बेसीशहर । राष्ट्रपति रामचन्द्र पाैडेलकाे उपचार खर्चका लागि अर्थमन्त्रालयले ५५ लाख ४ हजार ६ सय ५४ रूपैयाँकाे सहमति दिएकाे कुरा नेपाली सञ्चार जगत र सामाजिक सञ्जालमा छाइरहेका बेला लमजुङमा भने एक ६ बर्षका बालक जीवनजल नपाएर मृत्युवरण गर्न बाध्य भएका छन् ।
लमजुङकाे मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरा भदौरेका ६ वर्षका सन्दिप विकलाइ झाडापखला लागेपछि परिवारले जीवनजलकाे समेत जाेहाे गर्न नसक्दा उनकाे मृत्यु भएको छ । साेमबारदेखि झाडापखला लागेकाे थियाे । घरमा जीवनजल थिएन । उपचारका लागि अस्पताल पनि नजिक थिएन ।
सन्दिपलाइ झाडापखलाले च्यापेपछि परिवारले मंगलबार मात्र उपचारका लागि खुदी स्वस्थ्य चाैकीमा लगे । तर स्वास्थ्य चाैकी नपुग्दै बाटाेमै सन्दिपकाे मृत्यु भएकाे उनकी आमा सीमा वि.क.ले बताइन् । 'बाबू हिजोदेखि झाडापखलाले विरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाईएन, आज विहान औषधी गर्न ल्याउँदा ल्याँउदै काखैमा वित्यो ।'
दूर दराजका नागरिकहरू जीवनजल, सिटामाेल नपाएर मरिरहँदा सरकारले उनीहरूका लागि केही पनि गर्न सकेकाे छैन । गाउँमा अस्पताल छैन, स्वास्थ्य चाैकी पनि छैन । न औषधी पाइन्छ, नत दक्ष स्वास्थ्यकर्मी नै । दूर दराजका नागरिक औषधी नपाएर डाक्टरकाे मुख देख्न नपाएरै मर्न बिबश छन् ।
तर राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रमुख तथा उच्च तहका नेताहरूलाइ लाखाैं कराेडाैं रूपैयाँ राज्यले खर्च गरिरहेकाे छ । स्वेदेशमा मात्र हाेइन, लाखाैं कराेडाैं खर्चेर पनि उनीहरूकाे विदेशमा समेत उपाचार भइरहेकाे छ ।
राष्ट्रपति रामचन्द्र पाैडेललाइ गत बैशाख ६ गते स्वास्थ्य परीक्षणका लागि दिल्ली लैजाँदा विमान नै चार्टर गरियाे । राेग के हाे ? के भएकाे हाे ? केही नभनि उनलाइ विदेशमा उपचार गर्न लगिए पछि उनकाे उपचार खर्च कसले ब्यहाेर्ने भनेर देशभर विराेध भए । विराेधपछि राष्ट्रपतिले उपचार खर्च आफै ब्यहाेर्ने भनि बिज्ञप्ती नै जारी गर्न लगाएका थिए ।
तर यति हुँदा पनि राष्ट्रपतिले आफैले भनेकाे उपचार खर्च आफै नतिरेकाे माथिकाे परराष्ट्र मन्त्रालयकाे पत्रले स्पष्ट हुन्छ ।
राष्ट्रपतिकाे सितल निवासदेखि दिल्लीसम्म र दिल्लीमा ११ दिन उपचार गराएर त्यहाँबाट सितल निवास फर्कदाँसम्म ५५ लाख २ हजार २७९ खर्च भएकाे वील भरपाइ परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गरेकाे र अर्थमन्त्रालयले त्याे भन्दा २ हजार ३ सय ७५ रूपैयाँ बढीकाे खर्चकाे सहमति दिएकाे छ ।
यसरी ठूलाबडाकाे लागि राज्यकाेषबाट लाखाैं कराेडाैं खर्च गरिँदा अस्पताल, स्वास्थ्य चाैकी र स्वास्थ्यकर्मीकाे पहुँच नपुग्ने दूर दराजका जनताका लागि कम्तीमा घर घरमा जीवनजल र सिटामाेल मात्रै पुर्याइदिन पाए सामान्य राेगले पनि जनता मर्दैनथे कि ?