
कवि श्रीकृष्ण न्यौपानेद्वारा लिखित प्रस्तुत ‘सय छन्द’ कवितासङ्ग्रहका प्रत्येक कविताहरूको रचनागर्भमा उल्लिखित ऐतिहासिक शृङ्खला र उपलब्धिहरूको विशेष भूमिका रहेको छ भन्ने मलाई लाग्छ । वि.सं. २०२२ चैत्र १६ गते पिता मेजर टेकबहादुर न्यौपाने र माता दानमाया न्यौपानेका सुपुत्रका रूपमा डिमापुर, भारतको सैनिक तालिमकेन्द्रमा जन्मनुभए पनि नेपालको लमजुङ जिल्ला स्थायी ठेगाना भएका कवि श्रीकृष्ण न्यौपाने छन्दोबद्ध कविता सिर्जना र गीत गायनका क्षेत्रमा सुपरिचित हुनुहुन्छ । शिक्षण पेसामा आबद्ध रहेर कविता तथा गीतहरूको लेखन तथा गायनमा उहाँको विशिष्ट योगदान रहँदै आएको छ । २०५० सालमा नै रेडियो नेपालको स्वर परीक्षा उत्तीर्ण गरी दर्जनौँ गीतहरू रेकर्ड गराइसक्नुभएका कवि तथा गायक न्यौपानेको सिर्जनात्मक सक्रियता कविता, गीत र गजलमा, कलागत सक्रियता गायनमा देखिन्छ भने संस्थागत संलग्नता छन्द बचाऊँ अभियान–२०५३ र पिङ्गल छन्द प्रतिष्ठान, नेपाललगायत विभिन्न साहित्यिक तथा सामाजिक सङ्घसंस्थामा रहेको देखिन्छ । यसभन्दा अगाडि नै ‘छली’ (सामाजिक काव्य, २०४८), ‘आमा’ (खण्डकाव्य, २०७९), ‘भृकुटी’ (ऐतिहासिक काव्य, २०७९), ‘भाउजू’ (वियोगान्त काव्य, २०७९) जस्ता महत्त्वपूर्ण कृतिहरू नेपाली साहित्यका लागि प्रदान गरिसक्नुभएका कवि न्यौपानेको प्रस्तुत ‘सय छन्द’ कवितासङ्ग्रह पाँचौँ प्रकाशित कृति हो । यसरी नै एउटा महाकाव्य, एउटा खण्डकाव्य र एउटा बहरबद्ध गजलसङ्ग्रह गरी तीनओटा कृतिहरू प्रकाशनको तयारीमा राख्नुभएका कवि न्यौपानेको ‘सय छन्द’ कवितासङ्ग्रह सोद्देश्यमूलक सिर्जनात्मकताको एउटा विशिष्ट उदाहरण हो । छन्द मूलतः सूत्र हो तर छन्दकविता सूत्र मात्र होइन, सूक्तिपूर्ण सिर्जनाको उच्चतम प्राप्ति पनि हो । त्यसैले एक सयओटा छन्दका सूत्रमा जीवन्त भावविधान, युगीन विम्बविधान र सूक्तिपूर्ण रचनाविधानको उच्चस्तरीय सफलता हासिल गर्न सक्नु सामान्य कुरा होइन तर कवि न्यौपाने त्यही असामान्य परिवेशभित्र छिरेर सफल बनेर निस्कनुभएको छ । यही प्रस्तुत कृतिको गुणात्मक उच्चताको द्योतक हो ।
भावगत विविधता र प्रस्तुतिगत कलाकारिता यस सङ्ग्रहका कविताको मूलभूत चिनारी हो । यहाँ पाइने शब्दको कालिगढी र भावसिर्जनाको जादुगरी अद्भुत प्रकृतिको छ । यी कविताहरू पढ्दा कवि श्रीकृष्ण एक विशिष्ट छन्दज्ञाता, शब्दका कालिगढ, सूक्ष्म हृदयदृष्टिका धनी र सत्यलाई सूक्तीकरण गर्न सक्ने प्रतिभाका रूपमा देखापर्नुभएको छ । यहाँ यिनै केही प्राक्कथनका केन्द्रीयतामा रहेर कवितात्मक साक्ष्यहरूको खोजी गरी कविको कवित्वशक्तिलाई पर्गेल्ने प्रयास गरिएको छ ।
