बेसीशहर । लमजुङको मर्स्याङदी गाउँपालिकाले सफ मर्स्याङदी अभियान शुरु गरेको छ । गाउँपालिकालाई सरसफाईमा नमूना बनाउने उद्देश्य सहित गाउँपालिकाभर एकसाथ सरसफाई अभियान शुरु गरिएको हो ।
गाउँपालिकाले विश्व वातावरण दिवस २०२३ को अवसर पारी आगामी सोमबारबाट यो अभियानको शुरुवात गरेको छ । यस दिवसका अवसरमा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापासहित सबै वडाका वडाध्यक्ष तथा अन्य जनप्रतिनिधिहरु, कर्मचारी, शिक्षक, विद्यार्थी, समाजसेवी, विभिन्न टोलसमिति, युवा क्लव, आमा समूहहरु यस अभियानमा सहभागी भए । सोमबार भुलभुलेमा रहेको गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, पालिका सम्बद्ध सरकारी कार्यालय, संघ संस्था, विद्यालय तथा सार्वजनिक ठाउँमा सरसफाइ अभियानको थालनी गरिएको छ ।
मर्स्याङदी गाउँपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउनका लागि गाउँपालिका अन्तर्गतका प्रत्येक गाउँ तथा टोलहरुमा फोहोर मैला व्यवस्थापन, फोहोरबाट पर्ने प्रभावको न्युनिकरणका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने मस्र्याङदी गाउँपालिकालाई सरसफाईमासमेत नमूना बनाउन यो अभियानको थालनी गरिएको हो । यो अभियान निरन्तर चलिरहने गाउँपालिकाका सूचना प्रविधि अधिकृत भरतराज बास्तोलाले जानकारी दिए ।
गाउँपालिकाले विगतका बर्षहरुदेखि नै सफा मर्स्याङदी अभियान सञ्चालन गर्दै आएको छ । पालिकाका प्रत्येक टोल बस्तीहरुमा फोहर संकलन गरी सुरक्षित व्यवस्थापन हुँदै आएकोमा यसलाई अझै व्यबस्थित बनाउन पुनः सफा मर्स्याङदी अभियानलाई निरन्तरता दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले अबका दिनहरुमा फोहोर ब्यवस्थापनलाई थप ब्यवस्थित बनाउन फोहोरको बर्गिकरण गरी कुहिने र नकुहिने फोहोर छुट्याउने, पुन प्रयोग गर्न सकिने फोहोरको उचित प्रयोगका लागि पहल गर्ने, कुहिने फोहोरबाट मल बनाउने लगायतका क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।
मर्स्याङदी गाउँपालिका पर्यटकीय क्षेत्र भएको र यो क्षेत्र हुँदै सयौं पर्यटकहरु दैनिक आवागमन गर्ने भएकाले गाउँपालिका क्षेत्रलाई सफा र स्वच्छ राख्न यो अभियानले सघाउ पुग्ने विश्वास लिइएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
मर्स्याङदी गाउँपालिकाका विभिन्न क्षेत्र, यो क्षेत्र हुँदै मनाङ जाने आउने पर्यटकहरु बढिरहेका छन् । जसका कारण यो क्षेत्रमा होटल व्यवसाय पनि बढेका छन् । तर यो संगसंगै फोहरमैलाको ब्यवस्थापनमा समेत चुनौति थपिएको छ । टोल, बजार हुँदै पवित्र मर्स्याङदी नदीमासमेत फोहोर थुप्रिन थालेपछि गाउँपालिकाले गाउँपालिकाले २०७५ सालदेखि फोहोरमैलाको ब्यवस्थापन गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
माथिल्लो मर्स्याङदी जलविद्युत आयोजनाको सहयोगमा किनिएको ट्रयाक्टरबाट पालिकाका विभिन्न ठाउँबाट फोहोर संकलन गरी ब्यवस्थापन गरिँदै आएको छ । प्लाष्टिकजन्य फोहोर, सिसाका बोत्तल, फलाम, छड, सिमेण्टका बोरा, कागजपत्र, सडेगलेका खानेकुरा लगायत फोहोरहरु जथाभावी फाल्न नदिन गाउँपालिकाले नियम नै बनाएको छ ।
मर्स्याङदी गाउँपालिका अध्यक्ष गुरुङका अनुसार ‘सफा मर्स्याङदी अभियान’ सुरु भएपछि गाउँपालिकाभर जथाभावी फोहर फाल्न प्रतिबन्ध लगाइएको छ । गाउँ तथा टोलहरुमा ठाउँ ठाउँमा डस्टबिनहरु राखिएको छ । उनले भने ‘कुहिने फोहरलाई गाउँमै कम्पोष्ट मल बनाउन प्रेरित गरिएको छ, नकुहिने फोहर संकलन केन्द्रमा ल्याइ बर्गीकरण गरी पुनःप्रयोगका लागि पठाउने गरिएको छ । फोहरमैला संकलन केन्द्र भवनका साथमा शौचालय, खानेपानी धारा र कुहिने फोहोर राख्ने २ वटा खाडल निर्माण गरिएको छ । आवश्यकता अनुसार दैनिक ज्यालादारी खोजेर फोहर बर्गीकरण गराइएको उनले जानकारी दिए ।