बेसीशहर, पुस २२ गते । लमजुङको सुन्दरबजारमा रहेको नमूना सामुदायिक अस्पतालले दुई बर्षको अबधिमा ३० हजार बढी बिरामीलाई सेवा दिएकोमा आधा भन्दा बढीलाई निःशुल्क उपचार दिएको छ ।
मानव विकास तथा सामुदायिक सेवाले उक्त अस्पतालको ब्यवस्थापन लिई अस्पताल सञ्चालन भएको दुई बर्षको अबधिमा ३० हजार ४ सय १७ जनालाई अस्पतालले सेवा दिएकामा १५ हजार ९०४ जनाले निःशुल्क सेवा पाएका अस्पतालको निर्देशक हेमन्त श्रेष्ठले जानकारी दिए । यसमा महिलाको संख्या ९ हजार ३०२ रहेको उनले बताए ।
अस्पतालबाट दुई बर्षको अबधिमा २ हजार २५८ जनाले अन्तरंग र ५ हजार ४९४ जनाले आकस्मि सेवा र ६ हजार ९०१ जनाले प्रयोगशाला सेवा पाएका छन् ।
दुई बर्षको अबधिमा अस्पतालबाट १५ हजार ९०४ जनाले निःशुल्क सेवा पाएका जानकारी दिए ।
दुई बर्षको अवधिमा अस्पतालमा ७ हजार १५७ जनाले एक्सरे सेवा, ४ हजार २४२ जनाले भिडियो एक्सरे सेवा, ४२ जनाले सुरक्षित प्रसुती सेवा, ६ हजार १८१ जनाले दन्त सेवा ३७ जनाले खोप सेवा, १ हजार ३४३ जनाले मनोबिमर्श सेवा र ९ सय १९ जनाले फिजियो थेरापी सेवा पाएका छन् ।
अस्पतालले दुई बर्षको अवधिमा २ हजार ७ सय ९० जनालाई शल्यक्रिया सेवा दिएकोमा २० जनाको जटील शल्यक्रिया भएको अस्पतालका निर्देशक श्रेष्ठले जानकारी दिए ।
दुई बर्षको अवधिमा अस्पतालले १० वटा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ६ हजार ८२० जनाको निःशुल्क उपचार गरिएको बताइएको छ । अस्पतालले आमा, बुबा, युवा समूहमा गरी थप १८ वटा निःशुल्क शिविर सञ्चालन गरेकोमा झण्डै २ हजार जनसंख्याले यसबाट लाभ लिएका छन् । त्यस्तै १५ वटा बिद्यालय स्वास्थ्य कार्यक्रम आयोजना गरी ४ हजार ६४७ जना विद्यार्थीलाई सेवा दिइएको जनाएको छ ।
अस्पतालले आगामी दिनमा अधिकतम बिरामीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, अस्पताललाई आत्मनिर्भर बनाउने, गण्डकी प्रदेश सरकारबाट सि ग्रेड ल्याब र २५ शैयाको स्वीकृति लिने, आमाको पेट र पाठेघर काटेर बच्चा जन्माउने शल्यक्रिया, स्वास्थ्य बीमा बोर्डबाट स्वास्थ्य बीमाको स्वीकृति लिने, सामुदायिक स्वास्थ्य कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर र विद्यालय स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायतका योजनाहरु तय गरेको छ ।
त्यस्तै आगामी दिनमा बालरोग, हाडजोर्नीको बिशेषज्ञ सेवा पनि विस्तार गर्ने योजनामा अस्पतालले काम गरिरहेको छ । अस्पतालमा इण्डोस्कोपी मेसिन, अपरेशन थिएटरका लागि आवश्यक सामग्रीहरु र सि आर्म मेसिन लगायत थप गर्ने योजना बनाइएको श्रेष्ठले जानकारी दिए ।