प्रस्तुत सङ्ग्रहको पहिलो कविता कृतिको शीर्षकविता हो । ‘सय छन्द’ के हो र यसभित्र के छ भन्ने कुरालाई प्रस्तुत कविताले नै दिशानिर्देश गरिदिएको छ । जस्तै—
छिनछिन बाजा
मन मन ताजा
सरस सुगन्ध
सुख सय छन्द । (सय छन्द)
यसभित्र मानव हृदयलाई झङ्कृत पार्न सक्ने ताल छ, मान्छेलाई जागृत गराउन सक्ने भावनाको छाल छ, सिर्जनात्मक आनन्द छर्न सक्ने सुवास छ र सयओटा छन्दभित्र नयाँ नेपाली पिङ्गलको अप्रत्यक्ष बास छ भन्ने कुराको सङ्केत प्रस्तुत चार हरफमा नै पाइन्छ । शशिवदना छन्दका यिनै चार हरफबाट प्रस्तुत सङ्ग्रहभित्र समेटिएका सयओटा छन्दका सयओटा कविताका बारेमा स्पष्ट अनुमान लगाउन सकिन्छ । यसरी नै प्रकृतिभित्र छिर्ने र प्रकृतिसँग खेल्ने कवि न्यौपानेको कला साँच्चै मनमोहक र अद्भुत प्रकारको लाग्दछ । जस्तै—
खोला सङ्लो सुकिलो बग्न लायो
सारङ्गीले झरना गीत गायो
द्येखापर्छन् हरिया शैल धाम
पोतेजस्तै सुनले लाग्छ घाम । (शरद्)
बाँसुरी कता बज्छ गोठमा
ढाल्छ पातले राग ओठमा
यै वसन्तमा पाक्छ काफल
सम्झिने रुँदा बग्छ गाजल । (वसन्तमा)
यसरी नै राष्ट्र, राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय गौरव र अग्रजहरूप्रतिको सम्मानमा पनि यहाँका धेरै कविताहरू समर्पित छन् । विगतले वर्तमानलाई कर्तव्यबोध गराएको छ भने वर्तमानले भविष्यका लागि थप नयाँ उज्यालो दिन सक्नुपर्छ भन्ने प्रकारका उत्प्रेरणामूलक सन्देश दिन यहाँका धेरै कविताहरू सफल देखिन्छन् । जसको एउटा साक्ष्यका लागि निम्नलिखित पद्यलाई लिन सकिन्छ—
नेपाली नै प्रथम विजयको पाइलो राख्नलाई
लम्केकै हो शिरतिर जसरी कीर्ति जो चाख्नलाई
नाघेकै हुन् शिर अघि सहजै जन्म पासाङ पाई
हामी पर्ने किन कुन पछि के कर्म सन्देशलाई ? (सगरमाथा)
यी त केही नमुनाहरू मात्र हुन् । यसरी नै टिपोट गर्न थाल्ने हो भने यहाँका हरेक कविताबाट यस्ता कैयौँ पद्यहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्न सकिन्छ । सामान्यतः एउटा सङ्ग्रहमा एकदुईओटा मात्र कविता सबल र सफल हुनासाथ कविहरू बाँच्ने गरेका छन्, त्यसमा पनि एक वा दुई पद्यहरू सूक्तिपूर्ण हुनासाथ कविहरू चिनिने गरेका छन् तर यहाँ त हरेक कविता उत्तिकै शक्तिशाली, उत्तिकै प्रयोगधर्मी र उत्तिकै सूक्तिपूर्ण देखिन्छन् । यिनै कुराले कवि न्यौपानेलाई नेपाली कविताका क्षेत्रमा एक विशिष्ट प्रतिभाका रूपमा स्थापित गराउने छ भन्ने कुरा निर्विवाद छ ।
