लमजुङ अस्पतालका मे.सु.माथि युवा संघकाे संगीन आरोप, छानबीन गरी कारबाही गर्न माग

बेसीशहर । राष्ट्रिय युवा संघ लमजुङले जिल्ला अस्पताल लमजुङमा चरम बेतिथि भएको भन्दै अस्पतालका मे.सु.माथि संगीन आरोप लगाएकाे छ । 

युवा संघले प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाइ भेटेर एक ध्यानाकर्षण पत्र दिँदै त्यस्ताे आरोपसहित स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हाे । 


ध्यानाकर्षणपत्रमा अस्पतालले सरकारले निःशुल्क दिने भनिएका ९८ प्रकारका औषधीहरुमध्ये एमलोड, इण्डोमेथासिन,मेटफर्मिन, स्लाइन जस्ता औषधीहरु विक्री वितरण गर्ने गरिएको आरोप लगाइएकाे छ ।

ध्यानाकर्षण पत्रमा युवासंघले  केही समय अघि अस्पतालमा औषधी खरिदको नाममा बोलपत्र आह्वान गरि अहिलेको सप्लायर्ससंग साँठगाँठ थरी आर्थिक हिनामिना गरिएको गम्भीर आरोप समेत लगाएको छ । त्यस्तै आमाघर बनाउने ठेक्कासमेत अस्प्ताल प्रशासनको लापार्वाहीले रद्द गरिएको उल्लेख गर्दै अस्पतालको ओपिडीमा बिरामीले लामो समयसम्म कुर्नुपरेको भन्दै समस्या समाधानका लागि अस्पतालमा थप काउण्टरको ब्यवस्था मिलाउन प्रशासनको ध्यानाकर्षण गरिएको छ ।

युवा संघले उक्त पत्रमा अस्पतालमा मेडिकल सुपरेटेण्डेण्टबाट कर्मचारीमाथि चरम दुर्ब्यवहार हुने गरेको भन्दै यस्तो क्रियाकलापमा संलग्नमाथि छानवीन गरी कारबाही गर्न माग गरेको छ ।

युवा संघ नेपाल लमजुङका उपाध्यक्ष प्रदिप घिमिरेद्वारा हस्ताक्षरित उक्त ध्यानाकर्षणपत्र प्रमुख जिल्ला अधिकारी रामृकृष्ण अधिकारीलाई बुझाइएको हो ।

प्रतिक्रिया