बेसीशहर, असोज ७ गते । भूगोलविद् स्व। डा. हर्क गुरुङलाई जन्मथलो लमजुङमा स्मरण गरिएको छ । उनको १९ औं स्मृति दिवसका अवसरमा उनको समाधिस्थल मस्र्याङदी गाउँपालिकाको वडा नं। ७ ताङलीचोकमा मंगलबार उनको सम्झना गरिएको हो ।
डा. हर्क गुरुङ स्मृति प्रतिष्ठान, महेन्द्रदेव मा.वि. तराञ्चे र मनास्लु तमु आमा समाजको संयुक्त आयोजनामा मंगलबार ताङलीचोकमा आयोजित एक समारोहमा सहभागीले डा. हर्क गुरुङकाे शालिकमा माल्यार्पण गरी धुप दीप गरी उनको आत्माको चिर शान्तिको कामना समेत गरे ।

कार्यक्रममा स्थानीयसहित मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनादेवी थापा, प्रमुख प्रशासकीय अधिकृत बिज्ञान पौडेल, वडा नंं ७ का अध्यक्ष तिलबहादुर गुरुङ लगायतले स्व गुरुङको प्रतिमामा माल्यार्पण गरेका थिए । सो अवसरमा अध्यक्ष गुरुङले स्व। डा। हर्क गुरुङ देशलाई संसारमा चिनाउने ाव्यक्ति भएका भन्दै उनी जस्तो भूगोलविद देशमा कमै जन्मने बताए । स्व. गुरुङको जन्मथलो भएका कारण सिंगो गाउँपालिका गौरवान्वित भएको भन्दै उनले स्व. गुरुङलाई चिरकालसम्म चिनाइ राख्न र उनले देखेको सपना पुरा गर्न प्रतिष्ठानले धेरै काम गर्न बाँकी रहेको बतताए । उनले हर्क गुरुङको समाधिस्थल र पार्कलाई अध्ययन अनुसन्धानका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने र यसका लागि प्रतिष्ठानले गर्ने हरेक कार्यमा गाउँपालिकाले सहयोग गर्ने उनले बताए ।

कार्यक्रम डा. हर्क गुरुङ प्रतिष्ठानका अध्यक्ष तिलप्रसाद गुरुङको अध्यक्षतामा भएको थियो ।
वि.सं. १९९५ साल पुस २१ गते बुबा पारसै गुरुङ र आमा मैस्योको ठूलोकान्छा छोराको रुपमा जन्मेका डा। हर्क बहुमुखी प्रतिभाका धनी व्यक्ति थिए । नेपालमा विकेन्द्रीकरणको थालनी उनकै पहलमा भएको थियो । उनी पञ्चायतकालमा राज्य मन्त्री, योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष सम्म बनेका थिए । भूगोल बिषयमा विद्यावारधी गर्ने उनी नेपालकै पहिलो ब्यक्ति हुन् । बहुमुखी प्रतिभाका धनी उनी समाजशास्त्री, दर्शनशास्त्री, पर्यटनविद, चित्रकार, खेलाडी, फोटोग्राफर, अन्वेषक भनेर पनि चिनिन्छन् ।
पछिल्लो समय संरक्षण क्षेत्रमा हात हालेका उनीको २०६३ असोज ७ गते निधन भएको थियो । विश्व वन्यजन्तु कोष नेपालको आयोजनामा गर कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कँदै गर्दा हेलिकप्टर दुर्घटनामा परी सालमा उनको मृत्यु भएको थियो । उनीसंगै वातावरणविद् डा। चन्द्रप्रसाद गुरुङसहित २४ जना देश–विदेशका विज्ञहरूको सोही दुर्घटनामा परी मृत्यु भएको थियो ।
खबरकुञ्ज