प्रस्तुत कृतिको ऐतिहासिक विशेषता र सफलता भनेको नै छन्दविधानभित्रको विविधता र शिल्पचेतनामूलक विशिष्टता हो । लयविधानका दृष्टिले यहाँका सबै कविताहरू छन्दोबद्ध छन् । यहाँका सबै कविताहरू छन्दप्रयोगका लागि सिर्जना भएका छन् । एक सयओटा छन्दलाई एक सयओटा कवितामा प्रयोग गर्नु नै यहाँका कविताहरूको मूलभूत उद्देश्य हो । यस्ता उद्देश्यमुखी सिर्जनाहरूमा प्रायः सूत्रको बाहुल्य र कवित्वको कमी हुने गर्दछ तर यहाँका कविताहरूमा छन्दका लागि कविताको प्रयोग नभएर कविताका लागि छन्दको सहयोग लिएको अनुभूति हुन्छ । यहाँ छन्दका कारण कविले कतै पनि निस्सासिनुपरेको अवस्था देखिँदैन । यस सङ्ग्रहमा शशिवदना, भुजङ्गसङ्गता, माणवक, कुर्सी, मन्दाक्रान्ता, वातोर्मी, इन्द्रवज्रा, चित्रपदा, चित्रलेखा, शार्दूलललित,भाराक्रान्ता, मयूरगति, मालिनी, द्रुता, मालती, शिखरिणी,शार्दूलविक्रीडित, सोमलता, वसन्ततिलका, भुजङ्गप्रयात, मञ्जुभाषिणी, सुरसा, प्रहर्षिणी, कुसुमविचित्रा, नवस्मृति,रथोद्धता, प्रभद्रक, हारिणी, ललिता, फुल्लदाम, मेनका,पृथ्वी, उपजाति, तोटक, गीतिका, मत्तमयूर, विक्रमणि,हरिणी, कुसुमितलतावेल्लिता, स्रग्शार्दूल, चञ्चरी, सुवदना, मेघविस्फूर्जिता, छाया, मन्दाकिनी, हरिणीलुप्ता, चञ्चला, भुजङ्गविजृम्भित, मणिमाला, प्रियंवदा, मत्तक्रीडा,क्रौञ्चपदा, सोमराजी, मधुमति, मदलेखा, कुमारललिता, समानिका, विद्युल्लेखा, रुक्मवती, हंसी, तनुमध्या, विनय, चन्द्रवत्र्स, अनुकूला, जटा, वैश्वदेवी, भुजगशिशुभृता, जलधरमाला, इन्द्रवंशा, मत्ता, शुद्धविराट, पुतली, अनुष्टुप्, (तविपुला, रविपुला, मविपुला, नविपुला, भविपुला,जविपुला, विपरीतपथ्या, सविपुला) शिवसुभाषिणी, शम्भु,उपेन्द्रवज्रा, समरसा, चित्रा, बीभत्स, निशिपाल, ऋषभगजलसित, पञ्चचामर, कसल, भ्रमरावली, तामरस, शालिनी, अलोला, संयुक्ता, सारङ्गिका, सुषमा,सरिताध्वनि र स्रग्धरा गरी एक सयओटा छन्दको प्रयोग गरिएको छ । नेपाली छन्दपरम्परालाई हेर्दा बढीमा २० ओटा छन्दहरू बढी प्रचलनमा रहेका देखिन्छन् । त्यसमा पनि शार्दूलविक्रीडित र अनुष्टुप् छन्दले नेपाली छन्दकविताको ७० प्रतिशत क्षेत्र ओगटेको देखिन्छ । यहाँ भने कवि श्रीकृष्ण न्यौपानेले अति प्रचलित छन्ददेखि लिएर नेपाली कवितामा प्रयोगै नभएका र कुनै पनि लेखक वा पाठकले सुन्दै नसुनेका छन्दमा पनि सुन्दर कविताहरू सिर्जना गर्नुभएको छ । त्यसैले यी कविताहरू युगीन महत्त्वका दृष्टिले पनि अमर बन्न सक्ने सम्भाव्यतालाई नकार्न सकिँदैन ।
कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत कृतिको आगमनले नेपाली छन्दकविताका क्षेत्रमा एउटा विशिष्टता प्रदान गर्ने, स्रष्टाहरूमा एउटा जिम्मेवारी बोध गराउने र एउटा नयाँ प्रकारको बहस जन्माउने सम्भावना देखिएको छ । यसको सिर्जना अप्रत्याशित रूपमा भएको छैन । यसको सिर्जनासम्म आइपुग्दा नेपाली छन्दकविताको विगतले निकै पसिना बगाएको छ, वर्तमानले निकै झकझक्याएको छ र भविष्यले एउटा उज्यालो आधार पाएको छ । त्यसैले यस कृतिले यसभित्र प्रतिविम्बित नेपाली छन्दकविताको त्रिकालदर्शी स्वरूपमाथि केही विमर्श गर्नै पर्ने अवस्था सिर्जना गरिदिएको छ ।
नेपाली कवितामा शास्त्रीय छन्द प्रयोगको परम्परालाई हेर्दा थालनीबाट आदिकवि भानुभक्त आचार्यको आगमनसम्मको अवधिलाई छन्दकविताको प्रवर्तन काल, भानुभक्तदेखि लेखनाथ पौड्यालको आगमनसम्मको अवधिलाई विकास काल, लेखनाथदेखि रूपरेखा पत्रिका (२०१७) सम्मको अवधिलाई उत्कर्ष काल, रूपरेखा पत्रिकादेखि २०५० को दशकसम्मको अवधिलाई सङ्क्रमण काल र २०५० को दशकदेखि हालसम्मको अवधिलाई पुनर्जागरण काल मान्ने गरिन्छ । नेपाली छन्दकविताको २५० वर्षभन्दा लामो यात्रामा २०५० पछिको तीन दशकमा जति धेरै गुणात्मक तथा मात्रात्मक प्रगति भएको देखिन्छ त्यति अघिल्ला दशक वा शतकहरूमा कहिल्यै भएको पाइँदैन । यस अवधिले सिर्जना, प्रशिक्षण, सङ्गठन र अभियान हरेक कुरामा फड्को मारेको देखिन्छ । छन्दकविताको विश्वव्यापी लहर, इतिहासमा नै सबैभन्दा धेरै फुटकर कविता, खण्डकाव्य र महाकाव्यको सिर्जना, प्रशस्त बृहत् आकारका महाकाव्यहरूको सिर्जना, नेपाली महाकाव्यमा नारीस्रष्टाहरूको बाक्लो उपस्थिति, आधा दर्जनभन्दा बढी छन्दशास्त्रका कृतिहरूको लेखन, छन्दकविताका क्यासेट तथा सिडीहरूको निर्माण, युट्युब, टिकटकलगायतका अत्याधुनिक प्रविधिमा छन्दकविताको प्रवेश, गजलमा शास्त्रीय छन्दको बाक्लो उपस्थिति, सबै उमेर समूहका लागि छन्दकविता मनमोहक सामग्रीका रूपमा स्थापित, छन्दकविताको स्तरीकरण र मानकीकरणको प्रयास, छन्दकवितामा नयाँ नयाँ प्रयोगको प्रयास आदि जस्ता कुराहरूले गर्दा वर्तमानमा नेपाली छन्दकविता नेतृत्वदायी भूमिकासम्म पुगेको देखिन्छ । कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत ‘सय छन्द’ कवितासङ्ग्रहको आगमन उल्लिखित परम्पराकै एउटा थप उपलब्धि हो ।
उल्लिखित सबै उपलब्धिहरू नेपाली छन्दकविता परम्पराका धनात्मक पक्षहरू हुन् । नेपाली कवितामा शास्त्रीय छन्द प्रयोगका धनात्मक पक्षहरू जति छन् त्यति नै यसका ऋणात्मक पक्षहरू पनि छन् । छन्दलाई प्रयोगका लागि प्रयोग मात्र नभएर युगीन सिर्जनाको द्योतक बनाउनका लागि यसमा अझै केही कामहरू हुनुपर्ने देखिन्छ । विभिन्न गणको साँचोभित्र शब्द भर्नु मात्र छन्दकविता लेख्नु