ब्याउन नसकेर मरेकाे भैंसीकाे पेटबाट अचम्मकाे पाडाे निकालियाे

बिचौर । लमजुङको दूधपोखरी गाउँपालिका वडा नं। २ मा ब्याउन नसकेर मरेको भैंसीको पेटबाट २ वटा टाउको, ६ वटा खुट्टा र दुइवटा पुच्छर भएको पाडो निकालिएको छ । पाडो जन्माउन नसकेपछि मरेको भैंसीलाइ चिरफार गरी यस्तो अवस्थाको पाडो निकालिएको हो । 

सोमबार बिचौरको जलकेनी निवासी दवाडीको  भैसीलाइ ब्यथा लाग्यो । लामो समयसम्म पनि भैंसी ब्याउन सकेन । सामान्य तरिकाले भैंसी ब्याउन नसके पछी स्थानीयहरू जम्मा भए । भैंसी ब्याउन नसकेपछि पशु स्वास्थ्य प्राविधिकलाइ बोलाइयो । स्थानीयले खबर गरेपछि दूधपोखरी गाउँपालिकाको पशु शाखाका नायब पशु स्वास्थ्य प्राविधिक सन्दिप न्यौपाने त्यहाँ पुगे ।


न्यौपाने दवाडीको घर पुगेपछि भैंसीको अवस्था हेरे । भैंसी ब्याउन बल गर्दै थियो, थोरै थुतुनो मात्र निस्केको थियो । तर पाडो निस्कन सकिरहेको थिएन । पशु प्राविधिक न्यौपानेले सामान्य तरिकाले भैंसी ब्याउन नसक्ने देखिएपछि हात हालेरै भए पनि पाडो निकाल्ने कोशिस गरे तर सफल हुन सकेनन् । फेरि डोरी लगाएर पाडोलाइ तान्ने कोशिस गर्दासमेत पाडो निस्केन । पाडो जन्मन नसकेर मरिसकेको थियो । सोमबार बेलुकी ५ बजेतिर त्यहाँ पुगेका न्यौपानेले पाडो मरे पनि भैंसीलाइ बचाउन मध्यरातीसम्म पाडो निकाल्ने कोशिस गरे, तर सफलता हात नलागेपछि "मैले सकिन, तपाइँहरू अरू कसैलाइ बोलाउन चाहनुहुन्छ भने बोलाउनुस्" भनि घर फर्के । मध्यरात भइसकेकाले जसलाइ बोलाए पनि आउने अवस्था थिएन । गाउँमै भएका प्राविधिकले नसकेपछि पूर्णप्रसादको परिवारले पनि हार खाए । तै पनि भैंसी बचाउन कोशिस गरिरहे । भैंसी ब्याउन नसक्दा छटपटिरहेको थियो । अन्ततः मंगलबार बिहान करीब साढे ५ बजेतिर भैंसी समेत मर्यो ।


पशु स्वास्थ्य प्राविधिक न्यौपानेले भने–"ब्याउने अवस्थाको पशु मरे पछि गर्भ छुटाएर मात्र गाड्ने चलन छ । सोही अनुसार स्थानीयले मरेको भैंसीलाइ चिरफार गरी पेटबाट पाडो छुटाए । पाडो छुटाएर हेर्दा पाडोको २ वटा टाउको, ६ वटा खुट्टा र दुइवटा पुच्छर देखेपछि स्थानीय सबै आश्चर्यमा परे । त्यस्तो अवस्थाको पाडो भएका कारण भैंसी ब्याउ नसकेर मरेको रहेछ ।"

न्यौपानेले आफूले पशु स्वास्थ्य प्राविधिकको रूपमा काम गरेको ७ बर्षमा यस्तो केस अहिलेसम्म नदेखेको बताए । पशुहरूमा हाडनाता लागेमा यस्तो हुन सक्ने अवस्था भए पनि त्यहाँ पालिएको भैंसीमा त्यस्तो समेत नभएको आफूले पाएको उनले जानकारी दिए ।

प्रतिक्रिया