बेसीशहर, माघ १ गते । लमजुङको सुन्दरबजार नगरपालिकाबाट आज बिहान करीब ७७ लाख मूल्यको ५० तोला सुन चोरी भएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका वडा नंं ९ मा रहेको चण्डिका सुनचाँदी पसलको करीब ५० तोला सुन एक भारतीय नागरिकले चोरी गरी फरार भएका हुन् । विगत केही बर्षदेखि लमजुङको सुन्दरबजारमा सुन गाल्ने काम गर्दै आएका भारतको महाराष्ट्र घर भएका दीपक झाडगढले उक्त सुन चोरी गरेका पीडित चण्डिका सुनचाँदी पसलका प्रोपाइटर दिपेन्द्र सुवर्णकारले बताए ।
सुन चाेरी गरी फरार भए भनिएका भारतीय नागरिक दिपक झाडगाढ
सुवर्णकारका अनुसार हिजो सोमबार उनले आफूसंग रहेको सुन गाल्नका लागि ती भारतीयलाई दिएका थिए । ती भारतीयले सुन्दरबजार ६ मा रहेको उनको पसलमा लगेर सुन गालेर पनि ल्याएका सुवर्णकारलाई दिएका थिए । तर गालेको सुन राम्रो नभएको र पुन गाल्नुपर्ने बताए पछि सुवर्णकारले आज बिहान करीब ७ बजेतिर पुनः सुन गाल्न ती भारतीयलाई दिएकामा सुन गाल्दै गर्दा सुवर्णकारको आँखा छलेर उनी फरार भएका हुन् ।
प्रोपाइटर सुवर्णकारका अनुसार सुन गाल्नका लागि उनी आफै दीपकको पसलमा गएका थिए । उनकै अगाडि सुन गाल्ने काम भएको थियो । सुन गाल्ने क्रम चलिरहँदा उनी औषधी खान लागेको बेला ती भारतीय सुन चोरेर फरार भएका सुवर्णकारले बताए ।
उनले भने–“सुन गाल्न म पनि संगै गएको थिए । बिहान ८ बजेतिर उसले सुन गाल्नका लागि भट्टीमा हाल्यो । मेरो औषधी खाने बेला भएको थियो । खाली पेटमा खान नहुने भएकाले घरबाटै अण्डा लिएर गएको थिएँ । अण्डा खाइ औषधी हेर्दा त उ गायब भइसकेको रहेछ । भट्टीमा चाँदी मात्र भेटियो, सुन चोरेर फरार भएछ ।”
सुन लिएर ती भारतीय नागरिक फरार भएपछि उनले यसबारेमा प्रहरीलाई पनि सूचना दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपि निशान्त श्रीवास्तवले ५० तोला सुन चोरी भएको भन्ने रिपोर्ट कार्यालयमा आएको पुष्टि गरे । उनले भने–“हामीले सूचना पाएपछि निजको खोजतलास गरिरहेका छौं । उ जान सक्ने सम्भावित सबै ठाउँमा सूचना भइसकेको छ, छिटै पक्राउ गर्छाैं।”
मंगलबार सुनको बजार मूल्य प्रतितोला १ लाख ५५ हजार रहेको छ । जस अनुसार ५० तोला सुनको मूल्य ७७ लाख ५० हजार हुन आउँछ ।