होइन, भावको गहिराइ र कलाको सर्वोच्चताको निर्माण निकै कठिन कार्य हो । विशिष्ट अध्ययन र अनवरत साधनाबिना सफल छन्दकवि बन्न कोही पनि सक्दैन । यसका लागि अथक मिहिनेत, अनवरत साधना, दृढ इच्छाशक्ति र धैर्य चाहिन्छ । यति हुँदाहुदै पनि विगत दुई दशकमा शास्त्रीय छन्दले जति प्रगति ग¥यो, त्यति नेपाली साहित्यको कुनै कालखण्डमा भएको पाइँदैन तापनि यस क्षेत्रमा अझै केही चुनौतीहरू बाँकी नै छन् । अझै पनि छन्दलाई पुराण, धर्मशास्त्र वा कर्मकाण्डसँग जोडेर केवल ब्राह्मण जातिको अभिव्यक्तिको माध्यम सम्झिने परम्परा यथावत् छ । साथै छन्द भनेको स्तुति वा भजनको माध्यम हो, यो कविता नभएर ‘सिलोक’ मात्र हो भन्ने धारणा सबैबाट हटिसकेको छैन । यसको कारण छन्दकविहरूले छन्दकवितामा युगीन आवाज दिन नसक्नु हो । छन्दमा लामो समयसम्म त्याग र तपस्या गरिसकेका कविहरूले यसलाई आफूमा मात्र सीमित नगरेर युवापुस्तामा विस्तार गर्नुपर्छ । पुराना कविहरूले छन्दलाई कविताका लागि नभएर सत्ता, शासक वा व्यक्तिको स्तुति वा भजनका लागि प्रयोग गरिदिएकाले अझै पनि त्यो भ्रम हटेको छैन । अब युवापुस्ताले त्यसलाई हटाउनुपर्छ । ‘अपि मास मसं कुर्यात् छन्दोभङ्गं नकारयेत्’ भन्ने संस्कृतको उक्तिलाई आदर्श मानेर मनलागी वर्णविन्यासको प्रयोग गर्नाले र शब्दलाई जथाभावी भाँचकुँच वा तोडफोड गरेर प्रस्तुत गरिदिनाले छन्दकविहरूले विभिन्न आरोपको सामना गर्नुपरेको हो । अबको पुस्ताले छन्दकवितामा मानक भाषाको प्रयोगलाई पनि अगाडि बढाउनुपर्छ । साथै गणसंयोजन, भावविन्यास र शब्दविन्यास सबै कुरामा सचेतता आवश्यक छ । छन्दमा कविता लेख्ने वा सस्वर वाचन गर्ने व्यक्तिलाई कि त संस्कृत पढेको कि त ऐच्छिक नेपाली पढेको भन्ने अनुमान लगाउने गरिन्छ । यसमा धेरै सत्यता छ । यसबाट छन्दलाई मुक्त गरी एउटा फराकिलो संसारमा पु¥याउनका लागि छन्दकवितामा पाण्डित्य प्रदर्शन नगरेर सरल भाषामा गहिरो भाव अभिव्यक्त गर्ने परम्पराको विकास गरी जुनसुकै विषयको अध्ययन गरेका व्यक्तिहरूलाई पनि छन्दकविता लेखनको सजिलो बाटो देखाइदिनुपर्छ । गणमा शब्द भर्नासाथ छन्दकविता तयार भएको भ्रम धेरैमा पर्ने गरेको छ । त्यसैले छन्दमा गरिने कुराकानी, परिभाषा आदिलाई मात्र नभएर नुनको विज्ञापनलाई पनि कविता भन्ने गरिन्छ तर ती कविता होइनन्, फगत छन्द मात्र हुन् । त्यसैले ‘छन्दमा युग बोल्न सक्दैन’ वा ‘जन चाहनाहरू अभिव्यक्त हुन सक्दैनन्’ भन्ने आरोपहरू लाग्ने गरेका हुन् । त्यस प्रकारका आरोपहरूको जवाफ छन्दकविहरूले सशक्त सिर्जनाका माध्यमबाट दिनुपर्छ । नेपाली कविताको