लमजुङ जिल्ला पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा, प्रतिबद्धतापत्रमा हस्ताक्षर

बेसीशहर । लमजुङ पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषित भएको छ । लमजुङका सबै बालबालिकाले पाउनुपर्ने खोपको मात्रा पूरा गरेका र खोप लिइरहेका बालबालिकालाइ पूर्णमात्रामा खोप दिने प्रतिबद्धतापछि बिहीबार औपचारिक कार्यक्रम गरी सिंगो जिल्लालाइ पूर्ण खोप सुश्चिितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य कार्यालय लमजुङले स्थानीय तहसंग सहकार्य गरी बालबालिकाले पाउनुपर्ने खोपको मात्राका सम्बन्धमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको जनाएको छ। यसका लागि शुरूमा स्थानीय तहका सबै वडा, त्यसपछि स्थानीय तहमा घोषणा गरिएको थियो । लमजुङका सबै ८ वटै स्थानीय तहलाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात जिल्लालाइ पनि पूर्ण खोप सुनिश्चितता दीगोपना घोषणा गरिएको हो ।

घोषणा सभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले मानव जीवनमा स्वास्थ्यको ठूलो महत्व रहेकाले स्वास्थ्य रहन खोप आवश्यक रहेको चर्चा गरे । उनले कुनैपनि बालबालिका खोप बाट बञ्चित हुन नहुने भन्दै महामारीजन्य रोगबाट बच्न र बचाउन खोपको आवश्यक रहेको बताए ।  

घोषणा सँगै कार्यक्रमका सहभागीहरुले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारी, सुन्दरवजार नगरपालिका मेयर कृष्णप्रसाद कोइराला, क्व्होलासोंथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङलगायतले पूर्णखोप सुनिश्चिततासँगै यसको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताए। 

स्वास्थ्यकर्मीको संलग्नतामा प्रत्येक वडामा सबै बालबालिकाले निर्धारित समयमा खोप पाए नपाएको पहिचान गरी वडा अनुसारको पूर्ण खोप विवरण संकलन गरिएको स्वास्थ्य कार्यालय लमजुङका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले जानकारी दिए । उनका अनुसार लमजुङमा १५ महिना मुनिका दुइर्  हजार ३ सय ४४ बालबालिकाले खोप लिइरहेका  र १६ देखि ५९ महिना सम्मका ५ हजार ८ सय ३४ बालबालिकाले पूर्ण खोप पाइसकेका छन् । 

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बुनादेवी रिमाल, राइनास नगरपालिकाका मेयर खड्कबहादुर गुरुङ, बेंसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङ, मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङ, मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, दोर्दी गाउँपालिकाका उपाध्यक्ष क्षेत्रबहादुर गुरुङ, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा संयोजक, महिला स्वास्थ्य स्वयंसेविकालगायतको उपस्थिति थियो । 

चालु आर्थिक वर्षमा लमजुङ, गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको पहिलो जिल्ला भएको स्वास्थ्य कार्यालय लमजुङका कार्यालय प्रमुख प्रवीणकुमार खनालले बताए ।

प्रतिक्रिया