वोलबम महोत्सव शुरु, बुद्धिजम र टुरिजमबाट नेपालको समृद्धि हुन्छः मन्त्री गुरूङ

खबरकुञ्ज

बेसीशहर, साउन १० । लमजुङको सुन्दरबजार नगरपालिका–६ बरेटारमा रहेको ऐतिहासिक शिव मन्दिरमा शिवपुराण वोलबम महोत्सव शुरु भएको छ । 

महोत्सवको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले शुक्रबार उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री गुरुङले विश्वले मानेको हिन्दू र बौद्ध दर्शन र संस्कृति नेपालको अमूल्य निधि भएको भन्दै यस्ता ऐतिहासिक एवं धार्मिक महत्वका मठ मन्दिरको संरक्षण सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए । 

मन्त्री गुरुङले नेपाललाई ब्यापक औद्योगिकीकरण गरी अन्य विकसित देशको दाँजोमा पु¥याउन तत्काल नसकिने अवस्था भएकाले देशका धर्म संस्कृति, परम्परालाई संरक्षण गरी यसलाई पर्यटन र आय आर्जनमा जोड्न सक्नुपर्नेमा जोड दिए ।


विश्वभर धेरै हिन्दू धर्मावलम्बी बस्ने भारत र आधाभन्दा बढी बौद्धधर्मावलम्बी भएको चीनका पर्यटकहरुलाई मात्र नेपालका पशुपतिनाथ, मुक्तिनाथ र बुद्ध जन्मस्थल लुम्बिनी जस्ता धार्मिक गन्तब्यहरुमा आकर्षित गराउन सके र यी सम्पदालाई पर्यटनसंग जोड्ने हो भने नेपालले समृद्धिको यात्रा गर्न सक्ने बताए ।

मन्त्री गुरुङले भने– मैले धेरै ठाउँमा भन्ने गरेको छु, हिन्दूजम, बुद्धिजम र टुरिजम सकेमात्रै पनि नेपालको समृद्धि कसैले रोक्न सक्दैन । तर राज्यले यसतर्फ ध्यान केन्द्रित गर्न सकेको छैन ।”

आइतबारदेखि साउन २१ गतेसम्म सञ्चालन हुने कार्यक्रममा प्रख्यात कथा वाचक आमा आश्रमका संरक्षक पण्डित नारायण न्यौपानले शिवमहापुराण कथा वाचन गरेका छन् । १३ दिनसम्म चल्ने शिव महापुराण कथाका साथमा वोलबम महोत्सव, संगीतमय भजन किर्तन, विभिन्न देवताहरुको लीलासहितको झाँकी देखाइने छ । कार्यक्रमको अन्तिम दिन सवा लाख बत्ति प्रज्वलन हुने आयोजक शिवजी गुठी संरक्षण संवद्र्धन समितिका अध्यक्ष आनन्दलाल श्रेष्ठले जानकारी दिए ।

धार्मिक, सामाजिक तथा पर्यटकीय महत्व बोकेको बरेटार शिवमन्दिर परिसरको पुनःसंरचना, शिव बुद्ध पार्क निर्माण, किरिया पुत्री स्थलको विकास तथा अक्षयकोष स्थापनाको उद्देश्यसहित शिव महापुराणसहित बोलबम कार्यक्रम आयोजना गरिएको आयोजक समितिका सचिव सुरेन्द्र पौडेलले जानकारी दिए ।

कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न समितिका अध्यक्ष आनन्दलाल श्रेष्ठको नेतृत्वमा १०० सदस्यीय मूल आयोजक समिति र ६ वटा उपसमितिहरूसमेत बनाइएको छ । 

कार्यक्रमको पहिलो दिन सुन्दरबजारमा भव्य कलश यात्रा निकालिएको थियो । कलश यात्रामा स्थानीय महिलाहरूको व्यापक सहभागिता थियो । शिव महापुराण अन्तर्गत हरेक बिहान ७ः३० बजे देखि ९ः०० बजेसम्म मण्डपको पूजासहित पाठपारायण, हवन, रुद्री, चण्डीपाठ तथा पितृ उद्धारसम्बन्धी धार्मिक अनुष्ठानहरू गरिनेछन् । बिहान १०ः३० बजेबाट राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतीमा भजन, किर्तन, कथावाचन, आरती तथा देव लीलाको झाँकी सहित शिव महापुराण कथा र साँझ ७ बजेदेखि ९ बजेसम्म विशेष भजन सन्ध्या कार्यक्रम सञ्चालन हुने बताइएको छ ।


प्रतिक्रिया