी गरिएको प्रेस बक्तब्यमा तत्काल आयोजनाले आफ्नो निर्माणको काम स्थगन गरी सम्बन्धित सरोकारवालाहरुसंग वार्ता सम्बाद गरी निकास खोज्न अनिुरोध गरेका छन् । उनले नागरिकको भावनामाथि बलजफत गर्न खोजिएमा नेपाली कांग्रेस कडा प्रतिवादका साथ उभिने चेतावनी पनि दिएका छन् ।

आयोजनाको बिरोधमा आन्दोलन भइरहँदा लमजुङका अन्य राजनीतिक दलहरुले भने मुख खोलेका छैनन् । लमजुङमा गत निर्वाचनमा प्राप्त मतको हिसाबले नेकपा एमाले पहिलो पार्टी हो । तर एमाले यस बिषयमा अहिलेसम्म मौन छ । संघर्ष समितिले आन्दोलनका सन्दर्भमा लिखित रुपमा पार्टीहरुको आधिकारिक धारणा माग गरिसकेकोमा अन्य पार्टीहरुले पनि अहिलेसम्म मुख खोलेका छैनन् । 

प्रतिक्रिया