पछिल्लो चरणमा बढ्दै गएको नयाँ छन्द निर्माणको मोह छन्दकविताका लागि जति फलदायी छ त्यति नै घातक बन्ने सम्भावना देखिन्छ । एकातिर आचार्य पिङ्गलले छन्दका भेद उपभेदहरूको चर्चा गर्ने क्रममा छन्दका लाखौँ मात्र नभएर करोडौँ प्रकारहरूप्रति लक्षित गरिसकेका छन् । हामीलाई तिनका बारेमा आधाउधी पनि थाहा छैन । हामीले जानेका वा सुनेका केही छन्द अथवा नेपाली छन्दविद्हरूले उल्लेख गरेका केही छन्दहरूभित्र ती परेनन् भन्दैमा तिनलाई पूर्णतः नयाँ भन्न सक्ने आधार देखिँदैन । ती छन्दहरू पिङ्गलले सङ्केत गरेका कुनै भेदमा पर्न सक्छन् । अर्कातिर लेख्दै जाँदा कुनै ठाउँमा गण मिलेन र कविता बिग्रियो भने ‘यो त मैले नयाँ छन्द निर्माण गरेको हुँ’ भन्ने प्रवृत्तिको विकास हुँदै जाने हो भने छन्दकविताको मर्यादामाथि नै ठुलो प्रहार हुने देखिन्छ । भएकै छन्दमा सुन्दर, कलात्मक, सूक्तिपूर्ण र युगीन महत्त्वका कविताहरू लेख्न सकियो भने हुन्छ तर नयाँ छन्द निर्माण गर्ने रहरले यसप्रति झन् अन्योल थपिने सम्भावना वर्तमानमा रहेको देखिन्छ । यी कुराहरू नेपाली छन्दकविताका ऋणात्मक पक्षहरू हुन् । नेपाली छन्दकविताका उल्लिखित ऋणात्मक पक्षहरूमा सुधार ल्याई शिल्पगत रूपमा निर्दोष र भावगत रूपमा सूक्तिपूर्ण छन्दकविता निर्माणका लागि कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत ‘सय छन्द’ कवितासङ्ग्रह एउटा उत्प्रेरक कृति बन्ने छ भन्ने विश्वास मैले लिएको छु ।
आज विश्वमा बोलिने लगभग सात हजार भाषाहरूमा नेपाली भाषा मात्र त्यस्तो भाषा हो, जसमा जस्तोसुकै छन्दमा अभिव्यक्ति दिन सकिन्छ । अति छोटो, अति लामो, सबै ह्रस्व, सबै दीर्घ जस्तोसुकै छन्द भए पनि नेपाली भाषा त्यसको गणमा खेल्न सक्छ र त्यसबाट सूक्ति निर्माण गर्न सक्छ । नेपाली कविताले यति लामो यात्रा पूरा गरिसक्दा यसले संस्कृत छन्दशास्त्रलाई आफ्नो मात्र निजी सम्पत्तिका रूपमा स्थापित गरिसकेको छ । संस्कृत सर्वगुण सम्पन्न भाषा हो । वेद, पुराण, इतिहास, व्याकरण आदि सबैको आदिम वैज्ञानिक र प्रामाणिक रूप यसैमा फेला पर्छ । प्राचीन कालमा संस्कृत भाषामा गणित, अर्थशास्त्र, विज्ञान,राजनीति, कूटनीति, धर्मशास्त्र, नीतिशास्त्र आदि सबै कुरा छन्दमा लेखिए तर वर्तमानमा संस्कृत भाषामा त्यस प्रकारका विद्वान् र सर्जकहरूको कमी हुँदै गएकाले काव्यरचना कार्य अत्यन्त न्यून मात्रामा भएको देखिन्छ । भारोपेली परिवारअन्तर्गतको हिन्दी भाषामा सुरुमा शास्त्रीय छन्दको प्रयोग प्रशस्त पाइए पनि कवि अयोध्याप्रसाद सिंह ‘हरिऔध’ (सन्. १८६५—१९४७) को ‘प्रियप्रवास’ (महाकाव्य, सन्. १९२९÷वि.