गाेरखा, लमजुङ र मनाङ जाेडने गरी बाैद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल निर्माण गरिने

बेसीशहर । लमजुङ र गोरखा जिल्लाका विश्वविख्यात पर्यटन मार्ग समेटेर नयाँ पदयात्रा मार्ग बनाउन सराेकारवालाहरू सहमत भएका छन् ।

विश्वबिख्यात अन्नपूर्ण र मनासुलु पदयात्रा मार्गसमेतलाइ छुने गरी गाेरखाकाे भच्चेकबाट लमजुङ हुँदै र मनाङकाे धारापानी जाेड्ने नयाँ पदयात्रा मार्ग  बनाउन यी पदयात्रा मार्गमा पर्ने लमजुङ र गाेरखाका स्थानीय निकाय तथा ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) तयार भएका हुन् ।

यस सम्बन्धमभा लमजुङकाे दाेर्दी गाउँपालिकामा बुधवार सराेकारवाला निकायकाबीच छलफल भएकाे थियाे । लमजुङकाे दाेर्दी गाउँपालिका, दूधपाेखरी गाउँपालिका, मर्स्याङदी गाउँपालिका, गाेरखाकाे अजिरकाेट गाउँपालिका र पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) बीच छलफल भइ बाैद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल निर्माणमा सहमति जुटेकाे दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज घिमिरेले जानकारी दिए ।


अध्यक्ष अधिकारीका अनुसार अब बन्ने नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताललगायतका प्राकृतिक तथा सांस्कृतिक क्षेत्र समेटिने छन् ।

नयाँ पदयात्रा मार्ग निर्माणका सम्बन्धमा यी स्थानीय निकाय र टानकाबीच सम्झाैतापत्रमा हस्ताक्षर समेत भएकाे छ । सम्झाैता पत्रमा दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, दूधपाेखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, गाेरखाकाे अजिरकाेट गाउँपालिकाका अध्यक्ष दीपक देवकाेटा र टानका अध्यक्ष निलहरि बास्ताेलाले हस्ताक्षर गरेका छन् ।

सम्झाैता अनुसार उक्त पदयात्रा मार्ग गाेरखाकाे अजिरकाेट गाउँपालिकाकाे भच्चेकबाट शुरू भइ रूविनालन पास हुँदै लमजुङकाे दूधपाेखरी र दाेर्दी गाउँपालिकाकाे नेटाँचे–उखण्ड–मेमेपाेखरी–बराहपाेखरी– मनाङकाे ठूलागी ताल हुँदै धारापानीमा पुगेर अन्नपूर्ण पदयात्रा मार्गसंग जाेडिने छ ।

याेसंगै  स्थानीय शाखा पदयात्रा मार्ग बनाउन सकिने क्षेत्रहरूकाे अध्ययन गरी डिपिअर बनाउने र प्रचार प्रसारकाे कामसमेत तुरून्तै शुरू गर्ने सम्झाैतापत्रमा उल्लेख गरिएकाे छ । पालिकाहरूले पालिकाका विभिन्न स्थानबाट उक्त पदयात्रा मार्गलाइ छुने गरी शाखा पदयात्रा बनाउन सक्नेछन् ।

सम्झौताअनुसार नयाँ पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने छन् भने त्यसको प्राविधिक तथा प्रवर्द्धनात्मक कार्यकाे  संयोजनकाे जिम्मेवारी टानलाइ दिइएकाे छ । 

विगत चार दशकदेखि वर्षदेखि पर्वतीय पर्यटनकाे प्रबर्द्धनमा काम गर्दै आएको टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको नयाँ पदमार्गकाे खाेजी र प्रवर्द्धनकाे काम गरेकाे थियाे ।

टानले अब गाेरखा, लमजुङ र मनाङका प्राकृतिक, धार्मिक सांस्कृतिक सम्पदासहितकाे नयाँ पदमार्गकाे प्रोफाइल तयार गरी त्यसकाे विकासका लागि योजना तथा डिपिआर तयार गर्ने र पदमार्गको प्रवर्द्धनका लागि वृत्तचित्र, ब्रोसर, र पदयात्रा नक्सा तयार गर्ने छ । यसका लागि ३८ लाख रूपैयाँ लाग्ने र चारवटै पालिका र टानले यसका लागि लगानी गर्ने सहमति भएकाे छ ।


उक्त पदयात्रा मार्ग निर्माणका लागि लमजुङकाे दाेर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीकाे संयाेजकत्वमा समन्वय समिति समेत बुधवार गठन गरिएकाे छ । समितिका सदस्यहरूमा मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङ, अजिरकाेट गाउँपालिकाका अध्यक्ष दीपक देवकाेटा, दूधपाेखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरूङ, टानका द्वितीय उपाध्यक्ष धनप्रसाद गुरूङ रहेका छन् ।


सम्झाैता पश्चात दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले टानसँगको समन्वयनमा लमजुङ तथा गोरखाका उत्तरी गाउँपालिकासँग सहकार्य गरेर तत्काल काम सुरु गरिने जानकारी दिए । उनले पदमार्ग पूर्वाधार विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग समेत हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ बन्ने पदयात्रा मार्गले लमजुङ, गाेरखा र मनाङ जिल्लाकाे पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने र स्थानीयकाे अाय अार्जनमा समेत टेवा पुग्ने  विश्वास ब्यक्त गरे ।


लमजुङकाे मस्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पदयात्रा मार्गहरूमा माेटर चल्न थालेपछि पदयात्रा मार्गहरू कम हुँदै गएकाे सन्दर्भमा नयाँ पदयात्रा मार्गकाे काम अघि बढ्नु खुशीकाे कुरा भएकाे बताए । उनले भने– '२८ दिनकाे अन्नपूर्ण पदयात्रा मार्ग माेटरबाटाेले ७ दिनमा झरेकाे छ, जसका कारण घुम्न अाउने विदेशी पर्यटककाे समेत बसाइ घट्दा सिंगाे पर्यटन ब्यवसाय नै प्रभावमा परेकाे छ । याे नयाँ पदयात्रा मार्ग बन्याे भने यसले पर्यटकहरूकाे बसाइ लम्बिने र यस क्षेत्रकाे पर्यटन पुनः पुरानै लयमा फर्कन सक्छ।'

प्रतिक्रिया