प्रहरी जवान भण्डारीले बनाए दाेर्दीका लागि उत्कृष्ट लाेगाे, २५ हजार पाउने

खबरकुञ्ज

बेसीशहर, पुस १४ गते । लमजुङको दोर्दी गाउँपालिकाले आह्वान गरेको पालिकाको प्रतीक चिन्ह (लोगो) बनाउने खुला प्रतिस्पर्धामा एक प्रहरी जवान सर्वोत्कृष्ट घोषित भएका छन् ।

गत मंसिर १० गते दोर्दी गाउँपालिकाले पालिकाको प्रतीक चिह्न (लोगो) निर्माणका लागि खुला प्रतिस्पर्धाका लागि आवेदन खुल्ला गरेकोमा दोर्दीकै प्रहरी चौकी श्रीमञ्ज्याङमा कार्यरत प्रहरी जवान अनिल भण्डारीको डिजाइन सर्वोत्कृष्ट भएको हो । भण्डारीले डिजाइन गरेको दोर्दी गाउँपालिकाको प्रतीक चिन्ह लोगो अब गाउँपालिकाको आधिकारीक प्रतीक चिन्ह बन्ने छ । योसंगै भण्डारीले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

लामो समयसम्म सूचना प्रबिधि (आइटी) क्षेत्रमा काम गरेका भण्डारी हाल नेपाल प्रहरीको प्रहरी जवान पदमा कार्यरत छन् । गाउँपालिकाको सूचना अनुसार उनले आकर्षक लोगो तयार गरेका हुन् ।

 

लोगोमा गाउँपालिकाको ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सामाजिक, सांस्कृतिक, भाषा, धर्म, संस्कार, आर्थिक गतिविधि एवं विशिष्ट मौलिक पहिचान झल्कने हुनुपर्ने भनि गत मंसिर १० मा सूचना जारी भएकोमा सोही अनुसार पेश भएका डिजाइन मध्ये भण्डारीको डिजाइन सर्वोत्कृष्ट भइ छनोट भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।

अध्यक्ष अधिकारीका अनुसार यही पुस १२ गते कार्यपालिकाको वैठकले लोगो छनोट गरेको र अब गाउँसभाले पारित गरेपछि यसलाई प्रयोगमा ल्याइने छ । सोही अबसरमा सर्वोत्कृष्ट हुन सफल प्रतियोगीलाई नगद रु.पच्चिस हजार प्रदान गरिने उनले जानकारी दिए ।

सम्बन्धित खबर

लमजुङको दोर्दी गाउँपालिकाले प्रतीक चिन्ह बनाउन जारी गर्याे सूचना



प्रतिक्रिया