भोर्लेटार, असोज १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा शक्तिलाई ब्यवसायीक कृषिमा लाग्न अनुरोध गर्दै उत्पादन भएको कृषि उपजको बजारीकरणका लागि प्रदेश सरकारले जिम्मा लिने प्रतिबद्धता जनाएका छन् ।
लमजुङको मध्यनेपाल नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुक्रबार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले कृषि र पर्यटनको क्षेत्रबाटै प्रदेशको उन्नति सम्भव रहेकोले प्रदेश सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।
उनले प्रदेशको भूगोलसंगै संस्कृतिमा समेत बिबिधता रहेको उल्लेख गर्दै भूगोल र संस्कृतिमा अब्बल रहे पनि बसाइँ सराईका कारण प्रदेशका गाउँ वस्तीहरु खाली हुन थालेको प्रति चिन्ता ब्यक्त गरे । उनले प्रदेशका नागरिकहरुको आय आर्जन बढाई उनीहरुलाई गाउँमै गरिखाने बाटो बनाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको भन्दै कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदानको ब्यवस्था मिलाइएको बताए ।
हिजो एउटै मात्र गोठ देखाएर धेरैले अनुदान लिएर बेथितिको जग बसेको भन्दै उनले आफू नेतृत्वको सरकारले उत्पादनको आधारमा अनुदाने दिने परम्परा बसाएको भन्दै अनुदानको सही सदुपयोग हुने आशा ब्यक्त गरे ।
उनले भने–“तपाइँहरु श्रम गर्नुस्, हामी लगानी गरिदिन्छौं, तपाइँहरुले लगानी गर्न पर्दैन, तपाइँको परिश्रम पर्छ, उत्पादन भएका वस्तुको बजारीकरणको जिम्मा पनि हामी लिन्छौं ।”
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले प्रदेशको राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको स्मरण गर्दै पोखरासंगै यस आसपासका पर्यटकीय महत्वका क्षेत्र पनि उक्त घोषणाबाट लाभान्वित हुने बताए ।
अर्काे प्रसंगमा मुख्यमन्त्री पाण्डेले संघीयताका बिषयमा मुख्य राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनु पर्ने बताए । संविधानमा ब्यवस्था भए पनि संघ सरकारले प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन नचाहेको कारण हिजो संविधान जलाउनेहरु संविधान र संघीयताकै बिरुद्ध सलबलाउन थालेको उनको टिप्पणी थियो ।
मुख्यमन्त्री पाण्डेले पुराना पार्टी र नेताहरु रहेसम्म यो देशमा केही भएन र केही पनि हुँदैन भन्ने गलत भाष्य निर्माण गर्न लागिएको भन्दै आपत्ती जनाए । २०४८ सालपछि देशमा धेरै परिवर्तन आएको उदाहरण दिँदै उनले २०४८ अघि र अहिलेको अवस्थाको तुलना मात्रै गर्दा पनिै देशमा धेरै परिवर्तन र विकास भएको प्रमाणित हुने भएकाले यस्ता गलत भाष्यको विश्वास नगर्न आग्रह गरे ।
उनले प्रदेश सरकारलाई सुन्ने र देख्ने सरकार बनाउन आफू प्रयत्नशील रहेको बताए ।
फरक प्रसंगमा मुख्यमन्त्री पाण्डेले रास्वपाका सभापति रवि लामिछाने प्रति कटाक्ष गरे । सहकारी ठगीको मुद्दामा रवि लामिछानेलाई कारबाही गरिनुपर्नेमा जोड दिएका उनले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान गरी दोषी पाइएमा कारबाही गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले संघीय सरकारले प्रदेश सरकारलाई पर्यप्त बजेट नदिएकाले प्रदेशको विकासमा ठोस कार्यक्रम ल्याउन नसकिएको बताए । उनले प्रश्न गरे– ससंघ सरकारको एउटा मन्त्रालयको भन्दा पनि कम बजेट प्रदेशलाई दिएर प्रदेशले के काम गर्न सक्छ ?”
उनले अब कांग्रेस र एमालेको गठबन्धनमा संघ र प्रदेशमा सरकारहरु बनेकोले यसले देशमा राजनीतिक स्थिरता र बिकास दिने बताए । उनले लमजुङको बिकासका लागि आफू प्रतिबद्ध रहेको र सक्दो काम गर्ने प्रतिबद्धता जनाए ।
मध्यनेपाल नगरपालिकाका नगर प्रमुख रमेश कुमार पाण्डेको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले २०७७ फागुन २४ गते शिलन्यास भएको उक्त भवन ४ करोड ९८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको र भवनमा एक सभाहल सहित २२ वटा कोठा रहेको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, पार्वती तामाङ, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्ण कोइराला, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, नगरपालिकाका उपप्रमुख सीता गुरुङ, निवर्तमान राजकुमार श्रेष्ठ, नेकपा एमाले नगर कमिटीका अध्यक्ष सुमन श्रेष्ठ, माओवादी केन्द्रका उपेन्द्र अधिकारी, नगर प्रवक्ता रामचन्द्र भण्डारी, वडा नंं ५ का अध्यक्ष ओमबीर गुरुङ, मंगला माविका प्रधानाध्यापक विष्णुहरि बास्तोला लगायतका वक्ताहरुले भवन निर्माण पछि एकै छतमुनीबाट सेवाग्राहीले सेवा पाउनु खुशीको कुरा भएको बताए ।
खबरकुञ्ज