सं. १९८५) पछि हिन्दी भाषामा पनि संस्कृत छन्दको प्रयोग हराउँदै गएको छ । वर्तमानमा मात्रिक छन्दहरूको प्रयोग फाट्टफुट्ट देखिए पनि दोहा,चौपाईलगायतका आफ्नै प्रकारका छन्दहरूको प्रयोगमा हिन्दी कविता बलशाली बन्दै गएको छ । मैथिली, भोजपुरीजस्ता भारोपेली परिवारका भाषाहरूमा प्राचीन कालमा संस्कृत छन्दहरूको प्रयोग भए पनि वर्तमानमा त्यो शून्यप्रायः देखिन्छ । संस्कृत छन्दको प्रयोग भएको भोटबर्मेली परिवारको एक मात्र भाषा नेवारी हो । यसमा नेपाली भाषाभन्दा अगाडिबाट अर्थात् सोह्रौँ शताब्दीको अन्त्यबाट नै छन्दमा कविता सिर्जना भएको तथ्य फेला पर्दछ । वर्तमानमा भने नेपाल भाषाका कवितामा संस्कृतका मात्रिक छन्दको उल्लेख्य उपस्थिति देखिन्छ तर वार्णिक छन्दको प्रयोग नगण्य बन्दै गएको छ । यिनै साक्ष्यका आधारमा अबको युगमा संस्कृत छन्दशास्त्रलाई जीवन्त बनाउने कार्यको एक मात्र जिम्मेवारी नेपाली भाषाले लिएको छ भन्न सकिन्छ । यति हुँदाहुँदै पनि इतिहास निर्माण एउटा पाटो हो भने इतिहासको रक्षा अर्को पाटो हो । हालसम्ममा नेपाली छन्दकविताले एउटा ऐतिहासिक उचाइ प्राप्त गरिसकेको छ । अब यसको काम युगीन नेतृत्वको निरन्तरता हो । यस प्रकारको जिम्मेवारीलाई अझै बलियो बनाउन र शास्त्रीय छन्दमा युगीन नेतृत्वदायी कामहरू गर्नका लागि यस क्षेत्रका स्रष्टाहरूले केही थप कामहरू गर्नुपर्ने देखिन्छ ।
छन्दकवितामा शासकस्तुति, प्रशस्ति र भजनहरू मात्र लेखिन्छन्, युगीन आवाजहरूको प्रतिनिधित्व हुन सक्दैन भन्ने आरोपलाई विगतको दुई दशकले तोडिसकेको भए पनि त्यसमा समाजबोध, जीवनबोध र युगबोधका विषयमा मानक सिर्जनाहरू अझै अपेक्षित छन् । छन्दकवितामा विगतमा विचार पक्षले भन्दा स्वैरकल्पना, कपोलकल्पना र भावुकताले विशेष प्रवेश पाएको हुनाले तिनमा प्रकृति,हिमाल, पहाड, खोलानाला, फूलबारी, गुलावी ओठ आदिले विशेष स्थान पाउँदै आएका थिए जसलाई कलाका रूपमा व्याख्या गर्ने गरियो तर पुनर्जागरणपछि भने विषय छनोटमा पनि परिवर्तन भयो र त्यसले मानव जीवन र सामाजिक संरचना वा भोगाइसँग प्रत्यक्ष सरोकार राख्ने जीवन र जगत्का जुनसुकै विषयलाई पनि गम्भीर वैचारिक दृष्टिले हेर्ने कार्यको थालनी ग¥यो । यसको फलस्वरूप नयाँ पुस्ताका लागि छन्दकविता सूचना, मनोरञ्जन र मार्गनिर्देशन सबै कुराको स्रोत बन्न थालेको छ । यस कार्यलाई अझै उदाहरणीय बनाउँदै लैजानु अबको दायित्व हो । सत्यको उद्घाटन मात्र कविता होइन । अक्षरशः सत्यको उद्घाटन गर्दा त्यो प्रतिवेदन वा समाचार हुन्छ । सत्यलाई सूक्तिमा