बेसीशहर । केही दिन अघिसम्म खडेरीले खानेपानीको श्रोत सुक्दा वितरणमा समस्या आएकोमा अब बर्षा शुरु भएपछि बाढीले मुहानमा क्षति पु¥याएपछि बेसीशहरको खानेपानी वितरणमा पुन समस्या उत्पन्न भएको छ ।
मंगलबार र बुधवार परेको अबिरल बर्षाका कारण बेसीशहरमा ल्याइएको खानेपानीको मुहानमा क्षति भएपछि लमजुङको सदरमुकाम बेसीशहरमा खानोपनकिो हाहाकार भएको छ ।
बुधवारको बर्षाले भाचोकखोला खानेपानी आयोजनाको मुहान र इन्टेकमा क्षति पुगेपछि खानेपानी वितरणमा समस्या भएको बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । समितिका अध्यक्ष कृष्णकुमार प्रधानका अनुसार बुधवार रातीको बर्षाले भाचोक खोलामा आएको बाढीले खानेपानीको इन्टेक र पाइपलाइनमा क्षति पु¥याएपछि खानेपानी वितरणमा समस्या आएको हो ।
बुधवार रातीको बर्षाले भाचोक खोलामा आएको बाढीले खानेपानी मुहानका दुईवटा इन्टेकमा बालुवा माटो भरिएको छ । त्यस्तै मुहानबाट इन्टेकमा लगिएको पाइपसमेत बाढीले बगाएपछि बिहीबार दिनभर लगाएर नयाँ पाइप जडान गरि इन्टेक सफा गरिएको थियो ।
बाढीले डुंडखोला, लप्लेखोला खानेपानी मुहानमासमेत क्षति पु¥याएको छ । ती सबैतिर बिहीबार दिनभरी र शुक्रबार विहान मर्मत गरी अहिले ठूलोपँधेरामा रहेको ट्यांकीमा खानेपानी खसालिएको र शुक्रबार बेलुकाबाट खानेपानी वितरण गरिने समितिका अध्यक्ष कृष्ण कुमार प्रधानले बताए ।
खानेपानीका सबैश्रोतमा बाढीले क्षति गरेपछि लमजुङ सदरमुकाम बेसीशहरमा अहिले खानेपानीको चरम अभाव भएकोे छ । बजारमा खानेपानीको आपूर्ति बन्द भएपछि कतिपय उपभोक्ता प्रशोधित खानेपानी किनेर काम चलाइरहेका छन् । कतिपय उपभोक्ता पुराना पँधेरा र कुवामा जान थालेका छन् । अहिले बेसीशहरका सितलपाटी तीनधारे, गैरीधारा, मूलपानी र रानीकुवामा खानेपानी लिन जाने आउने उपभोक्ताहरुको लाइन लागेको छ ।
सदरकुमाम बेसीशहरमा बेसीशहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिल बेसीशहरको वडा नंं ७, ८, ९ र १० का झण्डै चार हजार उपभोक्तालाई खानेपानी वितरण गरेको छ । यी उपभोक्ताका लागि भाचोक खोला सहलगानी खानेपानी आयोजनासहित डुँडखोला, लप्लेखोला, महभीरखोला, पुमाखोला, फुर्केभीर, ढाडखोला र ठूलोपँधेरासमेतबाट खानेपानी ल्याइएको छ ।