फेसबुकबाट गरिने अन्धो प्रेम र भयावह परिणाम झल्कने श्रीकृष्ण न्याैपानेकाे "फेसबुक लभ" खण्डकाव्य सार्वजनिक

बेसीशहर । सामाजिक सञ्जालकाे प्रयाेगले धेरै कुराकाे सजिलाे बनाएकाे छ । देश विदेशका सूचना छिटाे  छरिताे प्राप्त हुनेदेखि अाफन्त साथीसंगीहरूकाे सञ्चाे बिसञ्चाे, उनीहरूका क्रियाकलापहरू सहजै सामाजिक सञ्जालमार्फत थाह पाइन्छ । सामाजिक सञ्जालकाे समुचित प्रयाेगले मानिसहरूले अाम्दानीसमेत गर्न थालेका छन् । तर सामाजिक सञ्जालकाे दुरूपयाेग हुँदा कयाैंले दुःख समेत पाइरहेका छन् । यहाँसम्मकी कतिले धन सम्पती त कतिले जीवन नै त्याग गरेका पनि छन् ।

सामाजिक सञ्जालमा विश्वासमा गर्दा कतिकाे जीवन नै नर्क समान बनेकाे छ । भएभरकाे श्रीसम्पत्ती सकिएकाे छ । पछिल्लाे समय फेसबुकमा चिनजान गर्ने, माया प्रेम बस्ने र कतिपय अवस्थामा त्यही मायाप्रेमकाे जालेमा परेर कतिपयकाे जीवन नै लथालिङ्ग भएकाे पनि छ । यस्तै बिषयवस्तुमा अाधारित रहेर लमजुङका साहित्यकार श्रीकृष्ण न्याैपानेले फेसबुक लभ नामकाे कृति बजारमा सार्वजनिक गरेका छन् ।

पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष एवं लमजुङे साहित्यकार श्रीकृष्ण न्यौपानेको नवौँ कृतिका रूपमा फेसबुक-लभ खण्डकाव्य हालै प्रकाशित भएको हाे । २०८० कुशे औँसीको अवसरमा सार्वजनिक भएकाे कृतिमा रविना, धनपुर र जुलीलाई प्रमुख पात्रका रूपमा खडा गरेको प्रस्तुत खण्डकाव्यमा पहिले रविना र पछि जुलीको नक्कली प्रेममा असावधानीपूर्वक फसेर विदेशमा कठिन परिश्रमले आर्जन गरेको दुःखको कमाइ काव्यनायक धनपुरले  स्वाहा पारेको विषयलाई उद्घाटन गरी सामाजिक सञ्जाल फेसबुकका माध्यमबाट गरिने अन्धो तथा आलोकाँचो प्रेम र त्यसको भयावह परिणामबारे खण्डकाव्य मार्फत् कविले समाजलाई सतर्क पारेका छन् ।

झण्डै आधा शताब्दीदेखि नेपाली साहित्यको उत्थानमा  सक्रिय न्यौपानेले पहिलोपटक २०४८ सालमा छली सामाजिक काव्य प्रकाशित गरेको ३१ बर्षपछि २०७९ भदौ महिनामा  दोस्रो कृतिका रूपमा ऐतिहासिक काव्य भृकुटी प्रकाशित गरेका थिए । २०७९ भदौ कुशे औँसी देखि २०८० भदौ कुशे औँसीसम्म आउँदा पछिल्लो १ बर्षको अवधिमा  साहित्यकार न्यौपानेका भाउजू, आमा, राता सिपाही र फेसबुक लभ गरी ४ खण्डकाव्य, सयछन्द कविता सङ्ग्रह, शास्त्रीय गजलहरूको सङ्ग्रह श्रीकृष्ण गजल सङ्ग्रह र रातो बाघ महाकाव्य गरी ८ वटा कृतिहरू प्रकाशित भएका छन् भने छली सामाजिक काव्य २०४८ समेत गरी जम्मा ९ वटा कृति प्रकाशित भएका छन् ।

खण्डकाब्यमा दोलखा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी, साझा प्रकाशनका निवर्तमान महाप्रबन्धक एवं ऐतिहासिक छन्द कवि प्रह्लाद पोखरेलले भूमिका लखेका छन् । ३ सर्गमा विभाजित र झण्डै ३०० श्लोक शिखरिणी छन्दमा लेखिएको प्रस्तुत खण्डकाव्य फेसबुक लभ समसामयिक विषयवस्तुमा आधारित छ । 

बरिष्ठ छन्दवादी कवि प्रह्लाद पोखरेल खण्डकाव्यमा भूमिका लेख्दै प्रतिभा, व्युत्पत्ति र अभ्यासले खारिएका अथक अक्षरकर्मी न्यौपानेले लमजुङको धर्ती मात्र नभएर आफ्नो प्रतिभाको आलोकले समग्र नेपाली साहित्य जगत्लाई नै आलोकित पार्न थालेको बताएका छन् ।

साहित्यकार न्यौपानेबाट रचित विषालु धरती महाकाव्य, विपासना महाकाव्य लगायतका कृतिहरू प्रकाशाेन्मुख छन् ।

प्रतिक्रिया