रूपान्तरण गर्न सकियो भने मात्र त्यो कविता बन्छ । यस कार्यका लागि छन्दकविता वरदान नै सावित हुन सक्छ किनभने छन्दकवितामा विषयवस्तुलाई सूक्तीकरण गर्न सक्ने र पाठकले पनि त्यसलाई सुन्नासाथ कण्ठस्थ गर्न सक्ने शक्ति लुकेको हुन्छ । यस कुरालाई कविहरूले गम्भीरताका साथ लिएर सिर्जना कर्ममा लाग्ने हो भने छन्दकविता हरेक विषय र व्यक्तिका लागि मूल मन्त्रजस्तो बन्न सक्ने छ । यी अपेक्षाहरूको पूर्तिको दिशामा लाग्न र नेपाली छन्दकविताको श्रीवृद्धिका लागि केही न केही नयाँ कामहरू गर्न कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत ‘सय छन्द’ कवितासङ्ग्रहले सबैलाई थप उत्प्रेरित गर्ने छ भन्ने विश्वास गर्न सकिन्छ ।
उल्लिखित विश्लेषण र विमर्शका आधारमा भन्दा कवि न्यौपानेको ‘सय छन्द’ कवितासङ्ग्रहले केही नयाँ ऊर्जा लिएर आएको छ भन्न सकिन्छ । यो कृति सिर्जना र सिद्धान्त दुवैको मिश्रण हो । यसका सुरुमा दिइएका छन्दसूत्रले पाठकलाई सैद्धान्तिक ज्ञान गराएको छ भने त्यसपछिको कविताले सिर्जनात्मक आनन्द प्रदान गरेको छ । यस कारण यो कृति एक सयओटा छन्दको ज्ञान दिने र सिर्जनात्मक मार्गनिर्देश गर्ने लघुछन्दशास्त्र पनि हो । यति हुँदाहुँदै पनि यो कृति सिर्जनातिर बढी ढल्किएको र कविता कल्पना, विचार र शिल्प तीनओटै पक्षसँग सम्बन्धित विधा भएका कारण यसले अझै पनि सत्यको सूक्तीकरणको अपेक्षा राख्नु स्वाभाविक हो । सिर्जनात्मक सौन्दर्यको उच्चतम प्राप्तिको अपेक्षा सर्जक र भावक दुवैमा नरहने हो भने सिर्जनात्मक प्रगतिका पाइलाहरू त्यहीँ रोकिन्छन् । त्यसैले कवि श्रीकृष्णको साधनाको यात्रा अविरल रहनुपर्छ अनि भावगत पुनरावृत्तिबाट कवितालाई बचाउँदै सङ्ख्यात्मक र प्रयोगात्मक सिर्जनामा भन्दा गुणात्मक र आदर्श सिर्जनामा आफूलाई समर्पित गर्नुपर्छ भन्ने मलाई लाग्छ । अन्त्यमा काठमाडौँ उपत्यकाभन्दा धेरै पर लमजुङमा बसेर भए पनि नेपाली पाठकलाई यति सुन्दर कृति प्रदान गर्नुहुने कवि श्रीकृष्ण न्यौपानेलाई सहर्ष बधाईका साथ अझै सुन्दर, अझै सशक्त, अझै युगीन र अझै कालजयी सिर्जनशीलताका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु र उहाँकै पद्यलाई प्रस्तुत गरेर उहाँको यस कृतिले कवितामा भनेजस्तै अपेक्षित सफलता प्राप्त गरोस् भन्ने शुभेच्छाका साथ बिदा चाहन्छु ।
पाना पानाहरूमा अनुभव अघिका मानवी मन्त्र हुन्छन्
मान्छेले भोलि देख्ने विगत छ नमुना झ्याल खुल्ला रहन्छन्
पल्टाई हेर्छ पाना जब हरफहरू स्वाद मीठो लिएर
मान्छे ज्ञानी हुनेले हृदय रस टिपोस् दृष्टि टाढा दिएर । (किताब)